विश्व भर १ अर्बभन्दा बढी मानिस मानसिक स्वास्थ्य समस्यामा, यसले विश्व अर्थतन्त्रलाई करिब १४०९७०००००००००० रुपैयाँ को घाटा

काठमाडौं-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार विश्व भर १ अर्ब भन्दा बढी मानिस विभिन्न मानसिक स्वास्थ्य समस्यामा पीडित छन्। चिन्ता र डिप्रेसन जस्ता समस्या अत्यधिक देखिएका छन्, जसले व्यक्तिगत जीवन मात्र नभई विश्व अर्थतन्त्र मै ठूलो असर पारेको छ।
डब्लुएचओ को अनुसार मानसिक स्वास्थ्य समस्या सबै उमेर र वर्गका मानिसमा देखिन्छ। यस्ता समस्या दीर्घकालीन अपाङ्गताको दोस्रो प्रमुख कारण बनेका छन्। यसले उपचार खर्च बढाउने मात्र होइन, काम गर्ने क्षमतामा ठूलो ह्रास ल्याएर वर्षेनी विश्व अर्थतन्त्रलाई करिब १ ट्रिलियन अमेरिकी डलर (१४०९७०००००००००० रुपैयाँ) को घाटा पुर्याइरहेको छ।
सन् २०२१ मा मात्रै करिब ७ लाख २७ हजार मानिसले आत्महत्या गरेका थिए। आत्महत्या अझै पनि विश्व भर युवा माझ मृत्युको प्रमुख कारण मध्ये एक बनेको छ।
संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म आत्महत्या दर एक तिहाइले घटाउने लक्ष्य राखे पनि हाल सम्मको प्रगति निकै सुस्त छ र लक्ष्य पुरा हुने सम्भावना न्यून देखिएको छ।
डब्लुएचओं का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले मानसिक स्वास्थ्य सेवामा तत्काल सुधार आवश्यक रहेको उल्लेख गर्दै भने, ‘मानसिक स्वास्थ्यमा लगानी गर्नु भनेको मानिस, समुदाय र अर्थतन्त्रमा लगानी गर्नु हो। यो कुनै पनि देशले बेवास्ता गर्न नसक्ने कुरा हो। मानसिक स्वास्थ्य लाई विशेषाधिकार होइन, सबैको मौलिक अधिकारको रूपमा सुनिश्चित गर्न सरकारले तत्काल कदम चाल्नुपर्छ।’
हालै सार्वजनिक गरिएको ‘वर्ड मेन्टल हेल्थ टूडे’ र ‘मेन्टल हेल्थ एटलस २०२४’ नामक दुई प्रतिवेदनले विश्व भर मानसिक स्वास्थ्य सम्बन्धी नीतिमा केही सुधार भए पनि अझै ठूलो खाडल रहेको देखाएका छन्।
प्रतिवेदनअनुसार धेरै देशहरूले मानसिक स्वास्थ्य नीति अद्यावधिक गरेका छन् र स्वास्थ्य आपतकालीन अवस्थामा मनो सामाजिक सहयोग उपलब्ध गराउने अभ्यास बढाएका छन्। तर कानुनी सुधारको गति भने निकै सुस्त छ। विश्वका आधाभन्दा कम मुलुकले मात्र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्ड अनुसारका कानुन ल्याएका छन्।
त्यसै गरी, मानसिक स्वास्थ्यमा सरकारी लगानी अझै पनि न्यून छ। औसतमा स्वास्थ्य बजेटको २ प्रतिशत मात्रै मानसिक स्वास्थ्यमा खर्च भइरहेको छ, जुन सन् २०१७ यताकै स्तरमा अड्किएको हो। धनी मुलुकहरूले प्रति व्यक्ति ६५ अमेरिकी डलर सम्म खर्च गर्दा गरिब मुलुकले ०.०४ डलर मात्र खर्च गरेका छन्।
मानव संसाधनको अवस्था पनि चिन्ताजनक देखिएको छ। विश्वभर औसतमा १ लाख जनसंख्यामा १३ जना मात्र मानसिक स्वास्थ्यकर्मी छन्। कम तथा मध्यम आय भएका देशहरूमा यो संख्या अझै न्यून छ। त्यस्तै, समुदाय आधारित उपचार सेवाको विस्तार पनि सुस्त छ। हाल सम्म १० प्रतिशत भन्दा कम देशहरूले मात्र पूर्ण रूपमा यस्तो मोडेल अपनाएका छन् भने अझै पनि धेरै देशहरू मानसिक अस्पतालमै निर्भर छन्।
डब्लुएचओ का प्रतिवेदनले उच्च आय भएका मुलुकमा आधा भन्दा बढी मानिसले उपचार पाउने गरेको भए पनि न्यून आय भएका देशमा १० प्रतिशत भन्दा कमले मात्रै सेवा पाउने गरेको तथ्य सार्वजनिक गरेको छ। यसले विश्व भर मानसिक स्वास्थ्य सेवामा पहुँचमा ठूलो असमानता रहेको देखाउँछ।
तर केही सकारात्मक संकेतहरू पनि देखिएका छन्। अधिकांश देशले विद्यालयमा मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम र बालबालिकाको प्रारम्भिक विकास जस्ता कार्यक्रम सञ्चालन गरेका छन्।
स्वास्थ्य आपतकालीन अवस्थामा मानसिक सहयोग उपलब्ध गराउने देशको संख्या सन् २०२० मा ३९ प्रतिशतबाट अहिले ८० प्रतिशत पुगेको छ। साथै, बाह्य बिरामी सेवा र टेलिहेल्थ सेवाहरू केही देशमा विस्तार हुँदै गएका छन्।
डब्लुएचओ ले सबै सरकारलाई मानसिक स्वास्थ्य प्रणालीलाई मौलिक स्वास्थ्य अधिकारको रूपमा विस्तार गर्न आग्रह गरेको छ। यसका लागि पर्याप्त लगानी, मानवअधिकार मैत्री कानुनी सुधार, स्वास्थ्यकर्मीको संख्या बढाउने र समुदाय आधारित उपचार प्रणालीलाई प्राथमिकता दिनुपर्ने संगठनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस