के हो जन स्वास्थ्य प्रयोगशाला, प्रदेश देखि पालिका सम्म, कस्तो हुनुपर्छ ?


स्वास्थ्य क्षेत्रको मेरुदण्डको रूपमा रहेको प्याथोलोजी प्रयोगशालाको जाँचको उचित प्रयोग नगरी सही उपचार सम्भव छैन । यसैले पालिका सम्ममा सरकारी स्तरमा तिर्न सक्ने ले उचित शुल्क दिएर र नसक्ने ले निःशुल्क पाउन सक्ने गरी जनस्वास्थ्य प्रयोगशाला स्थापित भए मात्र यसका पहुँच सर्वसाधारण सम्म हुन सक्छ ।

र गरिबी रेखा मुनी जीवन यापन गर्ने नेपाली ले समेत संविधान ले स्वास्थ्य लाई आधारभूत मौलिक अधिकार को रुपमा स्थापित गरेको कुरा को वास्तविक अनुभूति गर्न पाउँछन् ।

प्रयोगशाला भनेको आधारभूत जाँचहरू हुने विभाग हो, जहाँ कुनै व्यक्ति स्वस्थ वा अस्वस्थ हो भन्ने तथ्यलाई प्रमाण सहित (जाँचको रिपोर्टको आधारमा) उजागर गरिन्छ । साथै सामान्य किसिमको संक्रामक ( सर्ने ) र नसर्ने रोगहरूको पहिचान, निदान, उपचारको प्रभावकारिता र रोग निको भएको प्रमाणिकता समेत प्रयोगशाला वाट हुन्छ ।

सामान्यतया प्याथोलोजी प्रयोगशालामा हेमाटोलोजी, बायोकेमेस्ट्री, माइक्रो बायोलोजी सहित रुटिन जाँच हुने प्रयोगशाला बुझिन्छ, जुन स्थानीय तहमा हुनु पर्दछ ।

प्रादेशिक अस्पताल , स्वास्थ्य संस्थाहरूमा प्रादेशिक स्तरीय प्रयोगशाला (जिल्ला स्तर) मा स्थानीय तहमा थप कल्चर र हर्मोन लगायत भिटामिन, क्यान्सर मार्कर का जाँच हुनु पर्दछ ।

प्रदेश स्तरीय प्रयोगशालामा रोगको मोलिक्युलर जाँचहरू, जेनेटिक रोगहरू का जाँचहरू थप अन्य सम्पूर्ण किसिमको जाँचहरू लगायत संक्रामक र नसर्ने रोग हरूको पहिचान, निदान, सर्भे, सर्भिलेन्स , अनुसन्धान लगायत संघीय प्रयोगशाला सँगको सहकार्य गरि सरकारको नीति एवम् कार्यक्रमलाई सहयोग पुग्ने गरि सम्पूर्ण कार्यहरू गर्नु पर्दछ ।

प्रयोगशाला भनेको के होइन
क्षयरोगको मात्र जाँच हुने, एड्स वा गर्भ रहे वा नरहेको जाँच गर्नेलाई मात्र सही अर्थमा प्रयोगशाला भन्न मिल्दैन । कुनै एउटा रोगको जाँच गर्नेलाई त्यस रोगको पहिचान हुने तर प्रयोगशाला हुनलाई प्याथोलोजिका कम्तीमा पनि सर्ने र नसर्ने रोगका आधारभूत जाँचहरू उपलब्ध हुनेलाई मात्र प्रयोगशाला भनिन्छ ।

कुनै रोग सम्बन्धी एउटा सामान्य किसिम को जाँच गर्ने वा घरमा गर्भवतीको जाँच गर्ने, वा फिल्ड सेटिङ्ग मा ल्याब नपढेका वा नर्सले गर्ने पिसाबमा सुगर प्रोटिनको स्ट्रिप को प्रयोग गरि गरिने जाँचलाई प्रयोगशाला मान्न मिल्दैन ।

प्रयोगशाला कस्तो सेवा हो
प्रयोगशाला सेवाका महत्व रोग लाग्न बाट बचाउने, स्वास्थ्य प्रवर्धन गर्ने, पहिचान गर्ने, रोगको उपचार गर्ने, उपचार प्रभावकारी भए नभए पत्ता लगाउने, औषधि सेवन गर्ने भए उक्त औषधिको मात्रा निर्धारण गर्न प्रमानिकरण गर्ने, रोग निको भए नभए पत्ता लगाउने, रोगबाट हुने अन्य प्रभावहरू बारे जानकारी दिने, रोगको सर्भे, सर्भिलेन्स , अनुसन्धान लगायत रोग नियन्त्रणमा चाहिने प्रमाण हरू उपलब्ध गराउने जस्ता सम्पूर्ण जानकारी प्रयोगशाला जाँचहरूबाट प्राप्त हुन्छ ।

प्रयोगशाला भनेको उपचारात्मक सेवा मात्र हो बुझ्नु पनि गलत हुन्छ । प्रयोगशाला सेवा फिल्ड सेटिङ्ग मा गरिने रोगको स्क्रिनिंङ् , सामान्यतया स्वस्थ देखिने व्यक्ति साचीकै रोगी हो वा होइन पत्ता लगाउन प्रयोगशालाको जाँचको माध्यमबाट गरिने क्रियाकलापहरू रोग लाग्न नदिनू वा बेलैमा रोग पत्ता लगाउने कार्य प्रिभेन्टिभ सेवामा प्रयोगशालाको महत्व जनाउँछ ।

प्रयोगशाला जाँच गरेर स्वास्थ्य प्रवर्धनगर्न सकिन्छ ।
जस्तै कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन, हर्मोंन, मिनरल वा अन्य बायोकेमिकल कम हुनु वा बढी हुनु बेलैमा पता लगाएर उक्त कमी लाई पुरा गरेर वा बढी भए खानामा कन्ट्रोल गरेर अथवा व्यायाम गरेर ठीक पार्ने कार्य गरेर, कमी वा बढी भएको तत्वको सेवन गरेर वा नगरेर रोग लाग्नबाट बच्न सकिने कार्य प्रबर्धनात्मक प्रयोगशाला सेवा भित्र पर्दछ । जस्तै आइरन वा भिटामिनको कमि गर्भवती महिलामा जाँच गरेर पत्तालगाउने कार्यगर्नु स्वास्थ्य प्रवर्धन भित्र पर्दछ ।

प्रयोगशाला जाँच गरेर रोगको पहिचान गर्न सकिन्छ।
रोगको कारक तत्व के हो त्यो पत्ता प्रयोगशाला जाँचबाट गरिन्छ । रोगको कारण किरा , जिबाणु , बिशानु हुन् सक्छ ( माइक्रोबियल प्याथोलोजी ), रोगको कारण बायोकेमिकल्स को मात्रा कमी वा बढी हुन् सक्छ ( बायोकेमिकल प्याथोलोजी ) , रोगको कारण शरीरको कोषिका हरुको कमी वा बढी हुन् सक्छ ( हेमाटो प्याथोलोजी ), रोगको कारण कोषिका को उत्पादन कमी वा बढी हुन् सक्छ ( मोलिक्युलर प्याथोलोजी ), रोगको कारण शरीरको अंगमा संक्रमण भएर हुन् सक्छ (आंगिक प्याथोलोजी ) इत्यादि । तत् तत् सम्बधि जाँच गरेर रोगको कारण पता लगाइन्छ ।

प्रयोगशाला जाँच गरेर रोगको उपचार गर्न सकिन्छ ।
सुगरको मात्रा पता लगाएर कति मात्रा औषधि दिने हो सो को निर्क्योल गरिन्छ, औषधि सेवन पछि सुगरको मात्रा नर्मल रेन्जमा आयो की आएन सो को लागि समेत रगतमा सुगरको जाँच गरि पत्ता लगाइन्छ अर्थात् रोगको उपचार, उपचार प्रभावकारी छ छैन, वा औषधिको मात्रा घटाउन वा बढाउन समेत प्रयोगशाला जाँचको मुख्य भूमिका हुन्छ ।

समुदायमा रोगको सर्भे, सर्भिलेन्स , उन्मूलन, नियन्त्रण र अनुसन्धान गर्न पनि प्रयोगशालाको जाँच गरिन्छ । बिना प्रयोगशाला जाँच समुदायमा रोगको सर्भे, सर्भिलेन्स , उन्मूलन, नियन्त्रण सम्भव छैन । कुनै पनि संक्रामक वा नसर्ने रोगको समुदायमा रोगको सर्भे, सर्भिलेन्स , उन्मूलन, नियन्त्रण गर्न र यसको प्रमाणीकरण गर्न प्रयोगशाला जाँच गर्नु पर्दछ । (डा. मिश्र मधेश प्रदेश जन स्वास्थ्य प्रयोगशाला का निर्देशक हुन )


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस