युवाहरूको मानसिक स्वास्थ्य सुधारका लागि जैविक घडी लक्षित गर्न सकिने : अध्ययन

मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त युवाहरूको मूड सुधार गर्न जैविक घडीलाई लक्षित गर्न सकिने नयाँ अध्ययनले देखाएको छ।
अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार सर्केडियन रिदम अर्थात् शरीरको २४ घण्टे जैविक चक्रलाई सन्तुलित बनाएर मूड सम्बन्धी विकारको उपचारमा सहयोग पुर्याउन सकिन्छ।
यो अनुसन्धान पहिलो पटक यस्तो प्रमाण सहित आएको हो जसमा मानसिक विकार भएका व्यक्तिहरूमा जैविक घडीका तीन प्रमुख पक्ष कसरी काम गर्छन् भन्ने बुझाइएको छ।
अनुसन्धान टोलीकी प्रमुख जोआने कार्पेटरका अनुसार, ‘हामीले सहभागीहरूका शरीरको तापमान, कार्टिसोल र मेलाटोनिन हार्मोनको स्तरको विश्लेषण गरेका थियौं, जसले सर्केडियन रिदमलाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेल्छ।’
मेलाटोनिन हार्मोनको स्तर राति अँध्यारो भए पछि बढ्ने र निद्राको तयारीमा सहयोग गर्ने जनाइएको छ भने, कार्टिसोल हार्मोनको स्तर बिहानको समयमा शरीरलाई सतर्क बनाउने कार्यमा सक्रिय हुन्छ। त्यसै गरी, शरीरको तापमान पनि सर्केडियन चक्रसँग प्रत्यक्ष सम्बन्धित हुन्छ।
अध्ययन बायोलोजिकल रिदम जर्नलमा प्रकाशित भएको हो। १६ देखि ३५ वर्ष उमेर समूहका दुई फरक समूहमा गरिएको अध्ययनमा पहिलो समूहमा मूड सम्बन्धी विकार देखिएका ३०६ जना सहभागी थिए भने दोस्रो समूहमा मानसिक स्वास्थ्य समस्याको इतिहास नभएका ४८ जना सहभागी थिए।
अनुसन्धानका क्रममा सहभागीहरूको निद्रा अघि र निद्राबाट उठेपछि लिएको थुक (राल) नमुनाबाट मेलाटोनिन र कार्टिसोलको स्तर मापन गरियो। नतिजा अनुसार, मानसिक स्वास्थ्य समस्यामा रहेका सहभागी मध्ये करिब २३ प्रतिशतमा कम्तिमा दुईवटा सर्केडियन संकेतहरू आपसमा तालमेल मिलाउन असफल देखिए ।
अनुसन्धानकर्ताहरूका अनुसार, जैविक घडीको असन्तुलनले मानसिक स्वास्थ्यमा गहिरो असर पार्न सक्छ। त्यसैले, यसको पहिचान र सन्तुलन मार्फत मूड सम्बन्धी समस्याको दीर्घकालीन उपचारको सम्भावना बलियो देखिएको छ।
प्रतिक्रिया दिनुहोस