अनुसन्धान
नयाँ एमआरआई प्रविधिले मुटु रोगको पहिचानमा पुर्याउन सक्छ ठुलो योगदान

मुटु सम्बन्धी रोग ‘एओर्टिक स्टेनोसिस’को शीघ्र र सटीक पहिचानमा सहयोग पुग्ने एक अत्याधुनिक एमआरआई प्रविधि वैज्ञानिकहरूले विकास गरेका छन्। यो अनुसन्धानको नतिजा ‘ओपन हर्ट’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित गरिएको छ।
बेलायतको शेफिल्ड विश्वविद्यालय र युनिभर्सिटी अफ ईस्ट एंग्लियाका अनुसन्धानकर्ताहरूको संयुक्त प्रयासमा यो प्रविधि तयार पारिएको हो।
अनुसन्धानले देखाएको छ कि नयाँ ४डी फ्लो एमआरआई स्क्यान प्रविधिले परम्परागत अल्ट्रासाउन्ड भन्दा धेरै सटीक तरिकाले एओर्टिक स्टेनोसिसको पहिचान गर्न सक्छ। उमेर सँगै गम्भीर रूप लिन सक्ने यो मुटु सम्बन्धी रोगको सटिक पहिचानका लागि यो प्रविधि अत्यन्तै प्रभावकारी हुने विश्वास गरिएको छ।
यस प्रविधिमा विकिरणको प्रयोग नहुने भएकाले अन्य इमेजिङ प्रविधिहरूको तुलनामा सुरक्षित मानिन्छ। साथै, यसको उच्च सटीकताले चिकित्सकहरू लाई बिरामीलाई कहिले शल्यक्रिया आवश्यक पर्छ भन्ने निर्णय लिन सहज बनाउनेछ।
अनुसन्धानकर्ताहरूले एओर्टिक स्टेनोसिसबाट पीडित ३० जना बिरामीमा ४डी एमआरआईको प्रयोग गरेर परीक्षण गरेका थिए। परीक्षण पछि प्राप्त परिणामहरू पुरानै प्रविधि सँग तुलना गर्दा नयाँ प्रविधिले बढी सटीक नतिजा दिएको पाइयो।
शेफिल्ड विश्वविद्यालयका प्राध्यापक एन्डी स्विफ्टका अनुसार, ‘४डी फ्लो स्क्यानिङ प्रविधि एओर्टिक स्टेनोसिस भएका बिरामीहरूको मूल्याङ्कनमा अत्यन्तै उपयोगी हुन सक्छ। यो प्रविधि हृदय रोग पहिचानमा एक महत्वपूर्ण उपलब्धि सावित हुनेछ।’
प्रतिक्रिया दिनुहोस