अनधिकृत सौन्दर्य केन्द्रबाट छालारोग उपचार, जनस्वास्थ्यमा गम्भीर असर : डरमेटोलोजिस्टको कडा आपत्ति


काठमाडौं – छालारोगको नाममा सौन्दर्य केन्द्र, पार्लर तथा अनधिकृत संस्थाबाट भइरहेका गैर-वैज्ञानिक र गैर-व्यवसायिक उपचारहरूले नेपाली जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको भन्दै नेपाल डर्माटोलोजिष्ट, भेनेरोलोजिष्ट र लेप्रोलोजिष्ट समाजले गम्भीर चिन्ता व्यक्त गरेको छ।

समाजले स्वास्थ्यमन्त्री प्रदिप पौडेललाई शुक्रबार भेटेर समेत यसबारे ध्यानाकर्षण गराएको छ। स्वास्थ्यमन्त्री पौडेलसँग समाजका अध्यक्ष डा. मनिषा सिंह बासुकला र महासचिव डा  अदिति मिश्र, नेपाल सोसाईटी अफ हेयर रिस्टोरेसन सर्जन का अध्यक्ष डा. धर्मेन्द्र कर्ण, नेपाल मेडिकल काउन्सिल का सदस्य डा. रूपक घिमिरे लगायतका चिकित्सकहरूले चार बुँदे माग सहित सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको हो ।

समाजका महासचिव डा. मिश्र र अध्यक्ष डा. सिंहले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा चिकित्सक नभएका व्यक्तिहरूले आफूलाई ‘स्किन स्पेसलिस्ट’ भनेर चिनाउँदै इन्जेक्सन, औषधि, लेजर, प्लाज्मा थेरापी जस्ता संवेदनशील विधिहरू प्रयोग गर्दै आएको उल्लेख गरिएको छ।

यसले बिरामीको छालामा स्थायी दाग, संक्रमण, छाला पातलो हुने, जटिलता उत्पन्न हुने र ज्यानसमेत जोखिममा पार्ने घटनाहरू बढ्दै गएका छन्।

प्रेस विज्ञप्तिमा यस्ता कार्यहरू स्वास्थ्य सेवा प्रवाहको मर्यादा र प्रचलित कानुन विपरीत भएको स्पष्ट गरिएको छ ।

समाजले नेपाल मेडिकल काउन्सिल, औषधि व्यवस्था विभाग तथा स्थानीय प्रशासनलाई यस विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदै आएको समेत उल्लेख गरेको छ।

हालै चिकित्सक नभएका एक व्यक्तिलाई डर्मेटोलोजिस्टको रूपमा सार्वजनिक रूपमा सम्मान गरिएको घटना सार्वजनिक भएपछि समाजले यस्ता भ्रामक कार्य विरुद्ध कडा कानुनी कारबाही र निगरानीको माग गरेको छ।

समाजले यस्ता कार्यहरू जनस्वास्थ्यमा दीर्घकालीन असर पार्ने भएकाले सबै सरोकारवाला हरूको संयुक्त प्रयासमा नीति निर्माण र कार्यान्वयनमा तुरुन्त कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

स्वास्थ्यमन्त्रीसँग ४ बुँदे माग अन्तर्गत गैर-चिकित्सकद्वारा छालारोगको नाममा भइरहेका अनधिकृत कार्यको छानबिन र नियन्त्रण गर्न आग्रह गरिएको छ ।

यस्तै गलत प्रक्रियामा संलग्न व्यक्ति तथा संस्थाहरूलाई कानुन अनुसार कारबाही एवं नियामक निकायहरूबीच समन्वय गरी निगरानी र अनुशासन कायम गर्न समेत चिकित्सकहरूले माग गरेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!