अनुसन्धान
कलेजोको क्यान्सरको जोखिम बढाउँछ उच्च बोसोयुक्त आहार
उच्च बोसोयुक्त आहार कलेजो क्यान्सरको प्रमुख जोखिम कारक मध्ये एक भएको नयाँ अध्ययनले देखाएको छ।म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का अनुसन्धानकर्ताले गरेको अध्ययन अनुसार अत्यधिक बोसोयुक्त खानाले कलेजोका कोशिकाको संरचना र कार्य प्रणाली परिवर्तन गरी तिनलाई क्यान्सर प्रति बढी संवेदनशील बनाउँछ।
सेल जर्नलमा प्रकाशित यो अध्ययनलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। अध्ययनले देखाए अनुसार उच्च बोसोयुक्त आहारको प्रभावमा कलेजोका परिपक्व कोशिका (हेपाटोसाइट) पुनः अपरिपक्व, स्टेमसेल जस्तो अवस्थामा फर्किन्छन्। यसले कोशिकालाई तनावपूर्ण वातावरणमा बाँच्न मद्दत गरे पनि दीर्घकालमा क्यान्सरको जोखिम बढाउँछ।
एमआईटीको इन्स्टिच्युट फर मेडिकल इन्जिनियरिङ एन्ड साइन्सेस (आईएमइएस) का निर्देशक एलेक्स के. शालेकका अनुसार, ‘उच्च बोसोयुक्त आहार जस्ता तनावजन्य अवस्थासँग बारम्बार जुध्नु पर्दा कोशिकाले बाँच्न सहयोगी उपाय अपनाउँछन्, तर त्यसको मूल्य क्यान्सरको सम्भावना बढ्नु हो।’
अनुसन्धानकर्ताले यो परिवर्तन नियन्त्रित गर्ने केही ट्रान्सक्रिप्सन फ्याक्टर पनि पहिचान गरेका छन्, जसलाई लक्षित गरेर उच्च जोखिममा रहेका बिरामीमा ट्युमर रोकथामका लागि औषधि विकास गर्न सकिने सम्भावना रहेको बताएका छन्।
अध्ययनका वरिष्ठ लेखकमा शालेक सँगै एमआईटीका प्राध्यापक ओमर यिल्माज र हार्वर्ड एमआईटी हेल्थ साइन्स एन्ड टेक्नोलोजी कार्यक्रमका सह निर्देशक वोल्फ्राम गोएस्लिङ छन्।
उच्च बोसोयुक्त आहारका कारण कलेजोमा बोसो जम्ने र सूजन हुने अवस्था, जसलाई स्टियाटोटिक लिभर डिजिज भनिन्छ, विकसित हुन सक्छ। दीर्घकालमा यसले कलेजो सिरोसिस, कलेजो फेल हुने अवस्था र अन्ततः क्यान्सर सम्म पुर्याउन सक्छ।
अनुसन्धानका क्रममा मुसालाई उच्च बोसोयुक्त आहार खुवाएर कलेजोका कोशिकामा हुने जीन अभिव्यक्ति परिवर्तन अध्ययन गरिएको थियो। सुरुका चरणमा कोशिकाले बाँच्न सहयोग गर्ने जीन सक्रिय भए भने सामान्य कलेजो कार्यका लागि आवश्यक जीन क्रमशः निष्क्रिय हुँदै गएको पाइयो। अध्ययन अन्त्य सम्म उच्च बोसोयुक्त आहारमा रहेका प्रायः सबै मुसामा कलेजो क्यान्सर विकास भएको थियो।
मानिसमा पनि यस्तै प्रक्रिया देखिएको अनुसन्धानकर्ताको निष्कर्ष छ। कलेजो रोगका विभिन्न चरणमा रहेका बिरामीका नमुनामा गरिएको विश्लेषणले सामान्य कलेजो कार्य सम्बन्धी जीन घट्दै जाने र अपरिपक्व अवस्थासँग सम्बन्धित जीन बढ्दै जाने देखाएको छ। यस्ता जीन अभिव्यक्तिका आधारमा बिरामीको जीवित रहने सम्भावना समेत अनुमान गर्न सकिने अध्ययनले जनाएको छ ।
अनुसन्धानकर्ताका अनुसार मुसामा क्यान्सर एक वर्ष भित्र विकसित भए पनि मानिसमा यो प्रक्रिया करिब २० वर्षसम्म फैलिन सक्छ, जसमा आहार, मदिरा सेवन र भाइरल सङ्क्रमण जस्ता कारकले प्रभाव पार्छन्।
अब अनुसन्धान टोलीले आहार सुधार वा तौल घटाउने औषधि मार्फत यी परिवर्तन उल्ट्याउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा थप अध्ययन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस