डब्लुएचओको चेतावनी : स्वास्थ्य क्षेत्रमा प्रगति सुस्त, महामारीको गहिरो प्रभाव

जेनेभा -विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको ‘वर्ड हेल्थ स्टाटिस्टीक्स रिपोर्ट २०२५’ अनुसार, कोभिड-१९ महामारीले विश्वव्यापी स्वास्थ्य क्षेत्रमा गम्भीर असर पारेको छ।
रिपोर्टले देखाएको छ कि सन् २०१९ देखि २०२१ सम्मको दुई वर्षमा विश्वको औसत आयु १.८ वर्षले घटेको छ, जुन हालको इतिहासमा सबैभन्दा ठूलो गिरावट हो।
महामारीका कारण मानसिक तनाव र डिप्रेसनको दर बढे पछि विश्वव्यापी स्वस्थ जीवन प्रत्याशा (हेल्दी लाईफ एक्सपेक्टेन्सी) पनि ६ साता घटेको छ । यसले नसर्ने रोगहरूको मृत्युदर घटेर हासिल गरिएको फाइदालाई लगभग शून्यमा पुर्याएको छ।
प्रगति र चुनौती
रिपोर्ट अनुसार डब्लुएचओको ‘ट्रिपल बिलियन’ लक्ष्यहरू तर्फको प्रगतिमा मिश्रित परिणाम देखिएका छन्। सन् २०२४ सम्म १.४ अर्ब मानिसहरूले स्वास्थ्यमा सुधार पाएका छन्, जुन लक्ष्य भन्दा माथि हो। तर अत्यावश्यक स्वास्थ्य सेवाको पहुँच र आपतकालीन तयारीमा अपेक्षित प्रगति हुन सकेको छैन।
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस भन्छन्, ‘प्रत्येक तथ्याङ्कको पछाडि एउटा जीवन हुन्छ । एक पाँच वर्ष नपुगेको बालक, सुत्केरी हुँदा ज्यान गुमाएकी आमा, वा एक रोगले समय मै उपचार नपाई काटिएको जीवन। यी सबै रोकिन सक्ने त्रासदीहरू हुन्।’
मातृ र शिशु मृत्युदर अझै उच्च
२००० देखि २०२३ सम्म मातृ मृत्यु दरमा ४०% भन्दा बढी र पाँच वर्ष मुनिका बाल मृत्यु दर आधाले घटेको भए तापनि हाल प्रगति थामिएको छ। प्राथमिक स्वास्थ्य सेवामा लगानीको अभाव, दक्ष स्वास्थ्यकर्मीको कमी र खोप तथा सुरक्षित सुत्केरी सेवा जस्ता क्षेत्रमा कमजोरी देखिएको छ।
यथास्थितिमा सुधार नगरे, सन् २०२४ देखि २०३० भित्र थप ७ लाख मातृ मृत्यु र ८० लाख बाल मृत्यु रोक्न सकिने अवसर गुम्ने डब्लुएचओ को चेतावनी छ ।
दीर्घरोगहरूबाट बढ्दो मृत्युदर
हृदयघात, मधुमेह, स्ट्रोक र क्यान्सर जस्ता नसर्ने रोगहरू अहिले ७० वर्ष भन्दा कम उमेरमा हुने अधिकांश मृत्युको कारण बनेका छन्। यस्ता मृत्युलाई सन् २०३० सम्म एक तिहाइले घटाउने लक्ष्यबाट विश्व पछाडि परेको देखिन्छ।
यद्यपि, सुर्ती सेवनमा गिरावट तथा मदिरा सेवनमा २०१० देखि २०२२ सम्म प्रति व्यक्ति ५.७ लिटरबाट ५.० लिटरमा आएको गिरावट सकारात्मक प्रगति हुन् ।
संक्रमणजन्य रोगहरू माथि मिश्रित प्रगति
एचआईभी र क्षयरोगको संक्रमण दरमा गिरावट आएको छ भने उपेक्षित उष्णकटिबन्धीय रोगहरूको उपचार आवश्यक पर्ने संख्या पनि घटेको छ। तर औलो २०१५ यता पुनः बढ्दै गएको छ र एन्टिबायोटिक प्रतिरोध अझै सार्वजनिक स्वास्थ्यमा चुनौती बनेको छ।
२०२३ मा बालबालिकाको खोप दर अझै महामारी अघिको अवस्थामा फर्कन सकेको छैन। पोषणको कमी, वायु प्रदूषण र असुरक्षित बसोबासजस्ता आधारभूत जोखिमहरू समाधान गर्न धेरै देशहरू पछि परेका छन्।
डब्लुएचओ को आह्वान
डब्लुएचओ ले सबै देशलाई स्वास्थ्य प्रणाली बलियो बनाउन विश्वसनीय तथ्याङ्क संकलन र विश्लेषण प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेको छ। स्वास्थ्य डाटा हब र स्कोर रणनीतिबाट देशहरूलाई सहयोग गरिने बताइएको छ।
संगठनकी सहायक महासचिव डा. समिरा अस्मा भन्छिन्, ‘यो रिपोर्टले देखाउँछ कि विश्वले आफ्नो स्वास्थ्य परीक्षणमा असफल भएको छ। तर देशहरूले चाँडो प्रगति गर्न सक्ने क्षमता देखाएका छन्।’
रिपोर्टले दिगो लगानी र ठोस कार्ययोजना मार्फत सबै देशले सुधार गर्न सक्ने सम्भावना अझै रहेको सन्देश दिएको छ।
प्रतिक्रिया दिनुहोस