शैलजा आचार्य हृदय केन्द्रलाई पूर्वाञ्चलको उत्कृष्ट मुटु रोग केन्द्र बनाऔं


नेपालमा हरेक दिन कैयौं मानिसले समयमै उपचार नपाएर हृदयघातका कारण ज्यान गुमाइरहेका छन्। कसैका बाबा बिहानै छाती समातेर ढल्छन्, कसैकी आमा मुटु दुखेको गुनासो गर्दै अस्पताल पुग्न नपाउँदै सधैंका लागि बिदा हुन्छिन्। यस्तो पीडा कुनै एउटै परिवारको होइन, यो हाम्रो समाजकै सामूहिक वेदना हो।

कोशी प्रदेशको शैलजा आचार्य हृदय रोग केन्द्र अहिलेको अवस्थामा सरकारी क्षेत्रको एक मात्र विशेष हृदय अस्पताल हो, जहाँ सर्वसाधारणले सुलभ दरमा सेवा पाउने आशा गरिएको थियो। तर, अपेक्षित सेवा र प्रभावकारिता अझै टाढा छ।

नेपालमा हृदय रोगको अवस्था भयावह बन्दै गएको छ। सन् २०१९ मा मात्र, कुल मृत्युको २४ प्रतिशत हिस्सा नसर्ने रोग, जसमा मुटु रोग प्रमुख हो, ले लिएको थियो। यो समस्या अब उमेरले छुट्याउने विषय पनि रहेन। ३०–४० वर्षका युवाहरू, जो परिवारका आधारस्तम्भ हुन्, राष्ट्रका निर्माता हुन् , समेत अकस्मात मुटुका कारण ढलिरहेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्टेप्स २०१९ सर्वेक्षण अनुसार नेपालका युवा माझ नै उच्च रक्तचाप, धूमपान, मोटोपन, अस्वस्थ खानपान जस्ता जोखिमयुक्त कारकहरू व्यापक छन्।

अझ चिन्ताजनक कुरा त के छ भने, नेपालमा स्वास्थ्य खर्चको ५१.२६% बोझ जनताले आफ्नै काँधमा बोक्नु परेको छ। र यस निजी खर्चको ठूलो हिस्सा अर्थात् आधाभन्दा बढी नसर्ने रोगहरूमा जान्छ।

यी तथ्यांकहरू केवल आँकडामा सीमित छैनन । यी भविष्यको संकटका चेतावनी हुन्। तर हामी त्यो चेतावनी प्रायः त्यति खेर मात्रै गम्भीरतापूर्वक लिन्छौं, जब आफ्नै घरको कोही मुटुको व्यथा लिएर बाटोमै लड्छ, अस्पताल नपुगी संसार छाड्छ।

अब ढिलो गर्नु हुँदैन ।शैलजा आचार्य हृदय केन्द्रलाई पूर्वाञ्चलकै ‘सेन्टर फर एक्सलेन्स’ बनाउनु जरुरी छ।

यदि यो केन्द्रमा आवश्यक जनशक्ति, प्रविधि, तालिम र स्रोत साधनको समुचित लगानी गरियो भने, मुटु उपचार फेरि सर्वसाधारणको पहुँचमा आउनेछ। अहिले पनि धेरै बिरामी ऋण खोज्दै, गहना राख्दै, खेतबारी बेच्दै राजधानी वा भारत तिर लागि रहेका छन्। त्यो बाध्यता अन्त्य गर्न सकिन्छ।

राजधानी काठमाडौँ स्थित गंगालाल हृदय केन्द्रले दशकौँ देखि देश भरका बिरामीलाई सेवा दिँदै आएको छ। त्यो नै स्तर, त्यो नै प्रतिबद्धता कोशी प्रदेश मै सम्भव छ । शैलजा आचार्य हृदय केन्द्रमा पनि।

आजै निर्णय गरौं । यो केन्द्रमा लगानी गरौं। यसले हजारौं आमा बुबाको मुटु बचाउनेछ, थुप्रै सन्तानहरू अझै बाबुको हात समातेर विद्यालय जान पाउनेछन्। मुटु दुखे पनि ढिलो नपरी उपचार हुनेछ।

यो केवल एउटा अस्पतालको सवाल होइन, यो हाम्रो प्रदेशको, हाम्रो समाजको भविष्य सँग गाँसिएको सवाल हो।

आउनुहोस्, शैलजा आचार्य हृदय केन्द्रलाई गंगालाल जस्तै उत्कृष्ट मुटु रोग उपचार केन्द्र बनाउने हाम्रो साझा प्रतिबद्धता बनाऔं। आजको लगानी, भोलिको जीवन। (डा. अग्रवाल मेडिकल काउन्सिलका निर्वाचित सदस्य र नेपाल चिकित्सक संघ जुनियर डाक्टर कमिटीका पूर्व सदस्य सचिव हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!