औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी महासचिवमा सन्तोष बराल र वरिष्ठ उपाध्यक्षमा प्रभात रुङटा


काठमाडौँ – नेपाल औषधि उत्पादक संघ (एपोन)को २०८२–८४ कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ। संघको अध्यक्ष पदमा विप्लव अधिकारी निर्विरोध निर्वाचित भएका छन्। कार्य समितिका अन्य पदाधिकारी र सदस्यहरू पनि आपसी सहमतिमा सर्वसम्मत रूपमा चयन भएका छन्।

यस अघि अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका दीपक दाहालले उम्मेदवारी फिर्ता लिएपछि विप्लव अधिकारीको निर्वाचित हुने बाटो खुलेको हो। अध्यक्षमा सहमति जुटेपछि कार्यसमितिका अन्य पदहरूमा पनि सर्वसम्मति कायम गरिएको छ ।

शुरुआतमा कार्यसमितिका ११ पदका लागि १५ जनाको उम्मेदवारी परेको थियो। अध्यक्ष पदमा सहमति बनेपछि बाँकी पदहरूमा पनि सहमतिका आधारमा निर्णय गर्नु पर्ने आवाज उठेको थियो। सोही अनुसार बैठकले पूर्व अध्यक्षहरूलाई बाँकी पदका लागि टुंगो लगाउने जिम्मेवारी दिएको थियो।

पूर्व अध्यक्षहरूको संयोजनमा कार्य समितिका पदाधिकारी र सदस्यहरू चयन गरिएको हो। निर्णय प्रति सबै उम्मेदवारहरूले सहमति जनाएका थिए। संघले यस पटक एकता र सहकार्यको वातावरण मा नेतृत्व चयन गरेको जनाइएको छ।

नयाँ कार्यसमितिले आगामी कार्यकालमा औषधि उद्योग क्षेत्रको सुधार, गुणस्तरीय उत्पादन, नीति–निर्माणमा प्रभावकारी सहभागिता, र उद्योगसँग सम्बन्धित समस्याहरू समाधानमा विशेष ध्यान दिने बताइएको छ। अध्यक्ष विप्लव अधिकारीले सबैको सहकार्य र विश्वास प्रति आभार प्रकट गर्दै संघलाई अझ मजबुत र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नवगठित कार्यसमिति

  • अध्यक्ष – विप्लव अधिकारी
  • निवर्तमान अध्यक्ष – महेश प्रसाद प्रधान
  • वरिष्ठ उपाध्यक्ष – प्रभात रुङ्गटा
  • उपाध्यक्ष – पृथ्वी राज भण्डारी (निजु)
  • महासचिव – सन्तोष बराल
  • सचिव – गिरिराज पाठक (गणेश)
  • कोषाध्यक्ष – सुमित चन्द्र श्रेष्ठ
  • सदस्यहरू – शैलेश वैद्य, पंकज कुमार तिवारी, ईश्वर कुमार भण्डारी, शरदचन्द्र ओझा, सजल राज रेग्मी, प्रवन दाहाल

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!