विश्वकै पहिलो पिसाबको थैली प्रत्यारोप सफल

काठमाडौँ- अमेरिकाको रोनाल्ड रेगन युसिएलए मेडिकल सेन्टर मा मे ४ तारिख, २०२५ मा पहिलो पटक मानवमा सफलतापूर्वक पिसाब थैली (मूत्राशय/ब्लाडर) प्रत्यारोपण गरिएको छ।
यो ऐतिहासिक शल्यक्रिया ‘केक मेडिसिन अफ युएससी’ र ‘युसिएलए हेल्थ’ का विशेषज्ञ चिकित्सकहरू को संयुक्त प्रयासमा सम्पन्न भएको हो।
केक मेडिसिन अफ युएससी को अनुसार यो शल्यक्रिया ‘युएससी युरोलोजी’ का संस्थापक कार्यकारी निर्देशक डा. इन्दरबीर गिल र ‘युसिएलए भास्कुलराइज्ड कम्पोजिट ब्ल्याडर एलोग्राफ्ट ट्रान्सप्लान्ट प्रोग्राम’ का निर्देशक डा. निमा नसीरीको नेतृत्वमा सम्पन्न गरिएको हो।
डा. गिलले यस उपलब्धिलाई चिकित्सा इतिहासमा एक ‘ऐतिहासिक क्षण’ को संज्ञा दिएका छन्। उनका अनुसार, ‘यो उपलब्धिले टर्मिनल अर्थात् पूर्ण रूपमा कार्य गर्न छाडेका मुत्राशय भएका बिरामीहरूको उपचारमा नयाँ आयाम थप्नेछ।’
यो शल्यक्रिया चार वर्ष लामो अनुसन्धान, पूर्व प्रशिक्षण र परीक्षणको परिणाम स्वरूप सम्भव भएको हो। गिल र नसीरीले संयुक्त रूपमा नयाँ शल्यक्रिया प्रविधि विकास, क्लिनिकल ट्रायल डिजाइन र नियामकीय स्वीकृतिहरूको प्रक्रिया सम्पन्न गरेका थिए।
जटिल तर सफल शल्यक्रिया
बिरामी विगत सात वर्षदेखि डायलाइसिसमा निर्भर थिए। पाँच वर्ष अघि क्यान्सरको शल्यक्रियामा उनको अधिकांश मुत्राशय हटाइएको थियो र त्यस पछि दुबै मिर्गौला पनि हटाइएको थियो।
डा. गिल र डा. नसीरीले संयुक्त रूपमा मिर्गौला र मुत्राशय प्रत्यारोपण गरेर बिरामीलाई डायलाइसिस मुक्त बनाएका छन्। शल्यक्रिया करिब आठ घण्टा लामो थियो।
‘शल्यक्रिया पश्चात मिर्गौलाले तुरुन्तै ठूलो मात्रामा मूत्र उत्पादन गर्न थाल्यो र बिरामीको मिर्गौला कार्यक्षमता सुधारियो,’ डा. नसीरीले बताए।
भविष्यमा उपचारको नयाँ विकल्प
हाल विश्व भर लाखौं मानिसहरू विभिन्न किसिमका मुत्राशय सम्बन्धी रोगहरूबाट पीडित छन्। धेरैले बारम्बार संक्रमण, पिडा र मूत्र विसर्जनमा समस्या भोगि रहेका छन्। वर्तमानमा गम्भीर अवस्थाका बिरामीहरूमा पेटको आन्द्राको प्रयोग गरेर नयाँ मुत्राशय बनाउने विधि अपनाइन्छ, जसले लामो समय सम्म स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ।
डा. गिल र डा. नसीरीका अनुसार प्रत्यारोपणबाट यस्तो जोखिम न्यून हुन सक्छ र बिरामीको जीवन स्तरमा उल्लेखनीय सुधार ल्याउन सक्छ।
यो प्रत्यारोपण युसिएलए मा जारी क्लिनिकल ट्रायल अन्तर्गत गरिएको हो। अनुसन्धानकर्ताहरू आगामी दिनमा थप प्रत्यारोपण गर्न लक्ष्यमा छन्।
यो उपलब्धिले भविष्यमा मुत्राशय गुमाएका वा गम्भीर समस्यामा परेका बिरामीहरूका लागि आशाको किरण बनेको छ।
प्रतिक्रिया दिनुहोस