अनुसन्धान
कोभिडपछि गम्भीर अवस्थामा पुगेका बालबालिकाको उपचारमा ‘सीलिएक’ रोगका लागि बनाइएको औषधि उपयोगी हुने संकेत

सीलिएक रोगका लागि बनाइएको औषधि ‘लाराजोटाइड’ कोभिड संक्रमण पछि बालबालिका मा देखिने गम्भीर अवस्था मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम (एमआइएस-सी) को उपचारमा उपयोगी हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्।
सीलिएक रोग एक प्रकारको अटोइम्युन विकार हो जसमा शरीरको प्रतिरक्षा प्रणालीले सानो आन्द्रामा ग्लुटेन प्रोटिन विरुद्ध आक्रमण गर्छ। यसले आन्द्राको क्षति गर्छ र त्यसको सामान्य कार्यमा बाधा पुर्याउँछ। ग्लुटेन गेहुँ, जौ लगायतका अन्नमा पाइने प्रोटिन हो ।
एमआइएस-सी सिण्ड्रोम कोभिड पछिको अवस्था हो जसमा बालबालिकालाई तीव्र ज्वरो, अंगभंग हुने गरी मुटुमा क्षति जस्ता लक्षण देखिन्छन्।
‘साइन्स ट्रान्सलेशनल मेडिसिन’ जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, लाराजोटाइड औषधाले एमआइएस-सी बाट प्रभावित बालबालिकालाई छिट्टै सामान्य गतिविधिमा फर्किन सहयोग पुर्याएको पाइएको छ।
शोधका प्रमुख लेखक तथा म्यासाचुसेट्स जनरल ब्रिघम सिस्टिक फाइब्रोसिस सेन्टर का लेएल योंकरका अनुसार, ‘यो सानो भए पनि प्रभावकारी अध्ययन हो। हामीले देख्यौं कि लाराजोटाइड सुरक्षित छ र यसले एमआइएस-सी भएका बालबालिकाका लक्षणहरू छिट्टै कम गर्न मद्दत गर्छ।’
अनुसन्धान टोलीका अनुसार अहिले उनीहरू ‘लाराजोटाइड’ को प्रभाव दीर्घकालीन कोभिड (लङ्ग कोभिड) भएका बिरामीहरूमा पनि उपयोगी हुन सक्छ कि भनेर क्लिनिकल ट्रायल गरिरहेका छन्। एमआइएस-सी को हालको उपचार विकल्प सीमित छन् र धेरै बालबालिकाले उपचारपछि पनि लक्षणको पुनरावृत्ति अनुभव गर्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस