वायु प्रदूषणको मस्तिष्कमा गहिरो प्रभाव, छारे रोग (मिर्गी) को जोखिम बढ्दै: अनुसन्धान


काठमाडौं – वायु प्रदूषण अब केवल स्वास प्रश्वास र फोक्सो सम्बन्धी समस्या सम्म सीमित छैन। हालै गरिएको एक अध्ययनले प्रदूषण मस्तिष्कमा समेत गहिरो प्रभाव पार्ने देखाएको छ, जसले स्नायुगत रोगहरू, विशेष गरी छारे रोग (मिर्गी) अर्थात् एपिलेप्सी जस्ता गम्भीर स्थितिको जोखिम बढाउने पुष्टि गरेको छ।

क्यानडाको लन्डन हेल्थ साइन्सेज सेन्टर रिसर्च इन्स्टिच्युट र वेस्टर्न विश्वविद्यालयका वैज्ञानिकहरू ले संयुक्त रूपमा यो अनुसन्धान गरेका हुन्। सो अध्ययनको निष्कर्ष प्रतिष्ठित जर्नल एपिलेप्सीया मा प्रकाशित गरिएको छ।

अनुसन्धानकर्ताहरूले ओन्टारियो, क्यानडामा जनवरी १ सन् २०१० सम्म १८ देखि ८० वर्ष  उमेरका लाखौं नागरिकहरूको स्वास्थ्य सम्बन्धी तथ्याङ्क र वातावरणमा रहेको प्रदूषणको स्तरको विस्तृत विश्लेषण गरेका थिए।

अध्ययनमा ती व्यक्तिहरू समावेश थिए, जसलाई छारे रोग लगायतका मस्तिष्क सम्बन्धी अन्य गम्भीर रोग थिएनन्।

६ वर्षको अवधि अर्थात् ३१ डिसेम्बर सन् २०१६ सम्ममा मिर्गीका २४,७६१ नयाँ घटनाहरू पहिचान गरिएका छन्, जुन निकै चकित पार्ने तथ्य हो । यी घटनामा दुई प्रमुख प्रदूषक तत्वहरू जिम्मेवार देखिएका छन्।

पहिलो, पीएम २.५ नामक अत्यन्त साना कणहरूसँग दीर्घकालीन सम्पर्कले मिर्गीको जोखिम ५.५% ले बढाउने देखिएको छ।

दोस्रो, लामो समय सम्म ओजोन ग्यासको सम्पर्कमा रहँदा यो जोखिम ९.६% सम्म बढ्न सक्ने तथ्य भेटिएको छ।

यो अध्ययन पहिलो पटक वायु प्रदूषणलाई मिर्गीका नयाँ घटनासँग प्रत्यक्ष रूपमा जोडिएको प्रमाणको रूपमा प्रस्तुत गरिएको हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!