अनुसन्धान
अब हरेक उमेरमा खोप, स्वास्थ्य, दीर्घायु र सुरक्षा सुनिश्चित गर्ने उपाय: डब्लुएचओ को अध्ययन

काठमाडौं – खोपको पूर्ण लाभ लिनका लागि सबै उमेर समूहमा खोप लगाउनु अत्यावश्यक रहेको एक नयाँ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अध्ययनले देखाएको छ।
डब्लुएचओ को अनुसार पहिलो पटक, ६५ वर्ष भन्दा माथिका वयस्कहरूको संख्या पाँच वर्ष भन्दा कम उमेरका बालबालिकाको संख्या भन्दा बढी भएको छ। सन २०३० सम्ममा झन्डै १ अर्ब मानिसहरू यस उमेर समूहमा पर्ने अनुमान गरिएको छ।
हाल सम्म बालबालिका, किशोर किशोरी तथा प्रजनन उमेरका महिलाहरूलाई लक्षित गर्दै खोप कार्यक्रम सञ्चालन गरिँदै आएको भए पनि वयस्क खोप कार्यक्रमहरू भने अधिकांश न्यून–मध्यम आय भएका देशहरूमा अझै उपेक्षित छन्।
डब्लुएचओ को भ्याक्सीन्स नामक जर्नलमा हालै प्रकाशित अध्ययन अनुसार, वृद्धावस्थामा स्वस्थ जीवन बिताउन र स्वास्थ्य सेवा प्रणालीमा पर्ने बोझ कम गर्न वयस्क खोप कार्यक्रम प्रभावकारी साधन बन्न सक्छ।
डब्लुएचओले इन्फ्लुएन्जा, कोभिड-१९, न्यूमोनिया, टिटानस र रेस्पिरेट्री सिन्सेसल भाइरस (आरएसभी) जस्ता रोगहरू विरुद्ध वयस्कहरूलाई खोप सिफारिस गरे पनि धेरै देशहरूले अझै आफ्नो राष्ट्रिय खोप तालिकामा ती समावेश गरेका छैनन्।
‘खोपबाट रोकथाम गर्न मिल्ने रोगहरू बढ्दै गइरहेको अवस्थामा जीवनको प्रत्येक चरणमा सिफारिस गरिएका खोपहरू लगाउनु अझ आवश्यक छ,’ डब्लुएचओकी प्राविधिक अधिकृत तथा अध्ययनकी प्रमुख लेखिका डा. अल्बा विलाजेलिउ भन्छिन्, ‘यो केवल ज्यान बचाउने कुरा होइन, वयस्कहरूको जीवनस्तर, समुदायमा उनीहरूको उत्पादनशीलता तथा स्वास्थ्य प्रणालीको दवाव घटाउने सवाल पनि हो।’
कोभिडले देखायो वयस्क खोप कार्यक्रम सम्भव छ
कोभिड-१९ महामारीले वयस्क खोपको आवश्यकता र सम्भावनालाई संसार भर उजागर गर्यो। सन् २०२३ को अन्त्य सम्म १३.६ अर्बभन्दा बढी कोभिड-१९ खोप खुराक दिइएको थियो। यसमा ८९% स्वास्थ्यकर्मी र ८४% वृद्ध नागरिकहरू समावेश थिए।
तर यो प्रगति अन्य वयस्क खोप कार्यक्रमहरूमा अझै रूपान्तरण भएको छैन।उदाहरणका लागि, मौसमी इन्फ्लुएन्जाका कारण वार्षिक ६ लाख ५० हजार सम्म मृत्यु हुने गर्छन्, तर न्यून आय भएका देश मध्ये केवल ४% ले मात्र गर्भवती महिलालाई यो खोप उपलब्ध गराएका छन्।
खोपमा लगानीको प्रतिफल उच्च
हालैको अफिस अफ हेल्थ इकोनोमिक्स (ओएचई) को प्रतिवेदन अनुसार, उच्च तथा मध्यम आय भएका देशहरूमा इन्फ्लुएन्जा, आरएसभी, हर्पिस जोस्टर र न्युमोकोकल रोग विरुद्धको खोप कार्यक्रम विस्तार गर्दा सुरुमा लगानी गरिएको रकमको १९ गुणा सम्म प्रतिफल पाइयो । यसले न्यून आय भएका देशहरूमा अझ ठूलो लाभ दिन सक्ने सम्भावना देखाएको छ।
नयाँ प्रविधिबाट वयस्क खोपको सम्भावना अझ फैलिंदै
टीबी, विभिन्न श्वास प्रश्वास सम्बन्धी भाइरसहरू, तथा अन्य नयाँ रोगहरू विरुद्धका खोपहरू विकास हुँदैछन्। एम-आरएनए जस्ता प्रविधिले नयाँ खोपहरू चाँडो विकास गर्न सम्भव बनाइरहेका छन्।
वयस्क खोपलाई सफल बनाउनका लागि देशहरूले आफ्नो खोप कार्यक्रमहरूलाई आधारभूत स्वास्थ्य सेवासँग एकीकृत गर्नुपर्ने आवश्यकता रहेको डब्लुएचओले जनाएको छ। स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण, जनचेतना अभिवृद्धि, र समुदायको संलग्नता अनिवार्य हुने बताइएको छ।
‘अब नै हो वयस्क खोपको जग हाल्ने समय’
‘हामीले जीवन भरको स्वास्थ्यका लागि रोग रोकथामलाई प्राथमिकता दिंदा मात्र समाजलाई केन्द्रमा राख्ने स्वास्थ्य प्रणाली निर्माण गर्न सक्छौं,’ डब्लुएचओकी खोप विभाग प्रमुख डा. केट ओ’ब्रायन भन्छिन्, ‘वयस्क खोप त्यस परिवर्तनको केन्द्रमा रहन्छ।’
प्रतिक्रिया दिनुहोस