अनुसन्धान
अब एउटै खोपले १५ प्रकारका क्यान्सरको रोकथाम सम्भव

बेलायती वैज्ञानिकहरूले यस्तो खोप (वैक्सीन) विकास गरेका छन्, जसले १५ प्रकारका क्यान्सरको रोकथाम गर्न सक्नेछ।
बेलायतको नेशनल हेल्थ सर्विस (एनएचएस)ले ‘सुपर जब’ नाम दिइएको विशेष खोप अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत प्रत्येक महिनामा करिब १,२०० क्यान्सर बिरामीलाई यो खोप दिइनेछ। यस किसिमको पहल सुरु गर्ने बेलायत पहिलो युरोपेली देश बनेको छ।
द इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार, यस खोपमा मोनोक्लोनल एन्टिबडी प्रयोग गरिएको छ, जुन शरीरका ‘टी कोष’मा रहेको पीडी-१ नामक प्रोटिनमा टाँसिन्छ र क्यान्सर कोषलाई नष्ट गर्छ। यसले शरीरको रोग प्रतिरोधात्मक प्रणाली सक्रिय बनाउँछ र क्यान्सर सेलहरूलाई समाप्त गर्छ।
एनएचएसका अनुसार यो खोप आगामी महिना देखि आवश्यक बिरामीलाई लगाउन थालिनेछ। यसले क्यान्सर उपचारमा लाग्ने झन्डै १,००० घण्टा समयको बचत समेत गर्नेछ। खोपले क्यान्सर विकास हुनुअघि ‘प्री-क्यान्सर’ अवस्थामै कोषहरू लाई लक्षित गर्ने भएकाले रोग फैलनै नपाउने विश्वास लिइएको छ।
डाक्टरको समय पनि बच्नेछ
एनएचएसका क्यान्सर विशेषज्ञ प्रा. पिटर जोनसनले यो खोपलाई क्यान्सर उपचारको ठूलो सफलता भएको बताएका छन्। उनका अनुसार यसले हरेक वर्ष हजारौं डाक्टरको समय बचाउनेछ र उपचार धेरै बिरामी सम्म पुर्याउन सकिनेछ।
बेलायतका स्वास्थ्य मन्त्रीले यसलाई देशको चिकित्सा नवप्रवर्तनको उत्कृष्ट उदाहरण भनेका छन्। फार्मासिस्ट जेम्स रिचर्डसनका अनुसार, यस खोपले छाला र मिर्गौला सम्बन्धी क्यान्सर भएका बिरामीहरूको जीवन स्तरमा उल्लेखनीय सुधार ल्याउनेछ।
अझ अर्को खोपमा अनुसन्धान जारी
यसै बीच, बेलायती वैज्ञानिकहरू क्यान्सरको यस्तो खोप विकास गर्ने प्रयासमा छन्, जसले रोग सुरु हुनु अघि नै – करिब २० वर्ष अघि देखि – क्यान्सरको संकेत पत्ता लगाई रोकथाम गर्न सकोस्।
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूका अनुसार, क्यान्सर विस्तारै विकसित हुने प्रक्रिया हो, जुन झन्डै दुई दशक सम्म लुकेर विकसित हुन सक्छ। सुरुमा अदृश्य रहने ती कोषहरूलाई चिन्ने क्षमता हुने खोप निर्माणको अनुसन्धान तीव्र गतिमा भइरहेको छ।
प्रतिक्रिया दिनुहोस