क्यान्सर विरुद्ध १००% प्रभावकारी ‘एण्टरमिक्स’ खोप : रुसी वैज्ञानिकहरूको दाबी


काठमाडौँ – रुसी वैज्ञानिकहरूले क्यान्सर विरुद्धको लडाइँमा ठूलो सफलता हासिल गरेका छन्। एमआरएनए प्रविधिमा आधारित ‘एण्टरमिक्स’ नामक पर्सनलाइज्ड खोपको प्रीक्लिनिकल तथा क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको छ र अब यो प्रयोगका लागि तयार भएको घोषणा गरिएको छ।

रूसको फेडरल मेडिकल एण्ड बायोलोजिकल एजेन्सी (एफएमबिए) र राष्ट्रिय चिकित्सा अनुसन्धान रेडियोलोजिकल सेन्टरले एङ्गेलहार्ट इन्स्टिच्युट अफ मोलिक्युलर बायोलोजी (इआइएमबी) को सहकार्यमा यो खोप विकास गरेका हुन्। एफएमबीएका प्रमुख भेरोनिका स्क्वोर्सोभाले भ्लादिभोस्तोकमा सम्पन्न दशौँ ईस्टर्न इकोनोमिक फोरममा तीन वर्ष लामो अध्ययन पछि खोपले सुरक्षा र प्रभावकारिता दुवै सिद्ध गरेको जानकारी दिइन्।

क्लिनिकल परीक्षणमा १००% सफलता

सन् २०२५ को जुनमा सेंट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरममा यसको प्रारम्भिक क्लिनिकल परीक्षणको घोषणा गरिएको थियो । ४८ जना स्वयंसेवक सहभागी परीक्षणमा खोपले ट्युमरको आकार घटाएको, वृद्धि दर कम गरेको र क्यान्सर कोषिकाहरूलाई नष्ट गर्न सफल भएको देखियो। सबै परीक्षण चरणमा खोपले १०० प्रतिशत प्रभावकारिता देखाएको र कुनै गम्भीर दुष्प्रभाव नदेखिएको रुसी वैज्ञानिकहरूको दाबी छ।

व्यक्तिगत रूपमा अनुकूलित उपचार

‘एण्टरमिक्स’ को विशेषता भनेको यसलाई बिरामीको व्यक्तिगत आरएनए अनुसार अनुकूलित गर्न सकिने क्षमता हो। यसले उपचारलाई अझ प्रभावकारी बनाउँछ। सुरुमा यस खोपलाई कोलोरेक्टल क्यान्सरका बिरामीमा प्रयोग गरिने तयारी छ। साथै, अनुसन्धानकर्ताहरू यसलाई ग्लियोब्लास्टोमा (मस्तिष्क क्यान्सर) र अक्युलर मेलेनोमा (आँखा सम्बन्धी क्यान्सर) लगायत अन्य घातक क्यान्सरका बिरूद्ध पनि विकास गर्ने प्रयासमा छन्।

स्वीकृतिको प्रतिक्षा

रुसी समाचार संस्था टासका अनुसार, यो खोपलाई अब रसियाको स्वास्थ्य मन्त्रालयबाट अन्तिम स्वीकृतिको प्रतिक्षा गरिएको छ। स्क्वोर्सोभाले भनिन्, ‘विगत धेरै वर्षको अनुसन्धान पछि सम्भव भएको यो उपलब्धि अब प्रयोगका लागि तयार छ, हामी स्वीकृतिको प्रतीक्षामा छौँ।’

नयाँ जीवनको आशा

विशेषज्ञहरूको भनाइमा, यो खोप विशेष गरी ती बिरामीका लागि प्रभावकारी हुन सक्छ जसमा परम्परागत कीमोथेरापीले काम गर्दैन वा वंशानुगत क्यान्सरको जोखिम उच्च हुन्छ। स्वीकृति पाए सँगै ‘एण्टरमिक्स’ संसारकै पहिलो पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोपका रूपमा बजारमा आउँनेछ र यसले विश्व भरका लाखौँ क्यान्सर बिरामीलाई नयाँ जीवनको आशा दिन सक्ने विश्वास गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!