राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुँदै, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौँ – राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले पाँचौं राष्ट्रिय महाधिवेशन यही जेष्ठ १७ र १८ गते काठमाडौँमा गर्ने भएको छ।
महासंघको केन्द्रीय समितिद्वारा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार महाधिवेशनको समुद्घाटन प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन ।
वि.सं. २०६२ मा स्थापना भएको स्वास्थ्यकर्मी संगठन २०७८ सालमा महासंघमा रूपान्तरण भएको हो। हाल सम्म यस महासंघमा स्वास्थ्य क्षेत्रका आठ वटा विषयगत घटकहरू आवद्ध छन्, जसमा सामान्य तालिम प्राप्त स्वास्थ्यकर्मी देखि विशेषज्ञ सम्मको प्रतिनिधित्व छ।
महासंघले स्थापना कालदेखि नै स्वास्थ्यकर्मीहरू को हक, हित, सेवा, सुविधा, पारिश्रमिक, भत्ता, न्याय, मर्यादा र सम्मानका लागि निरन्तर संघर्ष गर्दै आएको जनाएको छ। साथै, स्वास्थ्य सेवा सुधार, जनशक्ति उत्पादन, स्वास्थ्य सम्बन्धी नीति तथा कानुन निर्माण, पूर्वाधार विकास लगायतका विषयमा सक्रिय पैरवी गर्दै आएको उल्लेख गरिएको छ।
२०७८ सालको चौंथो महाधिवेशन पछि महासंघले ८ प्रदेश, ७१ जिल्ला, ५ विशेष जिल्ला, ८ विषय गत घटक र २८७ स्थानीय कमिटीहरू गठन गरी देशभर ४०० भन्दा बढी संरचनाहरू विस्तार गरि सकेको छ।
महाधिवेशनमा देश भरबाट विधान अनुसार चयन भएका ५०० भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने छन्। दुई दिन सम्म खुला र बन्द सत्रमा सञ्चालन हुने उक्त महाधिवेशनले विधान संशोधन सँगै ९ सदस्यीय पदाधिकारी सहित ९९ सदस्यीय नयाँ केन्द्रिय समिति निर्वाचित गर्नेछ।
महाधिवेशन सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी तयारी तीव्र पारिएको अध्यक्ष डा. झलक गौतमले बताए। साथै, उनले महाधिवेशनलाई सफल बनाउन सबै पक्षको सहयोगको लागि अपिल समेत गरे ।
प्रतिक्रिया दिनुहोस