अनुसन्धान

‘५० वर्षको उमेरमा पनि स्वस्थ जीवनशैलीले दीर्घायु र मुटु रोगको जोखिम घटाउँछ’


काठमाडौँ – न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित नयाँ अनुसन्धान अनुसार, ५० वर्षको उमेरमा धूम्रपान नगर्ने, रक्तचाप सामान्य राख्ने, कोलेस्ट्रोल सन्तुलित राख्ने, मधुमेहबाट मुक्त रहने र स्वस्थ तौल कायम राख्ने व्यक्तिहरू न केवल लामो समय बाँच्नेछन,  मुटु रोगबाट पनि धेरै वर्ष सुरक्षित रहनेछन्। यो निष्कर्ष पुरुष र महिलाका लागि समान रूपमा लागू हुन्छ।

यो अध्ययन ग्लोबल कार्डियोभास्कुलर रिस्क कन्सोर्टियमका वैज्ञानिकहरूले गरेका हुन, जस लाई अमेरिकन कलेज अफ कार्डियोलोजीको मुख्य कंग्रेसमा प्रस्तुत गरिएको थियो।

अध्ययनका प्रमुख लेखक, प्रोफेसर डा. क्रिस्टिना म्याग्नुसनका अनुसार, ‘धूम्रपान, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मधुमेह, र असन्तुलित तौल, यी पाँच प्रमुख जोखिम कारकहरू विश्वभर आधा भन्दा बढी मुटु रोगका कारण हुन्। हाम्रो उद्देश्य यी कारकहरूलाई नियन्त्रण गर्दा जीवन प्रत्याशामा कस्तो प्रभाव पार्छ भन्ने बुझ्नु थियो।’

यो अनुसन्धान अन्तर्गत १३३ वटा विभिन्न समूह, ३९ देश र ६ वटा महादेशका २०,७८,९४८ सहभागीहरूको व्यक्तिगत डाटा अध्ययन गरियो। अध्ययनले जोखिम कारकहरू र जीवन प्रत्याशा बीचको सम्बन्धबारे अहिले .सम्मकै ठूलो प्रमाण प्रस्तुत गरेको छ।

अनुसन्धानमा रक्तचाप, रक्तमा चिल्लो पदार्थको मात्रा, कम तौल वा बढी तौल, मधुमेह र धूम्रपान जस्ता जोखिम कारकहरूको प्रभाव ५० वर्षको उमेरमा जाँच गरियो।

अनुसन्धान अनुसार, ५० वर्षको उमेरमा यी जोखिम कारकहरू नभएका महिलाहरूमा मुटु रोग १३.३ वर्ष ढिलो देखा पर्छ र उनीहरू १४.५ वर्ष बढी बाँच्छन्। त्यस्तै, पुरुषहरूमा मुटु रोग १०.६ वर्ष ढिलो विकसित हुन्छ र उनीहरू ११.८ वर्ष बढी बाँच्ने गर्छन्।

यो अध्ययनले जीवनको पछिल्लो चरणमा पनि स्वास्थ्य सुधारका प्रयासहरू लाभदायक हुने देखाएको छ। अध्ययनका वरिष्ठ लेखक, प्रोफेसर डा. स्टेफन ब्लान्केनबर्गका अनुसार, ‘पाँच जोखिम कारकमध्ये उच्च रक्तचाप नियन्त्रण गर्नाले सबैभन्दा बढी स्वस्थ जीवन वर्ष थप्छ।’ ५५ देखि ६० वर्षको उमेरमा रक्तचाप नियन्त्रण गर्न वा धूम्रपान त्याग्न सफल हुने व्यक्तिहरू अरूको तुलनामा बढी समय स्वस्थ बाँच्ने गर्छन्।

यस अध्ययनका सह लेखक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर, प्रा. डा. संजीब कुमार शर्माले नेपालहेल्थप्रेससँग कुरा गर्दै भने – ‘भनिन्छ जति सानो उमेर देखि स्वस्थ जीवन अपनाउन सकियो उति नै स्वस्थकर मुटु वा स्वस्थ जीवन बाँच्न सकिन्छ। तर यो कार्य लाई पूर्णरुपमा नेपाल भरि लागू गर्न लाई हाल कै अवस्था, स्रोत, साधनमा सम्भव देखिएको छैन । यो अनुसन्धानले के देखायो भने ५० वर्ष उमेर पुग्दा सम्म पनि यदि रक्तचाप, रक्तमा चिल्लो पदार्थको मात्रा, कम तौल वा बढी तौल, मधुमेह र धूम्रपान जस्ता जोखिम कारकहरू नियन्त्रणमा राख्यो भने अर्थात  स्वस्थ जीवन बाँच्न सकियो भने यसको सकारात्मक प्रभाव अति नै प्रभावकारी देखिएकोछ।’

प्रा. डा. शर्माले मुटु रोगको रोकथाममा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। उनले सन २००३ देखि केएचडीसी   (मृगौला, रक्तचाप, मधुमेह र कार्डियोभास्कुलर रोग) कार्यक्रम मार्फत जनचेतना अभिवृद्धि, सामुदायिक हस्तक्षेप, प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, र प्रारम्भिक पहिचान तथा जीवन शैली सुधारका उपायहरू लागू गर्न पहल गर्दै आएका छन्। उनका अनुसन्धान र प्रयासहरूले मुटु रोग रोकथामका प्रभावकारी रणनीति निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!