श्री श्री रविशंकरलाई ‘वर्ल्ड लिडर फर पीस एन्ड सेक्युरिटी अवार्ड २०२५’ प्रदान


नयाँ दिल्ली (ब्युरो) – आध्यात्मिक गुरु श्री श्री रविशंकरलाई बोस्टन ग्लोबल फोरम र एआई वर्ल्ड सोसाइटीले ‘वर्ल्ड लिडर फर पीस एन्ड सेक्युरिटी अवार्ड २०२५’ प्रदान गरेका छन। यो पुरस्कार सन् २०१५ देखि २०२५ बीच विश्व शान्ति र सुरक्षाको क्षेत्रमा उल्लेखनीय योगदान दिएका व्यक्तित्वलाई दिइँदै आएको छ।

रविशंकरलाई यो सम्मान विश्वव्यापी शान्ति प्रवर्द्धन, पुनर्समाधान र मानवीय नेतृत्वका कारण प्रदान गरिएको हो। बोस्टन ग्लोबल फोरमले उनलाई ‘मित्र निर्माता, सम्बन्ध निर्माता र निःस्वार्थ भावले शान्तिको पुल निर्माण गर्ने नेता’ का रूपमा वर्णन गरेको छ।

गत दशकमा यो पुरस्कार जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबे, जर्मनीकी पूर्व चान्सलर एन्जेला मर्केल, संयुक्त राष्ट्रका पूर्व महासचिव बान की मुन र फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई पनि प्रदान गरिएको थियो।

श्री श्री रविशंकरले १८० भन्दा बढी देशमा सञ्चालन गरेका कार्यक्रम, विभिन्न द्वन्द्व ग्रस्त क्षेत्रमा शान्ति स्थापनाका प्रयास र मध्यस्थताको भूमिकाका कारण अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पारेका छन । उनले कोलम्बियामा सरकार र एफएआरसी बीच पाँच दशक भन्दा लामो सशस्त्र द्वन्द्व अन्त्य गर्न सहयोग पुर्‍याएका थिए। साथै इराक, श्रीलंका, म्यानमार र भेनेजुएलामा पनि उनले संवाद र मेलमिलापका पहल गरेका छन ।

उनको संस्था ‘द आर्ट अफ लिभिङ फाउन्डेसन’ ले श्वास ध्यान (ब्रेदिङ मेडिटेसन) जस्ता अभ्यास मार्फत तनाव कम गर्ने, आघात उपचार र भावनात्मक सुदृढता बढाउने काम गर्दै आएको छ।

सम्मान ग्रहणपछि उनले भने, ‘शान्ति केवल बोलिने शब्द होइन, यो व्यवहारमा उतारिनुपर्ने कुरा हो। हामी सुरक्षा र शान्तिलाई सँगै बोल्छौं, तर अधिकांश प्रयास सुरक्षा तर्फ केन्द्रित हुन्छ। अब समय आएको छ कि शान्ति निर्माणलाई प्राथमिकता दिइयोस, जसले समाजमा फैलिएको अविश्वास र संकटलाई कम गर्न सक्छ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!