अनुसन्धान
जलवायु परिवर्तनले महिलामा क्यान्सरको जोखिम बढाउन सक्छ

जलवायु परिवर्तनको प्रभाव केवल वातावरणमै सीमित नरही, महिला स्वास्थ्यका लागि समेत खतरनाक बन्ने सम्भावना देखिएको छ। जलवायु परिवर्तनले महिलाहरूमा क्यान्सरको जोखिम बढाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ।
अध्ययन अनुसार विश्वव्यापी तापक्रम वृद्धि महिला स्वास्थ्यका लागि गम्भीर चुनौती बन्न सक्नेछ, विशेषगरी अण्डाशय, स्तन, गर्भाशय र सर्वाइकल क्यान्सरका मामिलामा।
यो अनुसन्धान फ्रन्टियर्स इन पब्लिक हेल्थ नामक जर्नलमा प्रकाशित भएको हो। अध्ययनकी प्रमुख लेखक, काहिरास्थित अमेरिकन युनिभर्सिटीकी वाफा अबुएलखैर मातरियाका अनुसार तापक्रम बढ्दै जाँदा महिलाहरूमा क्यान्सरका कारण मृत्यु दर समेत वृद्धि भएको पाइएको छ — विशेष गरी अण्डाशय र स्तन क्यान्सरको मामिलामा।
यो अध्ययन पश्चिम एशिया र उत्तर अफ्रिकामा गरिएको हो, जहाँ तापक्रममा तीन देखि चार डिग्री सेल्सियसको वृद्धि अन्य क्षेत्रको तुलनामा झण्डै तीन दशक अघि नै हुने अनुमान गरिएको छ।
अनुसन्धानकर्ताहरूले सन् १९९८ देखि २०१९ को बीचमा तापक्रम, क्यान्सरका केसहरू र मृत्यु दरको विश्लेषण गर्दा, स्तन, अण्डाशय, गर्भाशय र सर्वाइकल क्यान्सरका केसहरूमा सानो तर तथ्याङ्कीय रूपमा महत्वपूर्ण वृद्धि देखिएको उल्लेख गरेका छन्।
तापक्रममा हरेक एक डिग्री सेल्सियसको वृद्धिसँगै प्रति एक लाख मानिसमा क्यान्सरका १७३ देखि २८० नयाँ केस देखिएका छन्। त्यस्तै, मृत्यु दरमा १७१ देखि ३३२ केसको वृद्धि भएको पाइएको छ, जसमा अण्डाशय क्यान्सर सबैभन्दा बढी र सर्वाइकल क्यान्सर सबैभन्दा कम बढेको हो।
यद्यपि, वैज्ञानिकहरूले उचित स्क्रिनिङ र समयमै उपचार भएको खण्डमा मृत्यु दर घट्न सक्ने आशा व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस