अनुसन्धान

दैनिक ७,००० कदम हिँड्दा क्यान्सर, मधुमेह, डिप्रेशन र डिमेन्सिया जस्ता रोगको जोखिम कम हुने


काठमाडौं – विश्वकै प्रतिष्ठित जर्नल ‘द लैंसेट पब्लिक हेल्थ’ मा प्रकाशित एक नयाँ अध्ययनले दैनिक ७,००० कदम हिँड्दा धेरै गम्भीर रोगहरूको जोखिम उल्लेखनीय रूपमा घट्ने देखिएको छ ।

यो अध्ययनमा ५७ वटा फरक फरक अध्ययनहरूको विश्लेषण गरियो,  जसमा १ लाख ६० हजार भन्दा बढी वयस्कको स्वास्थ्य तथ्यांक समेटिएको थियो ।

अनुसन्धान अनुसार, दिनमा ७,००० पाइला हिँड्दा निम्न रोगहरूको जोखिम यति प्रतिशतले घट्ने देखिएको छ ।

  • मुटु रोग – २५%
  • क्यान्सर – ६%
  • टाइप २ मधुमेह – १४%
  • डिमेन्सिया – ३८%
  • डिप्रेशन – २२%
  • लडेरे हुने चोट पटक – २८%
  • मृत्युको समग्र जोखिम पनि झण्डै ५० प्रतिशत सम्म कम हुने

कम सक्रिय मानिसका लागि व्यावहारिक लक्ष्य

हाल सम्म १०,००० कदम दैनिक हिँड्नु पर्ने सामान्य मान्यता रहँदै आएको भए पनि अध्ययनकर्ताहरूले ७,००० कदम नै पर्याप्त हुने र खास गरी कम शारीरिक रूपमा सक्रिय मानिसहरूका लागि यो लक्ष्य व्यावहारिक हुने बताएका छन्।

सिड्नी युनिभर्सिटीको चार्ल्स पर्किन्स सेन्टरका प्रोफेसर डिङ डिङका अनुसार, ‘१०,००० कदम सक्रिय जीवन शैली अपनाउने मानिसहरूका लागि उपयुक्त हुन सक्छ, तर ७,००० कदम हिँड्दा पनि उल्लेखनीय स्वास्थ्य लाभ पाइन्छ।’

अध्ययनमा उल्लेख गरिए अनुसार, दिनमा केवल ४,००० कदम हिँड्दा पनि २,००० कदमको तुलनामा बढी फाइदा हुने देखिएको छ। यद्यपि, हृदय रोगको सन्दर्भमा ७,००० भन्दा बढी कदममा अझ बढी लाभ हुने सम्भावना देखिएको छ। तर धेरै जसो रोगमा लाभ यो स्तरमा स्थिर भइहाल्छ।

सार्वजनिक स्वास्थ्यका लागि उपयोगी सन्देश

अनुसन्धानकर्ताहरूले अध्ययनका केही सीमाहरू पनि स्वीकार गरेका छन् । क्यान्सर र डिमेन्सिया सम्बन्धी अध्ययन सीमित,  उमेर सँग जोडिएको विशिष्ट विश्लेषणको कमी हुँदा केही सीमितता रहेको जनाइएको छ। तर समग्रमा यो अध्ययनले दिनहुँ ‘कदम गन्ने’ अभ्यासलाई शारीरिक सक्रियता नाप्ने सरल र व्यवहारिक उपायका रूपमा प्रस्तुत गरेको छ।

अनुसन्धानकर्ता को अनुसार, यस्तो सरल तर प्रभावकारी अभ्यासले भविष्यमा सार्वजनिक स्वास्थ्य सम्बन्धी दिशा निर्देश निर्माणमा योगदान पुर्‍याउन सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!