विश्व मधुमेह दिवस : जीवनका सबै चरणमा मधुमेह नियन्त्रणको आह्वान


काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण पूर्वी एशिया क्षेत्रका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहेमेले विश्व मधुमेह दिवसको अवसरमा जीवनका सबै चरणमा मधुमेहको रोकथाम र व्यवस्थापनलाई प्राथमिकता दिन आह्वान गरेकी छिन ।

डा. बोहेमेका अनुसार दक्षिण पूर्वी एशिया क्षेत्रमा करिब २७ करोड ९० लाख वयस्क मधुमेहका रोग सँग बाँचिरहेका छन्, जुन विश्वको एक तिहाइ भार बराबर हो। तर ती मध्ये धेरै जसो व्यक्तिहरूको रोग न त पहिचान भएको छ, न उपचार पाएका छन्, न त ब्लड सुगर नियन्त्रणमा छ।

‘हाम्रो क्षेत्रमा मधुमेह भएका तीन वयस्कमध्ये केवल एक जनाले मात्र उपचार पाउँछन्, र १५ प्रतिशतभन्दा कम व्यक्तिको ब्लड सुगर प्रभावकारी रूपमा नियन्त्रणमा छ,’ उनले बताइन् ।

यस वर्षको नारा अनुसार ‘जीवनका सबै चरणमा मधुमेह’, भन्ने विषयमा केन्द्रित रहँदै डब्ल्यूएचओले हरेक उमेरका व्यक्तिलाई समान पहुँच र सहायक वातावरणका माध्यमबाट मधुमेह व्यवस्थापन गर्न सकिने नीतिहरू लागू गर्न जोड दिएको छ।

डा. बोहेमेले बालबालिका देखि गर्भवती महिला र वृद्धहरू सम्मका समूहका लागि फरक फरक तरिकाले उपचार र सहयोग आवश्यक हुने बताइन् । उनका अनुसार, बालबालिकाले विद्यालय र घरमा समयमै सहयोग पाए बढ्न र सिक्न सक्छन । गर्भावस्थामा मधुमेह नियन्त्रणले आमा र शिशु दुवैको स्वास्थ्य सुरक्षित राख्छ र वृद्ध व्यक्तिहरूका लागि निरन्तर उपचार र जानकारी अत्यावश्यक हुन्छ।

डा. बोहेमेले थप बताइन, ‘टाइप–१ मधुमेह हालसम्म रोकथाम गर्न सकिँदैन, तर राम्रो व्यवस्थापन सम्भव छ। टाइप–२ मधुमेह भने नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, धूम्रपान र मद्यपानबाट टाढा रहँदा रोकथाम गर्न सकिन्छ।’

दक्षिण पूर्वी एशिया क्षेत्रमा मधुमेह नियन्त्रणका लागि पछिल्ला वर्षहरूमा ठूला पहलहरू भएका छन्। सन् २०२३ मा सदस्य राष्ट्रहरूले  ‘सीहार्ट्स’ नामक क्षेत्रीय निर्णय मार्फत प्राथमिक स्वास्थ्य सेवामा डब्ल्यूएचओको ‘हार्ट्स’ प्रविधिक प्याकेज लागू गर्दै हृदयघात तथा मधुमेह नियन्त्रणलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए। त्यसै गरी, सन् २०२४ मा ‘कोलम्बो कॉल फर एक्शन’ अनुमोदन गर्दै सबै नागरिकलाई सस्तो र गुणस्तरीय उपचार सुनिश्चित गर्न ठोस कदम चालिएको बताइएको छ।

हाल अधिकांश सदस्य राष्ट्रहरूले प्रमाणमा आधारित औषधि र मात्रा अनुसारका उपचार प्रोटोकल तयार पारेका छन् र कम्तीमा एउटा हाइपोग्लाइसेमिक औषधि स्वास्थ्य संस्थामा उपलब्ध गराएका छन्। डा. बोहेमेका अनुसार, हाल सम्म क्षेत्रका करिब ३करोड ३० लाख ३ मानिस सार्वजनिक स्वास्थ्य संस्था मार्फत प्रोटोकल आधारित मधुमेह व्यवस्थापनमा समावेश भएका छन्।

विश्व मधुमेह दिवसको अवसरमा उनले सरकार, स्वास्थ्यकर्मी, गैर सरकारी संस्था र समुदाय सबैलाई मधुमेह नियन्त्रणका प्रयासहरू दोब्बर बनाउन आह्वान गरिन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!