स्वास्थ्य मन्त्री प्रदिप पौडेलको अपमानजनक अभिव्यक्ति: डाक्टरहरू ‘रॉयल्टी’ मा बेचिने वस्तु होइनन्!

काठमाडौं– नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलले हालै दिएको ‘डाक्टर लिने देशसँग रॉयल्टी लिने’ भन्ने अभिव्यक्ति न केवल गैरजिम्मेवार छ, यो राष्ट्रिय स्वाभिमान, पेशागत गरिमा र देशकै स्वास्थ्य सेवाको गम्भीर अपमान रहेको चिकित्सकहरूले जनाएका छन्।
नेपाल चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघ नेपाल ले विज्ञप्ति जारी गरेर स्वास्थ्य मन्त्री पौडेलको अभिव्यक्ति प्रति गम्भीर आपत्ति जनाउँदै, यो भनाइले डाक्टरलाई पैसामा मोलतोल हुने वस्तु बनाएको बताएको छ। विज्ञप्तिमा स्पष्ट रूपमा भनिएको छ, चिकित्सकहरू बेचिने वस्तु होइनन, राष्ट्र सेवक हुन्।
नेपालको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त अवस्थामा रहेको, ग्रामीण क्षेत्रमा डाक्टरको चरम अभाव, अस्पतालहरू मा औषधि, उपकरण र जनशक्ति नहुनु र मन्त्रालयको दीर्घ अकर्मण्यताले डाक्टरहरू विदेशिन बाध्य बनिरहेको अवस्था बीच, स्वास्थ्य मन्त्री पौडेलको यस्तो भाषाले थप अपमान मात्रै गरेको उनीहरूको भनाइ छ।
‘विदेशिनु सपना होइन, बाध्यता हो’
प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘डाक्टरहरू देश छाड्न चाहँदैनन्, तर पेशागत असुरक्षा, अपमानजनक व्यवहार र आर्थिक असमानताले उनीहरूलाई मुलुक छाड्न बाध्य बनाएको हो। मन्त्रीज्यूको ‘रॉयल्टी’ अभिव्यक्तिले डाक्टरहरूलाई किन बेच गरिने सामान झैं हेर्ने मानसिकता झल्काउँछ र मन्त्रालयलाई बिचौलिया बनाउने खतरनाक संकेत दिन्छ।’
स्वास्थ्य मन्त्रालय आफै दोषी छ
मन्त्रालयको नीतिगत विफलता र निष्क्रियताले नै यो संकट पैदा भएको दाबी गरिएको छ। ‘डाक्टरलाई देशमै रोक्नको सट्टा, विदेशिने बेला तिनको मूल्य कति उठाउने भनेर सोच्ने मानसिकता दु:खद छ,’ चिकित्सकहरूले उल्लेख गरेका छन ।
राज्य गम्भीर बनोस्, सम्मान जनक व्यवहार गरियोस्
सरकार सँग डाक्टरहरूलाई ‘आयात-निर्यातको वस्तु’को रूपमा नभइ, राष्ट्र सेवकका रूपमा व्यवहार गर्न र देशमै बस्न योग्य वातावरण सिर्जना गर्न जोडदार माग चिकित्सकहरूले गरेको छ।
डाक्टरहरू प्रति अपमान जनक टिप्पणी गर्ने स्वास्थ्य मन्त्री आफै स्वास्थ्य संकटको मुख्य कारण बन्ने खतरा छ भन्ने चेतावनी समेत दिइएको छ।
प्रतिक्रिया दिनुहोस