अनुसन्धान

लामो समय सम्म बाँच्न के खाने? हार्भर्डको ३० वर्ष लामो अध्ययनले दियो उत्तर


हाम्रो हरेक दिनको थाल, फलफूल, अन्न, तेल मसलाले मात्र होइन, दीर्घायुको आधार पनि बन्न सक्छ। तपाईंले दैनिक रूपमा खानेकुराले तपाईंको स्वास्थ्यमा केवल २४ घण्टा सम्म मात्र असर पार्दैन, यो असर दीर्घकालीन हुन्छ। हरेक दिनको खानपानले तपाईंको शरीरमा रोग प्रतिरोधक क्षमता बनाउने वा कमजोर बनाउने काम गर्छ।

हार्भर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको ३० वर्ष लामो अनुसन्धानले देखाएको छ कि यदि तपाईं आफ्नो दैनिक भोजनमा प्रशस्त तरकारी, साबुत अन्न र स्वास्थ्यवर्द्धक बोसो (हेल्दी फ्याट्स) समावेश गर्नुहुन्छ भने दीर्घकाल सम्म रोगबाट बच्न सकिन्छ।

यो अध्ययन ‘नेचर मेडिसिन’ नामक जर्नलमा प्रकाशित गरिएको हो। अनुसन्धानमा १०५०१५ मानिस (७००९१ महिला र ३४९२४ पुरुष) को खानपान र जीवन शैलीको विश्लेषण गरिएको थियो।

नतिजाले देखाएको छ कि सन्तुलित र पोषणयुक्त भोजन गर्नेहरू ७० वर्षपछि पनि गम्भीर रोग विनै मानसिक र शारीरिक रूपमा तन्दुरुस्त रहन्छन्।

सबैभन्दा लाभदायक डाइट कुन?

अध्ययनमा आठ प्रकारका स्वास्थ्यवर्द्धक भोजन शैली (डाइट प्याटर्न) को विश्लेषण गरिएको थियो। तीमध्ये ‘अल्टरनेटिभ हेल्दी इटिङ इन्डेक्स’ (एएचइआई) सबै भन्दा प्रभावकारी ठहरियो। यो डाइट अपनाउने व्यक्तिहरू ७० वर्ष सम्म गम्भीर रोग बिनै पुग्ने सम्भावना ८६% बढी रहेको पाइयो।

एएचइआई डाइट भनेको के हो?

एएचइआई डाइटमा ताजा फलफूल र तरकारी, ब्राउन राइस, ओट्स, क्विनोआ, पपकोर्न, साग सब्जी, गेडागुडी, अवोकाडो, माछा, अण्डा, ओलिभ आयल जस्ता हेल्दी फ्याट्स समावेश छन्।

यो डाइटमा प्रोसेस गरिएको मासु, चिनी युक्त पेय पदार्थ र बढी नुन प्रयोग गरिने खानेकुराबाट टाढा रहन सल्लाह दिइन्छ।

अनुसन्धानको मुख्य निष्कर्ष

अनुसन्धानकर्ताहरूले पत्ता लगाए अनुसार जसको खानपान बढी प्राकृतिक र सन्तुलित थियो, उनीहरूमा जीवन भर गम्भीर रोग लाग्ने सम्भावना निकै कम थियो।

उल्टो, जंक फुड, प्रोसेस्ड मासु, चिनी र नुनयुक्त पदार्थको अत्यधिक सेवन गर्नेहरूमा मधुमेह, मुटुरोग र मानसिक रोगको जोखिम बढी देखियो।

यी डाइट पनि उपयोगी

एएचइआई बाहेक मेडिटेरेनियन, ड्यास (डिएएसएच) र वनस्पति आधारित (प्लान्ट बेस्ड) डाइट पनि दीर्घायुका लागि लाभदायक मानिएको छ।

यदि तपाईं स्वस्थ र लामो जीवन जिउन चाहनुहुन्छ भने यस्ता डाइट योजना अपनाउनु फाइदाजनक हुनेछ।

हार्भर्ड विश्वविद्यालयका प्राध्यापक डा. फ्र्याङ्क हूका अनुसार, ‘यो अनुसन्धानले देखाउँछ कि सन्तुलित डाइटले न केवल रोगबाट जोगाउँछ, तर वृद्ध अवस्थामा पनि स्वतन्त्र र सक्रिय जीवन बिताउन सहयोग गर्छ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!