हिँड्न र साइकल चलाउन सुरक्षित वातावरण अपरिहार्य : डब्लुएचओ

जेनेभा- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘हिँडाइ र साइकल यात्रा सुरक्षित बनाऔँ’ भन्ने नारा सहित सुरु भएको आठौं संयुक्त राष्ट्र संघीय विश्व सडक सुरक्षा सप्ताहको अवसरमा, सक्रिय यात्रालाई प्रोत्साहन गर्न नयाँ टूलकिट सार्वजनिक गरेको छ।
हरेक वर्ष विश्व भर झण्डै १२ लाख मानिसको सडक दुर्घटनामा मृत्यु हुन्छ, जसमा एक चौथाइ भन्दा बढी पैदल यात्री र साइकल यात्रीहरू हुन्छन्।
तथापि, विश्वका केवल ०.२% सडकहरूमा मात्र साइकल लेन छन् र धेरै जसो समुदायमा फुटपाथ वा सुरक्षित पैदल यात्री क्रसिङ जस्ता आधारभूत पूर्वाधार समेत छैनन्।
डब्लुएचओ महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेससले भने, ‘हिँड्नु र साइकल चलाउनु स्वास्थ्यका लागि लाभदायक छन् र सहरहरू लाई दिगो बनाउन मद्दत गर्छन्। तर यी विकल्पहरूलाई लोकप्रिय बनाउन तिनीहरूलाई सुरक्षित बनाउनु अत्यावश्यक छ।’ हाल विश्वका एक तिहाइ भन्दा कम देशहरूमा मात्रै हिँडाइ र साइकल यात्रा प्रवर्द्धन गर्ने राष्ट्रिय नीति छन्।
डब्लुएचओको नयाँ टूल किटले नीति निर्माताहरू, शहरी योजनाकारहरू, स्वास्थ्यकर्मीहरू र नागरिक समाजलाई लक्षित गर्दै वैज्ञानिक प्रमाणमा आधारित व्यावहारिक मार्गदर्शन उपलब्ध गराउँछ।
यस टूलकिटमा विभिन्न उपायहरू सिफारिस गरिएको छ :
- यातायात, स्वास्थ्य, वातावरण र शिक्षा नीतिहरूमा हिँडाइ र साइकलयात्रा समावेश गर्ने
- फुटपाथ, पैदल यात्री क्रसिङ र सुरक्षित साइकल लेन निर्माण गर्ने
- गति सीमा घटाउने र कडाइका साथ कार्यान्वयन गर्ने
- सार्वजनिक चेतना र व्यवहार परिवर्तन अभियान सञ्चालन गर्ने
- सक्रिय यात्राका लागि वित्तीय प्रोत्साहन दिने
सन २०११ देखि २०२१ सम्म विश्वव्यापी रूपमा पैदल यात्रीको मृत्युमा केही कमी आए पनि क्षेत्रगत रूपमा स्थिति चिन्ता जनक छ । दक्षिण पूर्वी एसिया क्षेत्रमा पैदल यात्रीको मृत्यु ४२% ले बढेको छ भने युरोपेली क्षेत्रमा साइकल यात्रीको मृत्यु ५०% ले र पश्चिमी प्रशान्त क्षेत्रमा ८८% ले वृद्धि भएको छ।
डब्लुएचओले यो साता विश्व भरका सयौं संस्था र सरकारहरू सँग मिलेर सडक सुरक्षामा तत्काल कदम चाल्न आह्वान गरेको छ।
सडक सुरक्षाका लागि क्रियाशील गैरसरकारी संस्थाहरूको विश्वव्यापी सञ्जाल (ग्लोबल एलायन्स अफ एनजिओज फर रोड सेफ्टी) ले १०० देशका ४०० भन्दा बढी सदस्य संस्थालाई अभियानमा सहभागी गराएको छ।
डब्लुएचओका सामाजिक निर्धारण विभागका निर्देशक एटियेन क्रग भन्छन, – ‘हामी सबैका लागि सहज यातायातका साधन हिँडाइ र साइकल हुन्। तिनलाई सुरक्षित बनाउनु स्वास्थ्य, समानता र वातावरणका दृष्टिकोणबाट पनि अत्यावश्यक छ।’ सडक सुरक्षा र समग्र स्वास्थ्यका लागि, अबको बाटो सुरक्षित यात्रा हो।
प्रतिक्रिया दिनुहोस