अनुसन्धान

डायबिटीजको एउटा सामान्य औषधि मुटुका लागि घातक हुनसक्ने अध्ययनको चेतावनी


टाइप-२ डायबिटीज भएका बिरामीहरूका लागि एउटा सतर्कता जनाउने नयाँ अध्ययन सार्वजनिक भएको छ। अध्ययन अनुसार, प्रायः प्रयोग हुने औषधि ग्लिपिजाइड मुटुसम्बन्धी गम्भीर समस्या को खतरा बढाउने देखिएको छ।

अमेरिका लगायत धेरै देशहरूमा टाइप-२ डायबिटीज उपचारका लागि सल्फोनीलुरिया समूह अन्तर्गत पर्ने ग्लिपिजाइड औषधि प्रयोगमा ल्याइन्छ। तर, मास जनरल ब्रिघम का अनुसन्धानकर्ताहरू ले ४८,१६५ बिरामीको डाटामा आधारित अध्ययन पछि चेतावनी दिएका छन् कि यो औषधिको प्रयोगले हृदयघात, अस्पताल भर्ना हुने जोखिम र मृत्युको सम्भावना उच्च हुनसक्छ।

यो अध्ययन जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित गरिएको हो। अध्ययनमा ग्लिपिजाइड सेवन गर्ने बिरामीहरू माझ, आधुनिक डीपीपी-४ इनहिबिटर औषधि सेवन गर्नेहरू भन्दा झण्डै १३% बढी मुटु रोगको जोखिम देखिएको हो।

ब्रिघम एन्ड विमेन्स अस्पतालको एंडोक्रिनोलोजी विभागका अनुसन्धानकर्ता डा. अलेक्जेन्डर टर्चिनका अनुसार, ‘सल्फोनीलुरिया समूहका औषधिहरू सस्तो र सजिलै उपलब्ध भए पनि दीर्घकालीन प्रयोगले मुटुमा पर्ने असरबारे थोरै जानकारी छ। जबकि, डीपीपी-४ इनहिबिटर जस्ता औषधिहरू मुटुका लागि तुलनात्मक रूपमा सुरक्षित मानिन्छन्।’

उनले थप भने, ‘टाइप-२ डायबिटीजका बिरामीहरूमा पहिले नै स्ट्रोक र कार्डियाक अरेस्टको खतरा बढी हुन्छ, यस्तोमा औषधि छनोटमा सचेत हुन आवश्यक छ ।’

विज्ञहरूको अनुसार टाइप-२ डायबिटीजका बिरामीले चिकित्सकको सल्लाह बिना ग्लिपिजाइड जस्ता औषधिको दीर्घकालीन प्रयोग गर्नु घातक हुन सक्छ। मुटुसम्बन्धी जोखिम न्यून पार्न चिकित्सकबाट उपयुक्त विकल्पको सल्लाह लिनु उपयुक्त हुन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!