अनुसन्धान

मोटोपनको मुख्य कारण उच्च क्यालोरीयुक्त खाना : अध्ययन


विश्व भरमा बढ्दो मोटोपन मानव स्वास्थ्यका लागि चिन्ताको विषय बन्दै गएको छ। यसले अनेकौं रोगहरूको जोखिम बढाइरहेको छ। यसै सन्दर्भमा गरिएको एक अध्ययन अनुसार, शारीरिक गतिविधिमा कमी मात्र होइन, अत्यधिक क्यालोरीयुक्त खानेकुरा मोटोपन बढाउने प्रमुख कारण हो।

धेरै विशेषज्ञहरूले औद्योगिकीकरणका कारण मानिसहरूको दैनिक गतिविधिमा आएको कमीलाई मोटोपनको मूल कारणका रूपमा व्याख्या गर्दै आएका छन्। तर, अमेरिकाको ड्युक विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको नयाँ निष्कर्षले फरक तस्बिर देखाएको छ।

ड्युक विश्वविद्यालयको विकासात्मक मानवशास्त्र विभागका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर हर्मन पोट्जरका अनुसार, धनी राष्ट्रहरूमा मानिसहरूले दैनिक रूपमा उस्तै वा अझ बढी ऊर्जा खर्च गर्छन्। यसले देखाउँछ कि मोटोपनको मुख्य कारण शारीरिक गतिविधिमा कमी नभएर खानपानको शैलीमा आएको परिवर्तन हो।

पीएनएएस नामक पत्रिकामा प्रकाशित अध्ययनमा अनुसन्धानकर्ताहरूले विश्वका ६ महादेशमा रहेका ३४ फरक समूहका १८ देखि ६० वर्ष उमेर समूहका ४,२०० भन्दा बढी वयस्कहरूको दैनिक ऊर्जा खपत, शरीरमा बोसोको प्रतिशत र बडी मास इन्डेक्स (बीएमआई) को विश्लेषण गरेका थिए।

अध्ययन अनुसार, आर्थिक विकाससँगै समग्र ऊर्जा खपतमा थोरै गिरावट देखिए पनि, त्यो मात्रले शरीरमा बोसोको वृद्धिलाई पूर्ण रूपमा स्पष्ट पार्न सक्दैन।

ड्युक विश्वविद्यालयमा पोस्टडक्टोरल अनुसन्धानकर्ता अमान्डा म्याकग्रोस्कीका अनुसार, आर्थिक विकाससँगै शरीरमा बोसो बढ्नका लागि खानपानको स्वरूप परिवर्तन जस्तो अन्य कारणहरू जिम्मेवार छन्। हाल उनी येल विश्वविद्यालयमा जीवविज्ञान की सहायक प्रोफेसर हुन्।

तर, यस अध्ययनको निष्कर्षले शारीरिक गतिविधिको महत्त्वलाई कम गर्ने होइन, बरु खानपान र व्यायाम दुवैलाई समान रूपमा प्राथमिकता दिनुपर्ने कुरामा जोड दिएको छ।

अनुसन्धानमा उल्लेख गरिएअनुसार, ‘खानपान र व्यायाम एक अर्काका विकल्प होइनन्, ती आवश्यक र पूरक हुन्।’

अब अनुसन्धान टोली विकसित र विकासोन्मुख देशहरूमा कुन प्रकारको खानाले मोटोपन बढाउने जोखिम बढी उत्पन्न गर्छ भन्नेबारे पहिचान गर्न काम गर्दैछ।

साथै, अस्वास्थ्यकर खानपान, गतिहीन जीवनशैली, अनुवांशिक कारण, केही चिकित्सकीय अवस्थाहरू, तनाव, अवसाद, अत्यधिक चिनी, नुन र बोसोयुक्त जंक फुडको सेवन, निद्राको कमी र प्रदूषित वातावरण पनि मोटोपनका थप कारणहरू हुन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!