अनुसन्धान
पार्किन्सनका बिरामीका लागि नयाँ इंजेक्सन: अब हरेक दिन औषधि खानु नपर्ने

अष्ट्रेलियाका वैज्ञानिकहरूको एक टोलीले पार्किन्सन रोगका बिरामीहरूका लागि साप्ताहिक रूपमा दिइन सकिने नयाँ प्रकारको औषधि विकसित गरेको छ।
यो औषधि सुई (इंजेक्सन) को माध्यमबाट हप्तामा एक पटक दिइन्छ, जसले गर्दा बिरामीले हरेक दिन कैयौं चोटी औषधि खानुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्।
पार्किन्सन रोग प्रायः वृद्धहरूमा देखिन्छ र उनीहरूका लागि समयमा समयमा औषधि खानु चुनौतीपूर्ण हुन्छ। समयमै औषधि नखाँदा उपचारको प्रभाव कम हुनुका साथै साइड इफेक्टको जोखिम समेत बढ्ने भएकाले, यो समस्या समाधान गर्न वैज्ञानिकहरूले दीर्घकालीन प्रभाव पार्ने सुई युक्त औषधि तयार गरेका हुन्।
दक्षिण अष्ट्रेलिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले विकास गरेको यो औषधिमा पार्किन्सनको उपचारमा प्रयोग हुने दुई प्रमुख तत्व, लेभोडोपा र कार्बिडोपा समावेश छन्। एक पटक शरीरमा इंजेक्सन दिए पछि यो औषधि सात दिन सम्म बिस्तारै काम गर्छ।
‘ड्रग डेलिभरी एन्ड ट्रान्सलेशनल रिसर्च’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित अध्ययन अनुसार, यो औषधि बायोडिग्रेडेबल प्रकृतिको हो, जसले शरीर भित्र बिस्तारै घुल्दै सात दिन सम्म औषधीय प्रभाव दिन्छ।
फार्मास्युटिकल इनोभेसन सेन्टरका प्राध्यापक संजय गर्गका अनुसार, ‘साप्ताहिक रूपमा लगाइने यो सुईले पार्किन्सनको उपचार प्रक्रियामा ठूलो सुधार ल्याउनेछ। बिरामीहरूका लागि औषधि लिन सहज हुनेछ र जीवनस्तरमा पनि सकारात्मक परिवर्तन आउनेछ।’
प्रतिक्रिया दिनुहोस