अनुसन्धान

३५ वर्ष पछि शारीरिक क्षमता घट्न थाल्छ ? शरीरको महत्वपूर्ण मोड


मानिसको शारीरिक फिटनेस, शक्ति र मांसपेशीको सहन शक्ति करिब ३५ वर्षको उमेरमा उच्चतम बिन्दुमा पुग्ने र त्यस पछि क्रमशः घट्न थाल्ने स्वीडेनका वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्।

करोलिन्स्का इन्स्टिच्युटले करिब ४७ वर्ष सम्म गरेको दीर्घकालीन अध्ययनले उमेर सँगै शरीरमा देखिने जैविक परिवर्तन बारे स्पष्ट संकेत दिएको हो।

यो अध्ययन ‘जर्नल अफ क्यासेक्सिया, सार्कोपेनिया एन्ड मसल’ मा प्रकाशित छ जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ । अध्ययन अनुसार ३५ वर्ष पछि शारीरिक क्षमतामा कमी सुरु हुन्छ। सुरुमा यो प्रक्रिया सुस्त देखिए पनि उमेर बढ्दै जाँदा गिरावटको दर तीव्र बन्दै जाने अध्ययनले देखाएको छ।

३५ वर्ष उमेरको महत्वपूर्ण चरण

अनुसन्धानकर्ताहरूका अनुसार ३५ वर्षको उमेरमा मानिसको फिटनेस र मांसपेशी शक्ति आफ्नो ‘पीक’ (चरम बिन्दु) अवस्थामा हुन्छ। त्यस पछि नियमित व्यायाम गरे पनि शरीरको समग्र क्षमतामा केही न केही ह्रास देखिन थाल्छ। यद्यपि, यो गिरावट सबैमा समान हुँदैन र जीवनशैलीले ठूलो भूमिका खेल्ने अध्ययनको निष्कर्ष छ।

व्यायाम कहिल्यै व्यर्थ हुँदैन

अध्ययनले एउटा सकारात्मक तथ्य पनि उजागर गरेको छ। वयस्क अवस्थामा शारीरिक गतिविधि सुरु गर्ने व्यक्तिहरूमा ५ देखि १० प्रतिशत सम्म शारीरिक क्षमतामा सुधार देखिएको छ। यसले व्यायाम सुरु गर्न ढिलो भइसकेको भन्ने धारणा गलत रहेको संकेत गर्छ।

अध्ययनकी प्रमुख लेखक तथा करोलिन्स्का इन्स्टिच्युटको ‘डिपार्टमेन्ट अफ लेबोरेटरी मेडिसिन’की लेक्चरर मारिया वेस्टरस्टाहल भन्छिन्, ‘शारीरिक गतिविधि सुरु गर्न कहिल्यै ढिलो हुँदैन। व्यायामले उमेरसँगै आउने कमी लाई पूर्ण रूपमा रोक्न नसके पनि त्यसको गति भने कम गर्न सक्छ।’

उनका अनुसार वैज्ञानिकहरू अहिले किन ३५ वर्षको उमेरमा शारीरिक क्षमता उच्चतम बिन्दुमा पुग्छ र व्यायामले किन गिरावटलाई पूर्ण रूपमा रोक्न सक्दैन भन्ने विषयमा थप अनुसन्धान गरिरहेका छन्।

किन महत्वपूर्ण छ यो अध्ययन?

यो तथ्य ‘स्वीडिस फिजिकल एक्टिभिटी एन्ड फिटनेस स्टडी’ (एसपीएएफ) बाट प्राप्त भएको हो। करिब पाँच दशकसम्म एउटै समूहका व्यक्तिहरूलाई निरन्तर अनुगमन गरिएको यो अध्ययन विश्वमै सीमित संख्यामा भएका दीर्घकालीन अनुसन्धानमध्ये एक हो।

अनुसन्धानमा १६ देखि ६३ वर्ष उमेर समूहका सयौं पुरुष र महिलालाई समावेश गरिएको थियो। यसअघि प्रायः अध्ययनहरू फरक-फरक समूहमा सीमित हुने ‘क्रस-सेक्सनल’ प्रकृतिका थिए। एसपीएएफ ले भने एउटै व्यक्तिको फिटनेस र शक्ति दशकौँसम्म बारम्बार मापन गरेर उमेर र शारीरिक क्षमताबीचको सम्बन्धलाई स्पष्ट रूपमा देखाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!