अनुसन्धान
पेटभित्र हाइड्रोजन ग्यासको भूमिकाबारे नयाँ अध्ययन
 
	
                                            मेलबर्नका वैज्ञानिकहरूले मानव पेटमा हाइड्रोजन कसरी बन्ने र प्रयोग हुने हो भन्ने बारे नयाँ जानकारी सार्वजनिक गरेका छन । पहिले पेट को ग्यास (फार्ट/पा*द्नु) सँग सम्बन्धित हास्यको विषय मानिने हाइड्रोजन वास्तवमा पेटको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्ने तथ्य अध्ययनले देखाएको छ ।
यो अनुसन्धान नेचर माइक्रोबायोलोजी पत्रिकामा प्रकाशित भएको छ जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ। मोनाश विश्वविद्यालय र हडसन इन्स्टिट्युट अफ मेडिकल रिसर्चका अनुसन्धानकर्ताहरूले अन्तर्राष्ट्रिय टोलीको नेतृत्व गर्दै पेट भित्र रहेका सूक्ष्मजीवहरूले हाइड्रोजनको मात्रा कसरी नियन्त्रण गर्छन् भन्ने बारे अध्ययन गरेका हुन्।
हाइड्रोजन ग्यास हाम्रो शरीरमा तब उत्पादन हुन्छ जब आन्द्रामा रहेका ब्याक्टेरियाले हाम्रो खानामा बाँकी रहेका कार्बोहाइड्रेटलाई फर्मेन्ट गर्छन्। यस ग्यासको केही भाग सास सँगै बाहिर निस्कन्छ, केही अन्य ब्याक्टेरियाले पुनः प्रयोग गर्छन, र बाँकी भाग अपा*न वायु (पा*द) को रूपमा बाहिर निस्कन्छ।
मोनाश विश्वविद्यालय र हडसन इन्स्टिट्युटकी अनुसन्धानकर्ता डा. केटलिन वेल्सका अनुसार, ‘सामान्यतया मानिसले दैनिक झन्डै एक लिटर ग्यास निकाल्छन्, जसको आधा हाइड्रोजन हुन्छ। तर हाइड्रोजन केवल ग्यासको कारण होइन, यो त पेट स्वास्थ्यको एउटा अदृश्य चालक हो,’ उनले भनिन्। वेल्सका अनुसार हाइड्रोजनले पेट भित्रका लाभदायी ब्याक्टेरियालाई वृद्धि गर्न सहयोग गर्छ र पाचन प्रक्रियालाई सहज बनाउँछ।
अनुसन्धान टोलीका वरिष्ठ सह लेखक प्रा. क्रिस ग्रिनिङले भने, ‘पेट भित्र ग्यास बन्नु स्वाभाविक प्रक्रिया हो। जब ब्याक्टेरियाले खाना पचाउँछन्, त्यति बेला ठूलो मात्रामा हाइड्रोजन उत्पादन हुन्छ र अरू सूक्ष्म जीवहरूले त्यसलाई ऊर्जाका रूपमा प्रयोग गर्छन ।’
तर अत्यधिक हाइड्रोजन उत्पादन पेट सम्बन्धी समस्याको संकेत पनि हुन सक्छ। असामान्य हाइड्रोजन स्तर संक्रमण, पाचन गडबडी वा क्यान्सर सँग पनि सम्बन्धित देखिएको छ। यस्तै कारणले हाइड्रोजन सास परीक्षण पेट स्वास्थ्य मूल्याङ्कनका लागि प्रयोग गरिन्छ।
टोलीका अर्को वरिष्ठ सह लेखक एसोसिएट प्राध्यापक स्याम फोर्स्टरका अनुसार, हाइड्रोजनका यी नयाँ भूमिका बुझ्नाले भविष्यमा आन्द्रा सम्बन्धी रोगको उपचारका लागि नयाँ सम्भावना खुल्न सक्छ।
उनका अनुसार, ‘फिकल ट्रान्सप्लान्ट देखि प्रोबायोटिक्स र जीवित बायोथेराप्युटिक्स सम्मका उपचारहरू विकास भइरहेका छन्, तर ती कसरी र किन प्रभावकारी छन भन्ने अझै पूर्ण रूपमा बुझिएको छैन। यी प्रणालीहरूको कार्य विधि बुझ्न सके नयाँ उपचारका अवसरहरू खुल्नेछन ।’
अध्ययनले के पत्ता लगायो
अनुसन्धानले ‘ग्रूप बि (फिफी) हाइड्रोजनेज’ नामक विशेष इन्जाइम पेटमा हाइड्रोजन उत्पादनका लागि मुख्य जिम्मेवार रहेको देखायो। यो इन्जाइम धेरै प्रकारका पेट ब्याक्टेरियामा पाइन्छ र निकै सक्रिय हुन्छ।
अनुसन्धानकर्ताहरूले मानवको मल र आन्द्राका नमुनामा आधारित अध्ययन मार्फत पत्ता लगाए कि यो इन्जाइम ब्याक्टेरियाको वृद्धि र हाइड्रोजन उत्पादनमा सहयोग गर्छ। उनीहरूले देखे कि स्वस्थ व्यक्तिहरूमा यो इन्जाइम प्रशस्त पाइन्छ, तर क्रोहन डिजीज भएका व्यक्तिहरूमा यसको मात्रा घटेको हुन्छ र अन्य प्रकारका हाइड्रोजन उत्पादन गर्ने इन्जाइमहरू बढी हुन्छन्।
यो अध्ययनले पेट भित्रको सूक्ष्म संसारमा हाइड्रोजनको गहिरो भूमिका देखाउँदै भविष्यमा पेट सम्बन्धी रोगहरूको उपचार र निदानका नयाँ बाटा खोल्ने सम्भावना प्रस्तुत गरेको छ।

 
                            
                             
				 
				 
				 
				 
				 
				 
				 
				
प्रतिक्रिया दिनुहोस