आयुर्वेद चिकित्सकले अब उन्नत शल्यक्रिया गर्न सक्ने : शल्यकन-२०२५

नयाँ दिल्ली (ब्युरो) – आयुर्वेदका चिकित्सकले चाँडै उन्नत शल्यक्रिया गर्न सक्ने भएका छन्। उनीहरूलाई यसका लागि आवश्यक दक्षता प्रदान गर्न भारत सरकारको तर्फबाट पहल तीव्र बनाइएको छ।
यसै सन्दर्भमा अखिल भारतीय आयुर्वेद संस्थान (एआईआईए) मा सुश्रुत जयन्तीको अवसर पारेर ‘शल्य चिकित्सा-२०२५’ नामक राष्ट्रिय सम्मेलन सम्पन्न गरिएको छ।
उक्त सम्मेलनमा भारत, नेपाल, श्रीलंका लगायतका छिमेकी देशका आयुर्वेद र आधुनिक चिकित्सा प्रणालीका शल्य चिकित्सक, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विद्यार्थीहरू गरी ५०० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो।
कार्यक्रममा भारत सरकारको आयुष विभागका राज्य मन्त्री प्रतापराव गणपत राव जाधवले प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण अनुरूप आयुर्वेदमा अनुसन्धानको विस्तार आवश्यक रहेको बताउँदै अनुसन्धानको माध्यमबाट परम्परागत चिकित्सा प्रणालीको प्रभावकारिता विश्व माझ स्थापित गर्न सकिने बताए।
भारत सरकारले पहिले नै आयुर्वेद चिकित्सकहरूलाई ३९ प्रकारका शल्यक्रिया प्रक्रिया र थप १९ शल्यक्रिया गर्न अधिकृत गरिसकेको जानकारी दिँदै उनले यसले स्वास्थ्य क्षेत्रमा एकीकृत दृष्टिकोणलाई बल मिलेको उल्लेख गरे।
त्यसै गरी, आयुष मन्त्रालयका सचिव तथा पद्मश्री सम्मानित वैद्य राजेश कोटेचाले सेप्टेम्बर २०२४ मा ‘एआईआईए’ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा संयुक्त रूपमा आयोजना गरिएको एक वैश्विक प्राविधिक बैठकमा परम्परागत चिकित्सामा कृत्रिम बुद्धिमत्ताको उपयोगसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको जानकारी गराए।
उनका अनुसार ‘आयुष स्वदेशी च्याटबट’, ‘एकीकृत आयुष मास्टर एप्लिकेसन’, ‘आयुष ई-लर्निङ’, ‘अनुसन्धान पोर्टल’, ‘नमस्ते योग एप’ लगायत २२ भन्दा बढी डिजिटल प्लेटफर्मको समायोजन मार्फत कृत्रिम बुद्धिमत्ता (
एआई) को उपयोग विस्तार गरिएको छ।
सम्मेलनमा संस्थानकी कार्यवाहक निर्देशक प्रा. डा. मंजुषा राजगोपालाले ‘शल्यकन-२०२५’ ले युवायुवती आयुर्वेद शल्य चिकित्सकहरूलाई नयाँ प्रविधि र शल्यकला अभ्यासहरूमा अवलोकन र सहभागिता जनाउन सहयोग गर्ने महत्वपूर्ण मञ्च रहेको बताइन्।
कार्यक्रममा राष्ट्रिय शल्य संघ का महासचिव प्रा. पी. हेमन्त कुमार लगायत अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस