अनुसन्धान
डार्क चकलेट र बेरी (जामुन)ले स्मरण शक्ति बढाउन र तनाव घटाउन सहयोग पुर्याउँछ
थोरै डार्क चकलेट वा केही बेरी (जामुन) खानु केवल स्वादको लागि मात्र होइन, मस्तिष्क स्वास्थ्यका लागि पनि फाइदाजनक हुन सक्छ। जापानको शिबाउरा इन्स्टिच्युट अफ टेक्नोलोजी द्वारा गरिएको नयाँ अध्ययनका अनुसार, यी खाद्य पदार्थहरूले स्मरणशक्ति सुधार्ने र तनाव घटाउने असर देखाएका छन्।
करन्ट रिसर्च इन फूड साइन्स जर्नलमा यो अनुसन्धान प्रकाशित भएको छ, जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ । उक्त अध्ययनले चकलेट र बेरीमा पाइने फ्लाभानोल नामक यौगिक मस्तिष्कको कार्य सम्पादन सुधार्न, स्मरण शक्ति बढाउन र व्यायामबाट प्राप्त हुने केही जैविक लाभहरू जस्तै असर देखाउन सक्षम भएको बताएको छ।
अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. यासुयुकी फुजीका अनुसार, फ्लाभानोल सेवनले शरीरमा हल्का ‘स्ट्रेस प्रतिक्रिया’ उत्पन्न गर्छ, जसले केन्द्रीय स्नायु प्रणालीलाई सक्रिय पार्दै ध्यान, जागरूकता र स्मरण शक्ति सुधार गर्छ। उनकाे शब्दमा, ‘फ्लाभानोलले उत्पन्न गर्ने तनाव प्रतिक्रिया व्यायामले हुने प्रभाव जस्तै हो। त्यसैले यसको सन्तुलित सेवनले समग्र स्वास्थ्य र जीवन स्तरमा सुधार ल्याउन सक्छ।’
अध्ययनमा १० साताका मुसामा नियन्त्रणित मात्रामा फ्लाभानोल दिइएको थियो। नतिजामा, फ्लाभानोल पाएका मुसामा बढी गतिविधि, जिज्ञासा, सिकाइ र स्मरण शक्ति देखियो।
अनुसन्धानले मस्तिष्कका विभिन्न भागहरूमा डोपामिन र नोरएपिनेफ्रिन जस्ता न्यूरोट्रान्समिटरहरूको सक्रियता बढेको पनि पत्ता लगायो, जसले मोटिभेसन, ध्यान र तनाव नियमनमा महत्वपूर्ण भूमिका खेल्छन्।
त्यसैगरी, नोरएड्रेनालिन उत्पादन र प्रसारणमा संलग्न इन्जाइमहरू बढी सक्रिय देखिए, जसले मस्तिष्कको तनाव प्रतिक्रिया प्रणालीलाई बलियो बनाएको संकेत दिएको छ।
जैव रासायनिक परीक्षणहरूले मस्तिष्कको हाइपोथालामिक पाराभेण्ट्रिकुलर न्युक्लियस (पिभीएन) क्षेत्र बढी सक्रिय भएको र तनावका बेला स्राव हुने काटेकोलामिन हर्मोनको मात्रा पनि बढेको पुष्टि गरे।
यी निष्कर्षहरूले देखाउँछन् कि डार्क चकलेट र बेरी जस्ता फ्लाभानोलयुक्त खानेकुरा सन्तुलित मात्रामा सेवन गर्दा मस्तिष्कको कार्य क्षमता सुधार्ने र तनाव नियन्त्रण गर्ने प्राकृतिक उपाय बन्न सक्छन । स्वादका साथ स्वास्थ्यका लागि पनि लाभदायक।

प्रतिक्रिया दिनुहोस