एक अर्बभन्दा बढी प्रभावित: मोटोपना उपचारमा डब्लुएचओको जीएलपी–१ औषधिबारे पहिलो मार्गनिर्देशन


काठमाडौँ –  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मोटोपनालाई दीर्घरोगका रूपमा उपचार गर्न प्रयोग हुने जीएलपी–१ वर्गका औषधि बारे पहिलो विश्वव्यापी मार्गनिर्देशन सार्वजनिक गरेको छ। विश्व भर एक अर्ब भन्दा बढी मानिस मोटोपना बाट प्रभावित रहेको र सन २०२४ मा ३ करोड ७० लाख व्यक्तिको मृत्यु यो अवस्था सँग सम्बन्धित रहेको तथ्य सँगै डब्लुएचओले नयाँ दिशानिर्देश जारी गरेको हो।

डब्लुएचओका अनुसार हाल प्रभावकारी हस्तक्षेप नहुँदा सन २०३० सम्म मोटोपनाका केस दोब्बर पुग्ने सम्भावना छ। यस अघि सन् २०२५ सेप्टेम्बर मा डब्लुएचओले उच्च जोखिम समूहका टाइप २ मधुमेहका बिरामीका लागि जीएलपी–१ औषधि आफ्नो अत्यावश्यक औषधि सूचीमा समावेश गरिसकेको थियो । हाल जारी मार्गनिर्देशनले मोटोपना नियन्त्रणका लागि यी औषधिको सशर्त प्रयोग गर्न सकिने उल्लेख गरेको छ। सँगै स्वस्थ आहार, नियमित व्यायाम र स्वास्थ्यकर्मीको निरन्तर सल्लाहलाई अनिवार्य रूपमा जोड दिएको छ।

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस आदानम गेब्रेयेससले भने, ‘मोटोपना विश्व कै ठूलो स्वास्थ्य चुनौती हो। यसलाई दीर्घरोगका रूपमा बुझेर दीर्घकालीन र समग्र उपचार आवश्यक हुन्छ। औषधिले मात्र समस्या समाधान हुँदैन, तर जीएलपी–१ उपचारले लाखौंलाई जोखिम घटाउन मद्दत पुर्‍याउन सक्छ।’

डब्लुएचओले मोटोपनालाई जटिल, दीर्घकालीन रोगका रूपमा व्याख्या गर्दै यसको कारण मुटु रोग, टाइप २ मधुमेह र केही प्रकारका क्यान्सर बढ्ने देखिएको बताएको छ। साथै संक्रमण जन्य रोग भएका बिरामीमा पनि यसको नकारात्मक असर देखिने गर्छ। मोटोपनाका कारण सन २०३० सम्म विश्वव्यापी आर्थिक क्षति वार्षिक तीन ट्रिलियन डलरसम्म पुग्ने अनुमान गरिएको छ।

मुख्य सिफारिस

पहिलो, गर्भवती महिलालाई बाहेक, वयस्कले दीर्घकालीन रूपमा मोटोपना उपचारका लागि जीएलपी–१ औषधि प्रयोग गर्न सक्ने। तर दीर्घकालीन प्रभावकारिता, सुरक्षा, लागत, स्वास्थ्य प्रणालीको तयारी र समान पहुँच बारे सीमित प्रमाण भएकाले सिफारिस सशर्त राखिएको हो।

दोस्रो, जीएलपी–१ औषधि प्रयोग गरेका वयस्कलाई स्वस्थ्यकर आहार, शारीरिक सक्रियता र व्यवहार परिवर्तन सम्बन्धी कार्यक्रम सहितको गहन परामर्शन दिन सकिने। यसले उपचार परिणाम अझ राम्रो हुन सक्ने प्रारम्भिक प्रमाण देखिएको छ।

औषधिले मात्र मोटोपना घट्दैन

डब्लुएचओले औषधिलाई समाधानको एक भाग मात्र मान्दै मोटोपना नियन्त्रणका लागि बहुक्षेत्रीय कदम आवश्यक भएको बताएको छ। जनस्वास्थ्य अनुकूल वातावरण निर्माण, उच्च जोखिम समूहमा छानबिन र प्रारम्भिक हस्तक्षेप, तथा दीर्घकालीन, व्यक्ति केन्द्रित उपचारलाई तीन प्रमुख स्तम्भका रूपमा परिभाषित गरिएको छ।

कार्यान्वयनका चुनौती

डब्लुएचओले जीएलपी–१ औषधिको समान पहुँच सुनिश्चित गर्न नीति तथा स्वास्थ्य प्रणाली तयारी अनिवार्य भएको जनाएको छ। अन्यथा यी औषधिले स्वास्थ्य असमानता बढाउन सक्ने चेतावनी दिइएको छ। उत्पादन विस्तार भइ रहे पनि २०३० सम्म उपचारबाट लाभ उठाउन सक्ने व्यक्ति मध्ये १० प्रतिशतले मात्र पहुँच पाउने अनुमान छ। त्यसैले मूल्य स्तरीकरण, संयुक्त खरिद र स्वैच्छिक लाइसेन्स जस्ता उपाय अपनाउन डब्लुएचओले देशहरूलाई आह्वान गरेको छ।

डब्लुएचओको आगामी योजना

यो मार्ग निर्देशन सदस्य राष्ट्रहरूको अनुरोध अनुसार तयार गरिएको हो। नयाँ प्रमाण उपलब्ध हुँदै जाँदा यसलाई समय समयमा अद्यावधिक गरिने डब्लुएचओले जनाएको छ। सन् २०२६ भर डब्लुएचओले सरोकारवाला सँग मिलेर उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकता दिने पारदर्शी ढाँचा विकास गर्ने कार्य अघि बढाउनेछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!