अनुसन्धान
५० वर्ष भन्दा कम उमेरका व्यक्तिहरूमा क्यान्सरको जोखिम बढ्दो

हालै गरिएको एक नयाँ अध्ययनले ५० वर्ष भन्दा कम उमेरका व्यक्तिहरूमा क्यान्सरका घटनाहरू बढिरहेको देखाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार मोटोपन जस्ता जोखिम कारकहरू पछिल्ला केही वर्षहरूमा क्यान्सरका दरहरू बढ्नमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
क्यान्सर डिस्कभरी जर्नलमा प्रकाशित अध्ययनका निष्कर्ष अनुसार स्तन, कोलोरेक्टल, मिर्गौला र गर्भाशयको क्यान्सरमा उल्लेखनीय वृद्धि देखिएको छ।
अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) अन्तर्गतका अनुसन्धानकर्ताहरूले सन् २०१० देखि २०१९ सम्म ५० वर्ष भन्दा कम उमेरका वयस्कहरूमा क्यान्सरका विभिन्न प्रकारहरूमा वृद्धि भएको चिन्ताजनक तथ्य प्रस्तुत गरेका छन्।
अनुसंधानका क्रममा ३३ विभिन्न प्रकारका क्यान्सर मध्ये १४ प्रकारका क्यान्सर कम उमेर समूहमा बढेको पाइयो। एनआईएच अन्तर्गत नेशनल क्यान्सर इन्स्टिच्युटकी प्रमुख अनुसन्धानकर्ता मेरिडिथ शिल्सका अनुसार यो अध्ययनले ५० वर्ष भन्दा कम उमेरका व्यक्तिहरूमा क्यान्सर कुन प्रकारले बढिरहेको छ भन्ने बुझ्नका लागि आधार प्रदान गर्छ।
अनुसंधान कर्ताहरूले अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडीसी) र राष्ट्रिय मृत्यु दर रेकर्डका तथ्यांक प्रयोग गरेर सन् २०१० देखि २०१९ सम्म क्यान्सरको घटनाहरू र सन् २०२२ सम्मको मृत्यु दरको प्रवृत्तिको अध्ययन गरेका थिए । जुन ६ फरक उमेर समूहहरू मा विभाजित थियो।
यद्यपि केही क्यान्सरका घटनामा वृद्धि देखिएको भए तापनि फोक्सो र प्रोस्टेट क्यान्सर जस्ता १९ प्रकारका क्यान्सरमा भने घटदो प्रवृत्ति देखिएको थियो, जसका कारण समग्र क्यान्सर घटनाहरूको दर स्थिर रह्यो।
कम उमेर समूहमा तीव्र रूपमा बढेको क्यान्सर मध्ये महिलामा हुने स्तन क्यान्सर प्रमुख रहेको छ । जसमा सन् २०१९ मा मात्र करिब ४,८०० नयाँ केसहरू दर्ता भएका थिए।
निष्कर्षमा यो पनि उल्लेख गरिएको छ कि क्यान्सरको प्रारम्भिक पहिचान र रोकथामका उपायहरू विशेष गरी युवा पुस्तालाई लक्षित गर्दै विस्तार गर्नुपर्ने आवश्यक छ।
प्रतिक्रिया दिनुहोस