नयाँ पुस्ता, जेनजी किन भ्रष्टाचार र हिंसा विरुद्ध बढी सक्रिय छन् ? न्यूरोसाइन्स बाट जान्ने कि ?


सुरु गरौं हाम्रो मस्तिष्क कसरी सिक्छ, निर्णय गर्छ र अनुकूल हुन्छ बाट । मानव मस्तिष्क निरन्तर सिकिरहेको हुन्छ । केवल तथ्य मात्र होइन, तर भावनालाई कसरी नियन्त्रण गर्ने, निर्णय गर्ने र व्यवहार अनुकूल गर्ने तरिका सम्म।

यस क्षमताको मूलमा रहेको छ सिन्याप्टिक प्लास्टिसिटी अर्थात मस्तिष्कको त्यो अ‌द्भुत क्षमता जसले अनुभव अनुसार न्यूरोनहरू बीचको जडान बलियो वा कमजोर बनाउँछ।

फ्रन्टल कोर्टेक्स, विशेष गरी प्रीफ्रन्टल क्षेत्र, मस्तिष्कको ‘कमाण्ड सेन्टर’ जस्तै काम गर्छ। यसले हामीलाई योजना बनाउन, ध्यान केन्द्रित गर्न र निर्णय लिन सहयोग पुऱ्याउँछ। तर यसले एक्लै काम गर्दैन। यो निरन्तर लिम्बिक सिस्टम सँग संवाद गर्छ, जसले भावनाहरू, स्मृति र प्रेरणालाई नियन्त्रण गर्छ। हाल सालैका अध्ययनले देखाएका छ कि यी न्यूरोनहरू बीचको जडानहरू अनुभवद्वारा आकार लिन्छन्।

उदाहरणका लागि

एमिग्डाला, मस्तिष्कको भावनात्मक चेतावनी प्रणाली, फ्रन्टल कोर्टेक्स सँग मिलेर डर र रिसलाई नियन्त्रण गर्न सहयोग पुऱ्याउँछ। जब हामी भावनालाई नियन्त्रण गर्न सिक्छौं, तब यी न्यूरल जडानहरू बलियो र परिष्कृत हुन्छन्।

हिपोक्याम्पस, हाम्रो स्मृतिको केन्द्र, फ्रन्टल कोर्टेक्स सँग मिलेर विगतका घटनाहरू सम्झन र परिस्थिति जन्य निर्णय लिन सहयोग गर्छ।

न्यूक्लियस अक्यूम्बेन्स, पुरस्कार र प्रेरणा सँग जोडिएको क्षेत्र, हामीलाई परिणाम बाट सिक्न सहयोग गर्छ। जब हामी लक्ष्य प्राप्त गर्छौं वा सुख अनुभव गर्छौं, मस्तिष्क आफैंलाई फेरि वाइरिङ्ग (जडान) गर्छ, ताकि समान व्यवहार भविष्यमा दोहोरिन प्रेरित होस्।

यो प्लास्टिसिटी, डोपामाइन र सेरोटोनिन जस्ता रासायनिक पदार्थहरूले पनि प्रभावित गर्छन्, जसले हाम्रो सिक्ने क्षमता, आफू अनुकुल को र भावनाको नियन्त्रणलाई परिष्कृत बनाउँछ।

किशोरावस्थामा यी रासायनिक पदार्थहरूले मस्तिष्क नेटवर्कहरू ठूलो रूपमा निर्माण गर्न मद्दत गर्छन्, जसले युवा वर्गहरूमा तीव्र भावनात्मक प्रतिक्रिया, जोखिमपूर्ण निर्णय र सामाजिक चेतना देखाउने गर्दछ।

यी मस्तिष्क प्रक्रियाहरू बुझ्नु केवल शैक्षिक अभ्यास मात्र काफी छैनन् र होइन।माइन्डफुलनेस, कग्निटिभ बिहेभियरल थेरापी र लक्षित मस्तिष्क उत्तेजनाले यी नेटवर्कहरू बलियो बनाउन मद्दत पुऱ्याउँछन्, जसले मानिसलाई तनाव व्यवस्थापन, स्मृति सुधार र निर्णय क्षमतामा सुधार गर्न सक्षम बनाउने गरिरहेको छ ।

आजको युवा पुस्ता 

आजको युवा पुस्ता, जेन जेड(जी)  (सन् १९९७-२०१२ बीच जन्मेका) सामाजिक न्याय, पारदर्शिता र इमान्दार शासनका लागि आवाज उठाउन हिचकिचाउँदैन।

सामाजिक सञ्जाल र अनलाइन सूचना स्रोतहरूको हुने पहुँचले उनीहरूलाई आफ्नै समुदाय र समाज बारे धेरै सजिलो र छिटो जानकारी दिन्छ। तर यो सामाजिक राजनीतिक परिवर्तनको मात्र कुरा होइन, मस्तिष्कको संरचनात्मक र जैविक तत्त्वहरूले पनि यसमा ठूलो भूमिका खेल्छ।

मस्तिष्क विकासको आधारः सिक्ने क्षमता र प्लास्टिसिटी 

माथि भने जस्तो सिन्याप्टिक प्लास्टिसिटी भनेको मस्तिष्कका न्युरोनहरू बीचका सम्बन्ध समय सँग बलियो वा कमजोर हुने क्षमता हो, जुन सिकाइ, स्मरण र अनुकूलमा केंद्रीय भूमिका खेल्छ।

बाल्यावस्था र किशोरावस्था मा यो शक्ति अति उच्च हुन्छ। यसै समयमा मस्तिष्क नयाँ अनुभवहरू, सामाजिक सम्बन्ध र चुनौतीहरूका लागि विशेष रूपमा संवेदनशील हुन्छ।

तल उल्लेख गरिएको अनुसन्धानहरूले पनि पुष्टि गर्छन् कि किशोरावस्था /युवा अवस्थाको समयमा हर्मोनहरूको उच्च उत्पादन, न्यूरोट्रफिक फ्याक्टर (जस्तै बिडीएनएफ) र मस्तिष्कको संरचनागत रूपान्तरणले प्लास्टिसिटी र व्यवहार परिवर्तनलाई धेरै नै मद्दत गर्छ ।

जस्तै सन २०२५ मा प्रकाशित ‘रिको गोंजालेज को अनुसंधान’ अनुसार किशोर अवस्थामा व्यायामले बिडीएनएफ को स्तर बढाउँछ, जसले न्यूरनहरूको जडान मा महत्त्वपूर्ण (सिक्ने र स्मरण) सुधार गर्ने सम्भावना देखाउँछ। यस्तै प्रकारका धेरै अरु उदाहरण छन् ।

जेनजी र सामाजिक सक्रियताः कसरी प्लास्टिसिटीले काम गर्छ ? 

युवा मस्तिष्क अझै परिवर्तनशील छ नयाँ सूचनालाई ग्रहण गर्ने र सामाजिक वातावरणमा प्रतिक्रिया जनाउने तात्कालिक क्षमता उच्च हुन्छ। अथवा प्लास्टिसिटी बढाउने काम गर्छ।

सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूले सूचना सजिलै पुऱ्याउँछन् र समुदायगत चेतना जगाउँछन्। चेतनात्मक उत्तेजनाहरू ले (कथाहरू, अनुभव, अन्यायका घटना) युवा मस्तिष्कमा तीव्र प्रतिक्रिया उत्पन्न गर्छन् ।

जस्तो कि सामाजमा जब अन्याय देखिन्छ या उनीहरू स्वयं अन्यायमा पर्छन्, युवा पुस्तामा भावनात्मक प्रतिक्रियाको आधारमा प्रतिरोध र विरोध प्रदर्शनको संभावना बढ्छ । जसमा उनीहरू सक्रिय (मार्च / परेड, विरोध) र कहिले काहीँ आक्रामक शैलीमा बोलचाल र व्यवहार गर्छन्।

जस्तो कि सामाजिक सञ्जालमा लेखिएका र देखिएका सामाजिक विषयका सामग्रीहरूले जेन जेड  मा सचेतना र सामाजिक न्याय सम्बन्धी व्यवहार र प्रतिक्रिया उत्पन्न गर्छ।

त्यसै गरि अर्को अध्ययनले के देखाएको छ भने जेनजी  र मिलेनियलहरू ले मौसम परिवर्तन र वातावरण संरक्षण सम्बन्धी सामाजिक सञ्जाल सामग्रीहरू सँग बढी अन्तरक्रिया गर्छन् र भावनात्मक प्रतिक्रिया देखाउँछन् ।

मानसिक स्वास्थ्य संकट

युवाहरूमा चिन्ता र निराशा बढ्‌दैछ। सामाजिक तनाव (पढाइ, सामाजिक सञ्जाल, विश्वव्यापी घटना) ले कोर्टिसोल हर्मोनलाई असन्तुलित बनाउँछ र दिमागी सर्किटलाई नकारात्मक रूपमा परिवर्तन गर्छ।

सामाजिक सञ्जाल र डोपामाइन: सोशल मिडियाका ‘लाइक’ र नोटिफिकेसनहरूले किशोर दिमागको इनाम प्रणाली (रिवार्ड सिस्टम) लाई कमजोर बनाउँछ, तत्काल आनन्दको लत लगाउँछ र ध्यान केन्द्रित गर्ने क्षमतालाई असर गर्छ।

निद्राको समस्याः गहिरो निद्रामा ग्रोथ हर्मोन र मेलाटोनिन निस्किन्छ जुन दिमाग विकासको लागि जरुरी छ। तर मोबाइल, बिहान उठ्ने/सुत्ने समयको अनियमितताले यसलाई बिगार्छ, जसले सिकाइ र दिमागी विकासलाई असर गर्छ।

यौवनको समयमा परिवर्तनः अहिले धेरै बच्चाहरूमा चाडै यौवन आइरहेको छ (मोटोपन, खानपानको कारण), यसले गर्दा शक्तिशाली यौन हर्मोनहरू दिमागमा चाडै प्रवेश गर्छन्, जुन दिमाग त्यतिको तयार नभएको हुन सक्छ, र भावनात्मक अस्थिरता बढाउँछ।

जेन अल्फा किन अधिक चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्न सक्छन्?

‘चुनौतीपूर्ण’ भन्नु स्वभावतः उनीहरू हुर्किएको अभूतपूर्व वातावरणको कारणले हो। यो वातावरणले उनीहरूको विकास र कल्याणको लागि महत्त्वपूर्ण चुनौतीहरू सिर्जना गर्न सक्छ। जुन जेन जेड भन्दा एक पाइला बढि र अगाडि हुन सक्छ ।

निचोडमा भन्नु पर्दा 

मस्तिष्कको सिक्ने क्षमता र प्लास्टिसिटीले जेनजी लाई छिटो सूचना स्वीकार्न र प्रतिक्रिया जनाउन सक्षम बनाउँछ। अनलाइन सूचना र सामाजिक सञ्जालले राजनीतिक गल्तिहरु जस्तै छाडापन र आराजकताको सामना गर्ने एक नयाँ बाटो खोल्छ ।

जेनजी को सामाजिक सक्रियता र भ्रष्टाचार विरुद्धको आक्रामकता केवल ‘मनमा क्रोध’ वा ‘सामाजिक दबाव’ मात्र होइन, यो त मुख्य रूपमा न्यूरोलोजिकल र सामाजिक तत्वहरूको संयुक्त प्रभाव हो। त्यसैले हामी भन्न सक्छौंः ‘नयाँ पुस्ता क्रान्तिको पर्याय हुन सक्छ, किनकि उनीहरूको मस्तिष्क परिवर्तन र सुधारका लागि खुला छ।

यो चित्रले विभिन्न पुस्तामा मस्तिष्कको सिक्ने क्षमता (सिन्याप्टिक प्लास्टिसिटी) लाई ग्राफले देखाउँछ कि बाल्यावस्था र किशोरावस्थामा (जेनजी) मस्तिष्कको सिन्याप्टिक प्लास्टिसिटी उच्च हुन्छ, जसले नयाँ कुरा छिट्टै सिक्न र सामाजिक चेतना विस्तार गर्न मद्दत गर्छ। यो ग्राफले देखाउँछ कि युवा/प्रौढ अवस्थामा मध्यम, र बुजुर्ग अवस्थामा कम हुन्छ। (डा. सुनिल ढुंगेल मेडिकल यूनिवर्सिटी अफ अमेरिका मा  न्यूरोसाइन्स का प्राध्यापक हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!