अनुसन्धान
आमा ले कपाल झर्न रोक्ने औषधि उपयोग गर्नु शिशुका लागि जोखिमपूर्ण हुन सक्ने
नयाँ दिल्ली (ब्युरो) – आमाले कपाल झर्न रोक्ने औषधि सेवन गर्दा नवजात शिशुको स्वास्थ्यमा जोखिम उत्पन्न हुन सक्ने एक अध्ययनले देखाएको छ।
भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स), नयाँ दिल्लीका अनुसन्धानकर्ताले गरेको विश्लेषणमा यस्तो निष्कर्ष निकालिएको हो। यो अध्ययन ‘आर्काइभ्स अफ डर्माटोलोजिकल रिसर्च’, जर्नलमा प्रकाशित छ, जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ।
अनुसन्धानकर्ताका अनुसार कपाल झर्ने समस्यामा प्रयोग हुने सामान्य औषधि मिनोक्सिडिल प्रयोग गर्ने आमाका शिशुमा हाइपरट्राइकोसिस अर्थात् शरीरमा असामान्य रूपमा बढी कपाल उम्रिने जोखिम देखिएको छ।
विश्वव्यापी स्तरमा संकलित तथ्यांकको विश्लेषण गर्दै अनुसन्धानकर्ताले मिनोक्सिडिलसँग सम्बन्धित शिशु हाइपरट्राइकोसिसका २ हजार ६ सय ६४ शंकास्पद घटनाको अध्ययन गरेका थिए। तीमध्ये ० देखि २३ महिना सम्मका शिशुसँग सम्बन्धित ४५ घटना रहेका छन्।
अध्ययन अनुसार ती ४५ घटना मध्ये २२ प्रतिशतमा आमाले मिनोक्सिडिल प्रयोग गरेको प्रत्यक्ष प्रभाव देखिएको छ। यस्तै ४४.४ प्रतिशत घटनामा आकस्मिक सम्पर्क र ३३.३ प्रतिशतमा कारण खुल्न सकेको छैन।
अध्ययनले आमाले प्रयोग गर्ने केही औषधिले शिशुमा अप्रत्याशित असर पार्न सक्ने भएकाले गर्भावस्था तथा स्तन्यपानका बेला औषधि प्रयोग गर्दा विशेष सतर्कता अपनाउनुपर्ने सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस