अनुसन्धान

धुम्रपान नगर्नेमा फोक्सोको क्यान्सर: वायु प्रदूषण र जडीबुटी मुख्य कारण


काठमाडौं – धुम्रपान कहिल्यै नगर्ने व्यक्तिहरूमा फोक्सोको क्यान्सर कसरी विकास हुन्छ भन्ने बारे अहिले सम्मकै सबै भन्दा ठूलो जीनोम अध्ययनले वायु प्रदूषण र केही जडीबुटी जन्य तत्वहरू सँग प्रत्यक्ष सम्बन्ध देखाएको छ।

अध्ययन अमेरिकी नेशनल क्यान्सर इन्स्टिच्युट र क्यालिफोर्निया विश्वविद्यालय, सान डिएगोका अनुसन्धानकर्ता हरूले गरेका हुन्, जुन २०२५ जुलाई २ मा नेचर पत्रिका मा प्रकाशित भएको हो।

अध्ययनका अनुसार पिएम २.५ (साँघुरा कण युक्त वायु प्रदूषण) सास फेर्दा शरीरमा विभिन्न जैविक प्रक्रिया मार्फत क्यान्सर सिर्जना गर्ने र प्रवर्द्धन गर्ने अनुवांशिक परिवर्तनहरू (म्युटेसन) हुने देखिएको छ।

‘शेर्लक-लंग’ नामक अध्ययन अन्तर्गत विश्व भरका २८ भौगोलिक स्थानबाट धुम्रपान नगरेका ८७१ जना फोक्सो क्यान्सर बिरामीको ट्युमर विश्लेषण गरिएको थियो। यस क्रममा ‘टिपी५३’ नामक जीनमा परिवर्तन भेटियो, जुन सामान्यतया धुम्रपान सँग सम्बन्धित हुन्छ। त्यस्तै ‘एसबीएस४’  (सिंगल बेस सब्स्टिच्युसन) र ‘एसबीएस५’ जस्ता म्युटेसन पनि देखिए । जुन उमेर र कोष विभाजन सँग सम्बन्धित छन्।

वातावरणीय प्रदूषण र टेलोमेर छोटिने सम्बन्ध

वातावरणीय प्रदूषण बढे सँगै टेलोमेर (कोषमा रहेको जीन सुरक्षा ढाँचा) छोटिने दर पनि बढेको पाइयो। टेलोमेर छोटिनु क्यान्सर उत्पत्ति प्रक्रिया सँग जोडिएको महत्वपूर्ण कारक हो।

सेकेन्ड ह्याण्ड स्मोक भन्दा वायु प्रदूषण बढी घातक

सेकेन्ड ह्याण्ड स्मोक (अरूद्वारा छोडिएको धुवाँ मा साँस फेर्ने) को असर ट्युमरमा केही म्युटेसन र टेलोमेर छोटिने रूपमै देखिए पनि, वायु प्रदूषणले तुलनात्मक रूपमा बढी क्यान्सर उत्पन्न गर्ने म्युटेसन गराएको देखिएको छ। यसबाट वायु प्रदूषणको म्युटाजेनिक क्षमता सेकेन्ड ह्याण्ड स्मोक भन्दा पनि धेरै रहेको पुष्टि भएको छ।

ताइवानमा औषधीय जडीबुटीको असर

अध्ययनमा ‘एसबीएस२२ए’  नामक म्युटेसन देखिएको थियो जुन पहिले कलेजो, मिर्गौला र मूत्राशय क्यान्सरमा देखिएको थियो। यो म्युटेसन विशेष गरी ताइवानका बिरामीको ट्युमरमा मात्रै देखियो। यसलाई ‘एरिस्टोलोसिक एसिड’ नामक यौगिकसँग जोडिएको छ, जुन केही औषधीय जडीबुटीहरूमा पाइन्छ। फोक्सो क्यान्सरमा यो म्युटेसन पहिलो पटक देखिएको हो।

धुम्रपान नगर्नेमा क्यान्सर कसरी हुन्छ?

पछिल्ला दशक सम्म फोक्सो क्यान्सरमा केन्द्रित अधिकांश अध्ययन धुम्रपानकर्तामा आधारित थिए। तर यो अध्ययनले धुम्रपान नगर्नेमा क्यान्सर विकास हुने जैविक प्रक्रिया तथा वातावरणीय कारकहरूको पत्ता लगाउने प्रयास गरेको हो। विश्वभर फोक्सोको क्यान्सरका २५% बिरामी धुम्रपान नगर्ने व्यक्तिहरू नै हुने गरेका छन्।

अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘यो अनुसन्धानले भविष्यमा धुम्रपान नगर्ने मानिसहरूमा हुने फोक्सो क्यान्सर रोकथामका लागि रणनीति बनाउने मार्ग खुला गर्छ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!