अनुसन्धान

पनीर सेवनले डिमेन्सियाको जोखिम १३% घटाउन सक्छ: अध्ययन


उच्च बोसो (फ्याट) र सोडियम (नुन) भएका पनीर स्वास्थ्यका लागि हानिकारक हुन्छन् भन्ने आम धारणा रहँदै आएको छ। तर स्वीडेनमा गरिएको एक दीर्घकालीन अध्ययनले यस धारणालाई चुनौती दिएको छ। अध्ययनका अनुसार उच्च फ्याट भएका केही डेयरी उत्पादन, विशेष गरी पनीरले डिमेन्सियाको जोखिम घटाउन सहयोग गर्न सक्छन्।

स्वीडेनको लुन्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको यो अध्ययन प्रतिष्ठित जर्नल न्यूरोलोजी मा प्रकाशित भएको हो, 👉 जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

अध्ययनमा २७ हजार ६७० व्यक्तिको स्वास्थ्य विवरण विश्लेषण गरिएको थियो। अध्ययन सुरु हुँदा सहभागीहरूको औसत उमेर ५८ वर्ष थियो। उनीहरूलाई औसत २५ वर्ष सम्म पछ्याइएको थियो। यस अवधिमा ३ हजार २०८ जनामा डिमेन्सिया विकास भएको पाइयो।

अध्ययन नतिजा अनुसार उच्च फ्याट भएका पनीर, जस्तै चेडर, ब्री र गौडा, बढी मात्रामा सेवन गर्नेहरूमा डिमेन्सियाको जोखिम कम देखिएको छ। कम पनीर खानेहरूको तुलनामा बढी हाई फ्याट पनीर सेवन गर्नेहरूमा डिमेन्सियाको जोखिम १३ प्रतिशत कम थियो।

डिमेन्सियाका प्रकार छुट्याएर हेर्दा, हाई फ्याट पनीर खाने व्यक्तिमा भास्कुलर डिमेन्सियाको जोखिम झन्डै २९ प्रतिशत सम्म कम पाइएको छ।

पनीर मात्र होइन, दैनिक रूपमा उच्च फ्याट क्रीम (जस्तै ह्विपिङ क्रीम र क्लटेड क्रीम) सेवन गर्नेहरूमा पनि डिमेन्सियाको जोखिम १६ प्रतिशत कम देखिएको अध्ययनले जनाएको छ।

अल्जाइमर रोगका सन्दर्भमा पनि अध्ययनले महत्वपूर्ण तथ्य प्रस्तुत गरेको छ। उच्च फ्याट भएको पनीर सेवनले अल्जाइमरको जोखिम घट्न सक्ने देखिए पनि यो लाभ एपिओइ-ई४ (APOE-e4) जीन भेरियन्ट नभएका व्यक्तिमा मात्र देखिएको छ। यो जीन अल्जाइमर रोगको प्रमुख आनुवंशिक जोखिम कारक मानिन्छ।

तर अध्ययनमा लो फ्याट डेयरी उत्पादनबाट यस्तै लाभ देखिएको छैन। लो फ्याट पनीर, लो  फ्याट क्रीम, दूध (हाई वा लो फ्याट), मक्खन तथा दही, छाछ, केफिर जस्ता फरमेन्टेड डेयरी उत्पादनको सेवन र डिमेन्सिया बीच कुनै स्पष्ट सम्बन्ध नदेखिएको लुन्ड विश्वविद्यालय की अनुसन्धानकर्ता एमिली सोनस्टेटले बताएकी छन्।

उनका अनुसार सबै डेयरी उत्पादन मस्तिष्क स्वास्थ्यका लागि समान हुँदैनन् भन्ने संकेत यस अध्ययनले दिएको छ। यद्यपि, यो अध्ययनले पनीर सेवन र डिमेन्सिया बीचको सम्बन्ध मात्र देखाएको हो, प्रत्यक्ष कारण परिणाम प्रमाणित नगरेको स्पष्ट पारिएको छ ।अनुसन्धानकर्ताले यस विषयमा थप अध्ययन आवश्यक रहेको बताएका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!