फार्मेसी अनुगमन टोलीमाथि आक्रमण : स्वास्थ्य सुरक्षामा खतराको संकेत?

काठमाडौँ- रौतहटको राजपुर नगरपालिका–४ मा औषधि अनुगमनको क्रममा भएको हिंसात्मक घटनाले देशको स्वास्थ्य सुरक्षालाई लिएर गम्भीर प्रश्न उठाएको छ ।
२०८२ साल जेठ ५ गते भएको उक्त घटनामा नेपाल फर्मास्यूटिकल एसोसिएसन (एनपीए) कोशी प्रदेश अध्यक्ष शम्भु शाहको नेतृत्वमा गएको फार्मेसी अनुगमन टोली माथि स्थानीय समूहद्वारा आक्रमण गरिँदा दुई जना फार्मासिस्ट घाइते भएका छन्।
नेपाल फर्मास्यूटिकल एसोसिएसनले जारी गरेको प्रेस विज्ञप्तिमा यस घटनाप्रति गहिरो दुःख र आक्रोश व्यक्त गर्दै दोषीलाई तुरुन्त कानूनी दायरामा ल्याउन माग गरिएको छ।
एसोसिएसनले मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई तत्काल हस्तक्षेप गरी आक्रमणकारीको पहिचान र कारबाही सुनिश्चित गर्न आह्वान गरेको छ ।
प्रेस विज्ञप्तिमा औषधि क्षेत्रको निगरानी गर्न खटिएको टोलीमाथि भएको आक्रमणले ‘कानूनी राज्य विहीनताको आभास’ गराएको उल्लेख छ। साथै, यसले राष्ट्रसेवक र स्वास्थ्यकर्मीहरूको मनोबलमा प्रतिकूल असर पारेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
एनपीएका अध्यक्ष ललित मोहन पन्त र महासचिव सञ्जीव शर्मा कट्टेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा दर्ता विना सञ्चालित फार्मेसीहरू प्रति शून्य सहनशीलता राख्ने र कानुनी तथा वैज्ञानिक मापदण्ड अनुरूप सञ्चालन हुने फार्मेसीको पक्षमा सदैव उभिने स्पष्ट गरिएको छ।
‘विना दर्ता औषधि व्यवसायले आम नागरिकको स्वास्थ्यमा खेलवाड गरिरहेको छ, जुन क्षम्य छैन,’ विज्ञप्तिमा भनिएको छ।
संघले अनुगमन प्रक्रियालाई अझ सशक्त र सुरक्षित बनाउन राज्यको सक्रियता आवश्यक भएको बताउँदै सबै फार्मेसी व्यवसायीहरूलाई आचार संहिता र कानुनी मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह पनि गरेको छ।
स्वास्थ्य सुरक्षामा लापरवाही र अनियमितता नहोस् भन्ने हेतुले गरिएको अनुगमनमा आक्रमण हुनु आफैंमा एक गम्भीर मुद्दा बनेको जनाउँदै फार्मासुटिकल एसोसिएसनका अध्यक्ष पन्तले अब राज्य संयन्त्रले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने प्रश्न उठेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस