अनुसन्धान

शास्त्रीय संगीतको रागले बदल्छ मस्तिष्कको तरंग: वैज्ञानिक अध्ययनले पुष्टि गर्‍यो प्रभाव


नयाँ दिल्ली (ब्युरो) – भारतीय शास्त्रीय संगीतका सुर र रागहरूले केवल मनलाई मात्र होइन, मस्तिष्कको तरंगमा समेत प्रभाव पार्ने पुष्टि भएको छ। भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मण्डीले गरेको एक वैज्ञानिक अध्ययनले शास्त्रीय रागहरूले मस्तिष्कको गतिविधिमा उल्लेखनीय परिवर्तन ल्याउने देखाएको हो।

अध्ययनको परिणाम अमेरिका आधारित वैज्ञानिक पत्रिका फ्रन्टियर्स इन ह्युमन न्युरोसाइन्स मा प्रकाशित भएको छ। अध्ययनको नेतृत्व आईआईटी मण्डीका निर्देशक प्रा. लक्ष्मीधर बेहराले गरेका हुन्। सो अध्ययनमा आईआईटी कानपुरका अनुसन्धानकर्ताहरूको समेत सहकार्य थियो।

अनुसन्धानका क्रममा वैज्ञानिकहरूले ४० जना सहभागीहरूमा अत्याधुनिक ईईजी माइक्रोस्टेट एनालाइसिस प्रविधिको प्रयोग गरी उनीहरूको मस्तिष्कीय प्रतिक्रिया परीक्षण गरेका थिए। यस प्रविधिले मस्तिष्कको सूक्ष्म र क्षणिक अवस्थाहरूलाई विश्लेषण गर्न मद्दत गर्छ।

दरबारी र जोगियाको प्रभाव

अध्ययन अनुसार, राग दरबारीले ध्यान केन्द्रित गराउने र एकाग्रता बढाउने मस्तिष्कीय गतिविधिहरूलाई सक्रिय बनाउने देखिएको छ। यसले मनको चञ्चलता घटाउँछ। त्यस्तै, राग जोगियाले भावनात्मक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेलेको पाइयो। यसले आन्तरिक शान्ति र भावनात्मक नियन्त्रणमा सुधार ल्याउने देखिएको हो।

अनुसन्धान प्रमुख प्रा. बेहराले भारतीय संगीतले परम्परा देखि मानसिक स्थिरता र शान्तिको कुरा गर्दै आएको स्मरण गराउँदै भने, ‘अब वैज्ञानिक प्रमाणले पनि त्यसको पुष्टि गरेको छ।’ प्रमुख लेखक डा. आशीष गुप्ताका अनुसार परिवर्तन आकस्मिक थिएनन्, वैज्ञानिक रूपमा दोहोर्याउन मिल्ने प्रकारका थिए।

मानसिक स्वास्थ्यमा प्रयोगको सिफारिस

अनुसन्धान टोलीले अध्ययनको आधारमा केही व्यावहारिक सिफारिस समेत गरेका छन्। परीक्षा, अन्तर्वार्ता वा महत्त्वपूर्ण बैठकमा जानु अघि राग दरबारी सुन्दा एकाग्रता बढ्न सक्छ। भावनात्मक तनावको बेला राग जोगिया सुन्दा मन सन्तुलित र शान्त बन्ने देखिएको छ। आईआईटी कानपुरका प्रा. ब्रजभूषणले यस अनुसन्धानलाई ऐतिहासिक उपलब्धि भन्दै संगीत आधारित मानसिक स्वास्थ्य उपायका लागि सांस्कृतिक रूपमा उपयुक्त रणनीति निर्माण गर्न सहयोग पुग्ने बताएका छन्।

सार्वभौमिक असर

अध्ययनको विशेष पक्ष भनेको पश्चिमी देशका सहभागीहरू माथि पनि परीक्षण गरिएको थियो। उनीहरूमा पनि लगभग उस्तै असर देखिएकोले वैज्ञानिकहरूले भारतीय रागहरूको प्रभाव केवल सांस्कृतिक नभई सार्वभौमिक न्यूरोलोजिकल प्रभाव भएको निष्कर्ष निकालेका छन्।

यो अध्ययनले भारतीय शास्त्रीय संगीतको प्रभाव वैज्ञानिक दृष्टिकोणबाट पुष्टि गरेको छ। साथै, यसले मानसिक स्वास्थ्यको क्षेत्रमा सांगीतिक हस्तक्षेपलाई नयाँ दिशा दिने सम्भावना देखाएको छ।

समय अनुसार रागको प्रभाव

भारतीय संगीतमा प्रत्येक रागको सुन्ने उपयुक्त समय निर्धारण गरिएको हुन्छ, जसलाई ‘समय चक्र’ भनिन्छ।

  • बिहान: राग सोहनी, अहीर भैरव, भैरव
  • दिउँसो: भीमपलासी, जौनपुरी, मुल्तानी
  • साँझ: यमन, पुरिया, देस, दुर्गा
  • राति: बागेश्री, रागेश्री, अहाना, दरबारी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!