यौनजन्य रोग गोनोरिया (सुजाक/भिरङ्गी) ११% सम्म औषधि प्रतिरोधी :औषधि काम नगर्ने संक्रमण बढ्दै
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ तथ्यांक सार्वजनिक गर्दै जलन हुने मूत्रेन्द्रिय को रोग गोनोरिया अर्थात सुजाक/भिरङ्गी रोग एन्टिबायोटिक प्रति बढी प्रतिरोधी बन्दै गएको चेतावनी दिएको छ।
डब्ल्यूएचओको ‘इन्हान्स्ड गोनोकोकल एन्टिमाइक्रोबियल सर्भेइलान्स प्रोग्राम’ (इजीएएसपी) बाट संकलित पछिल्ला तथ्यांकले यो रोगको औषधि प्रतिरोध झन् गम्भीर बन्दै गएको देखाएको हो।
विश्व एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) सचेतना सप्ताह सँगै सार्वजनिक गरिएको तथ्यांकमा संक्रमण पहिचान, परीक्षण क्षमता र नयाँ उपचारमा पहुँच विस्तार गर्न देशहरूलाई आग्रह गरिएको छ। सन् २०१५ मा सुरु गरिएको इजीएएसपी ले विभिन्न मुलुकका प्रयोगशालाबाट प्राप्त तथ्यांकका आधारमा प्रतिरोधी गोनोरिया संक्रमणको प्रवृत्ति पहिचान गर्छ।
डब्ल्यूएचओका एचआईभी, टीबी, हेपाटाइटिस र यौनजन्य रोग विभागकी निर्देशक डा. तेरेजा कसायेभाले ‘औषधि प्रतिरोधी गोनोरियाको रोकथाम, नियन्त्रण र समयमै प्रतिक्रिया जनाउनका लागि यो विश्वव्यापी प्रयास अनिवार्य छ’, भन्दै सबै देशलाई राष्ट्रिय यौनजन्य संक्रमण (एसटीआई) कार्यक्रम भित्र गोनोरिया निगरानी समावेश गर्न आग्रह गरिन्।
एन्टिबायोटिक प्रतिरोध तीव्र रूपमा बढ्यो
सन् २०२२ देखि २०२४ बीच गोनोरिया उपचारका मुख्य औषधि सेफ्ट्रियाक्सोन र सेफिक्सिमप्रति प्रतिरोध क्रमशः ०.८ प्रतिशतबाट ५ प्रतिशत र १.७ प्रतिशतबाट ११ प्रतिशत पुगेको छ। एजिथ्रोमाइसिन प्रति प्रतिरोध ४ प्रतिशतमा स्थिर रहे पनि सिप्रोफ्लोक्सासिन प्रति प्रतिरोध ९५ प्रतिशत पुगेको डब्ल्यूएचओले जनाएको छ। क्याम्बोडिया र भियतनाममा प्रतिरोध दर सबै भन्दा उच्च देखिएको हो।
२०२४ मा पाँच क्षेत्रका १२ इजीएएसपी सहभागी देशले तथ्यांक उपलब्ध गराए, जुन २०२२ का चार देशभन्दा ठूलो वृद्धि हो। ती १२ देश ब्राजिल, क्याम्बोडिया, भारत, इन्डोनेसिया, मालावी, फिलिपिन्स, कतार, दक्षिण अफ्रिका, स्विडेन, थाइल्यान्ड, युगान्डा र भियतनामले ३६१५ गोनोरिया संक्रमितको तथ्यांक पठाएका थिए।
पुरुषमा देखिने लक्षणसहितका सबै संक्रमित मध्ये ५२ प्रतिशत पश्चिमी प्रशान्त क्षेत्रका देशहरू (फिलिपिन्स २८%, भियतनाम १२%, क्याम्बोडिया ९% र इन्डोनेसिया ३%) मा भेटिएको छ। अफ्रिकी क्षेत्रले २८ प्रतिशत, दक्षिण पूर्व एशियाली क्षेत्र (थाइल्यान्ड) ले १३ प्रतिशत, पूर्वी भूमध्यसागर क्षेत्रले ४ प्रतिशत र अमेरिकाज क्षेत्रले २ प्रतिशत संक्रमित रिपोर्ट गरेका छन्।
संक्रमितको मध्य आयु २७ वर्ष (१२–९४ वर्ष) थियो। संक्रमित मध्ये २० प्रतिशत पुरुष – पुरुष यौन सम्पर्कमा रहने, ४२ प्रतिशतले पछिल्लो ३० दिनमा धेरै यौन साथी भएको, ८ प्रतिशतले हालै एन्टिबायोटिक प्रयोग गरेको र १९ प्रतिशतले हालै यात्रा गरेको बताएका छन्।
निगरानी विस्तार भए पनि चुनौती कायम
डब्ल्यूएचओले २०२४ मा ८ देशका करिब ३००० नमुना जीनोमिक परीक्षण गरेर रोगको स्वरूप बुझ्ने प्रयास अघि बढाएको छ। नयाँ औषधि जोलिफ्लोडासिन र गेपटिडासिन सम्बन्धी अनुसन्धान तथा टेट्रासाइक्लिन प्रतिरोध सम्बन्धी अध्ययन स्विडेन स्थित डब्ल्यूएचओ सहकार्य केन्द्र मार्फत गरिएको छ।
२०२४ मा ब्राजिल, कोट डिभोआर र कतार इजीएएसपी मा सहभागी थपिए । भारतले पनि २०२५ देखि राष्ट्रिय एड्स तथा यौनजन्य रोग नियन्त्रण कार्यक्रममार्फत तथ्यांक पठाउन सुरु गर्नेछ।
डब्ल्यूएचओले निगरानी प्रणाली विस्तार हुँदै गए पनि सीमित बजेट, अधुरो रिपोर्टिङ र महिला सहित अन्य समूहका तथ्यांक अभाव जस्ता चुनौती कायमै रहेको बताएको छ। संगठनले राष्ट्रिय निगरानी प्रणालीमा विशेष लगानी आवश्यक भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस