अनुसन्धान
कम सुताइले मुटु रोगको जोखिम बढाउँछ

हृदयघात वा मुटु रोग केवल खराब खानपान बानीले मात्र हुँदैन। कम निद्रा पनि मुटु सम्बन्धी रोगहरूको कारण हुन सक्छ। केही रात मात्र पर्याप्त निद्रा नभए पनि मुटु रोगसँग सम्बन्धित सुन्याईजन्य (इन्फ्लामेट्री) प्रक्रिया सक्रिय बनाउने नयाँ वैज्ञानिक अध्ययनले देखाएको छ।
स्विडेनको उप्साला विश्वविद्यालयका अनुसन्धानकर्ता हरूले गरेको अध्ययनमा निद्राको कमीले शरीरमा उत्पादन हुने विशेष प्रकारका प्रोटिनहरूको मात्रा बढाउने निष्कर्ष निकालिएको छ, जुन मुटुको स्वास्थ्यमा नकारात्मक असर पुर्याउने संकेत हो।
उक्त अध्ययन बायोमार्कर रिसर्च जर्नलमा प्रकाशित गरिएको हो। अनुसन्धान टोलीको नेतृत्व चिकित्सक तथा उप्साला विश्वविद्यालयका डा. जोनाथन सेडरनेसले गरेका हुन्।
‘दुःखद रूपमा, झन्डै आधा स्विडेनी जनसंख्याले नियमित रूपमा निद्रामा बाधा अनुभव गर्छन्, जुन सिफ्टमा काम गर्नेहरूमा अझ बढी देखिन्छ,’ डा. सेडरनेसले भने, ‘हामीले निद्राको कमी कसरी मुटु रोगको जोखिम बढाउँछ भन्ने जैविक प्रक्रिया पहिचान गर्न खोज्यौं।’
निद्राको कमी र सुन्याई प्रोटिन बीचको सम्बन्ध
अनुसन्धानमा १६ जना स्वस्थ, सामान्य तौल भएका युवा पुरुष सहभागी थिए । जो सामान्य निद्रा तालिका पालन गर्नेहरू थिए। उनीहरूलाई सुताइसँग सम्बन्धित दुई फरक अवस्थामा राखियो ।
एक सत्रमा उनीहरूले लगातार तीन रात पर्याप्त निद्रा लिए भने अर्को सत्रमा हरेक रात केवल चार घण्टा जति मात्र सुत्न दिइयो। दुबै अवस्थामा बिहान र बेलुका रक्त नमुना संकलन गरियो साथै ३० मिनेटको उच्च तीव्रता युक्त व्यायाम पनि गराइयो।
रक्त परीक्षणमा सुन्न्याई सँग सम्बन्धित करिब ९० प्रकारका प्रोटिनहरूको मात्रामा विश्लेषण गरिएको थियो।
अनुसन्धानकर्ताहरूले पत्ता लगाए अनुसार, निद्राको कमी भएको अवस्थामा ती मध्ये धेरै प्रोटिनहरूको मात्रा उल्लेखनीय रूपमा वृद्धि भएको थियो। यी प्रोटिनहरू मुटु विफलता, कोरोनरी धमनी रोग जस्ता गम्भीर हृदय रोग सँग पहिले देखि नै सम्बन्धित छन्।
डा. सेडरनेसले भने, ‘पूर्वका अध्ययनहरूमा अधिक जोखिममा रहेका वृद्ध व्यक्तिहरू मा यस्तो सम्बन्ध देखाइएको थियो। तर, हाम्रो अध्ययनले देखाएको छ कि अल्पकालीन निद्राको कमीले पनि युवा र स्वस्थ व्यक्तिमा हानिकारक जैविक प्रभाव पार्न सक्छ। त्यसैले जीवनको सुरुवातदेखि नै पर्याप्त सुत्नुपर्छ भन्ने कुरा अझै स्पष्ट भएको छ।’
व्यायामले केही असर कम गर्न सक्छ, तर निद्राको विकल्प होइन
अध्ययनका अनुसार, निद्राको कमीका बाबजुद पनि व्यायाम पछि देखिने केही सकारात्मक प्रोटिनहरूको स्तरमा वृद्धि भएको थियो। यसले देखाउँछ कि व्यायामले निद्राको कमीबाट हुने केही असरहरू कम गर्न सक्छ।
यद्यपि, अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् कि व्यायामले निद्राको भूमिका पूर्ण रूपमा पूर्ति गर्न सक्दैन।
शरीरको मुटु प्रणालीमा व्यायामका धेरै फाइदाहरू हुन्छन्, तर निद्राले गर्ने विशिष्ट कार्यहरू छुट्टै छन्। यी दुवै जीवनशैलीका अभिन्न अंग हुन्,’ डा. सेडरनेसले बताए।
अझै विस्तृत अनुसन्धान आवश्यक
अनुसन्धानकर्ताहरूका अनुसार, अध्ययन हाल पुरुष र युवा व्यक्ति माथि मात्र केन्द्रित थियो। अब महिलाहरू, वृद्धहरू, मुटु रोग भएका बिरामीहरू तथा फरक सुताइ तालिका भएका व्यक्तिहरूमा यसको असर कस्तो हुन्छ भन्ने बुझ्न थप अनुसन्धान आवश्यक छ।
‘हामी भविष्यमा निद्रा, व्यायाम र अन्य जीवनशैलीसँग सम्बन्धित कारकहरूको संयोजनबाट मुटु रोगको जोखिम कसरी कम गर्न सकिन्छ भन्ने दिशामा अनुसन्धान गर्दैछौं,’ डा. सेडरनेसले अन्त्यमा भने।
प्रतिक्रिया दिनुहोस