मस्तिष्क मृत्युपछि अङ्गदानः मृत्यु पछि जीवन दिने महान् कार्य

जीवनको गन्तव्य नै मृत्यु हो । एक दिन सबैको जीवन यात्राको अन्त्य हुन्छ । तर के तपाईंलाई थाहा छ ? मृत्यु पछि पनि अरु धेरै मानिसलाई नयाँ जीवन दिन सकिन्छ । यो कुनै कल्पना होइन, यथार्थ हो । नेपालमै मस्तिष्क मृत्यु भएका पाँच जनाका अङ्ग १३ जनामा सफलतापूर्वक प्रत्यारोपण भइसकेको छ । जसले ती मानिसले पुनः जीवन पाएका छन्।
मस्तिष्क मृत्यु भनेको के हो ?
अमेरिकन एकेडेमी अफ न्युरोलोजीको अनुसार मस्तिष्क मृत्यु भनेको मस्तिष्क र ब्रेन स्टेमको सम्पूर्ण र स्थायी कार्य शून्यता हो – जसलाई कानुनी मृत्यु पनि मानिन्छ । तर यस्तो अवस्थामा भेन्टिलेटर को सहायताले श्वास प्रश्वास र रक्तसञ्चार कायम राख्न सकिन्छ – जसले गर्दा शरीरमा रहेका अङ्गहरू जीवित रहन सक्छन् ।
किन आवश्यक छ मस्तिष्क मृत्यु पछि अङ्गदान?
नेपालमा वर्षेनी करिब ३ हजार मस्तिष्क मृत्यु हुने गरेका छन्, तर अङ्गदान गर्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा १५–१६ वटा मात्र टेलीफाेन कल आउने गरेको छ । अर्को तर्फ, मस्तिष्क मृत्यु भएकाहरूले गर्ने दान मार्फत १०२७ जना मिर्गौला र ७४ जना कलेजोका लागि पर्खाइमा छन । यो पर्खाइ कतिपयका लागि मृत्युको लाइन बन्न सक्छ – यदि हामीले चुप लाग्यौ भने।
एक दाता – आठ जीवन
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र का निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपण विद् डा. पुकार चन्द्र श्रेष्ठका अनुसार एक मस्तिष्क मृत्यु भएका व्यक्तिका अङ्गले आठ जना भन्दा बढीलाई जीवन दिन सक्छन्। मिर्गौला, कलेजो, फोक्सो, मुटु, आँखा, छाला, हड्डी जस्ता धेरै अङ्गहरू दान गर्न सकिन्छ ।
‘मस्तिष्क मृत्यु पछि अङ्गदान गर्ने परिवार लाई डेढ लाख’
मस्तिष्क मृत्यु पछि अङ्ग दान गर्न चाहने दाताका परिवारलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर मार्फत डेढ लाख रुपैयाँ दिने गरिएको छ । यस्तै अङ्ग दानमा सघाउने अस्पताललाई ७५ हजार रुपैयाँ दिने गरिएको छ ।
जिउँदै वा मस्तिष्क मृत्यु पछि अङ्गदान
आफू जीवित रहँदा पनि आफ्नो कलेजो, एउटा मिर्गौला लगायतका अङ्ग दान गर्न सकिन्छ । यस्तै आफू जिउँदै पनि मस्तिष्क मृत्यु भएमा अङ्गदान गर्ने घोषणा गर्न सकिन्छ । यसको लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मा सम्पर्क गर्न सकिन्छ वा केन्द्रको वेभ पोर्टलमा गएर जानकारी प्राप्त गर्न सकिन्छ । मस्तिष्क मृत्यु पछि आफन्त वा अस्पतालका पदाधिकारीहरूले अङ्गदानको को लागि प्रत्यारोपण केन्द्र को ९८२३५८१७१४ फोन नम्बरमा सम्पर्क गरेर जानकारी प्राप्त गर्न सकिन्छ।
किन अङ्ग नष्ट हुदैछ ?
- आइसीयु सुविधा भएका अस्पतालमा मस्तिष्क मृत्यु भए पनि व्यवस्थित प्रबन्धको अभाव
- चिकित्सक तथा परिवारमा जानकारीको कमी
- धार्मिक भ्रम, सामाजिक सङ्कोच
- ‘शरीर कुरूप हुन्छ’ भन्ने गलत धारणा
समाधान – जनचेतना र जिम्मेवारी
वीर अस्पताल, न्युरो विभागका प्रमुख स्नायु शल्य चिकित्सक डा. राजीव झा भन्छन् – ‘नेपालमा मस्तिष्क मृत्युबाट अङ्ग प्रत्यारोपणको दर ०.०१ प्रतिशत पनि छैन । तर अमेरिका, युरोपमा यो दर ७०–८० प्रतिशत पुगिसकेको छ ।’ यसबाट स्पष्ट हुन्छ – हामी चेतनामा पछि परेका छौं, न कि सम्भावनामा ।
तपाईंको निर्णय– अरुको जीवन
मस्तिष्क मृत्युपछि अङ्गदान गर्न कानुनले अनुमति दिएको ९ वर्ष भइ सक्यो, तर जम्मा ५ जना मात्र दाता । यो सन्देश छ – हामीले अझै बोल्न, बुझ्न र अघि बढ्न बाकी छ ।
हामी के गर्न सक्छौं ?
- अंगदानबारे जानकारी लिऔं ।
- परिवारसँग अङ्गदानको विषयमा कुरा गरौं ।
- दाताको रूपमा दर्ता गरौं ।
- समाजमा भ्रम तोड्ने प्रयास गरौं ।
अन्त्यमा… … … …
‘मानव अङ्गको आवश्यकता स्वर्गमा होइन, पृथ्वी मै छ’ – डा. पुकार चन्द्र श्रेष्ठ को यो भनाइमा गहिरो सन्देश छ, ‘मृत्युले शरीर चुडाल्छ, तर इच्छा शक्तिले अर्को जीवन जोड्छ ।’
डा. पुकार थप्छन । जीवन अद्वितीय छ र यसलाई जोगाउन सक्ने अवसर हामी सँगै निहित छ । जब हामी मृत्युको अन्तिम सास तान्छौं, हाम्रो शरीर मर्छ, तर हाम्रो इच्छा र दान गरिएका अङ्गहरूले अरूका लागि नयाँ जीवनको ढोका खोल्न सक्छ ।
यही कारण हो, म तपाईंहरूलाई अङ्गदान गर्न आग्रह गर्दछु । अङ्गदान एउटा यस्तो महान कार्य हो जसले मृत्यु पछि पनि हाम्रो अस्तित्वलाई जीवित राख्छ ।
तपाईंको एउटा सानो निर्णयले कुनै बालकलाई आखाको ज्योति फर्काउन सक्छ, कुनै आमालाई नयाँ कलेजो, मिर्गौला दिन सक्छ वा कुनै बाबुलाई फेरि जिन्दगीको मिठास चाख्न सक्ने बनाइ दिन्छ ।
हामीलाई थाहा छ, मर्छ शरीर, तर बाच्छ आत्मा र दान गरिएका अङ्गहरू । जब तपाईं अङ्गदान गर्नु हुन्छ, तपाईंले मृत्यु पछि पनि बाच्ने एउटा अद्भुत उपाय रोज्नु हुन्छ । तपाईंको एउटा सानो कदमले थुप्रै जीवनमा उज्यालो ल्याउन सक्छ । हामी मर्छौं, तर अङ्गहरू बाच्छन । कसैलाई जीवन दिन सक्छन्।
- अङ्गदानः तपाईंको सानो कदम, समाजमा ठूलो परिवर्तन ।
- अङ्गदानः जीवनमा पनि, मृत्यु पछि पनि जीवन दिन सकिन्छ ।
- अङ्गदानः तपाईंको एउटा निर्णय, कसैको पूरै जीवन ।
- अङ्गदानः जिन्दगी बाडने महान अमूल्य उपहार ।
- अङ्गदानः जीवन सँग पनि, जीवन पछि पनि ।
आजै अङ्गदानको प्रतिज्ञा गरौं । आजै जीवन बाड्ने निर्णय गरौं । अङ्ग जलाउनु छैन, माटोमा मिलाउनु छैन – दान गरौं, जीवन दिने गरौं ।(एडी)
प्रतिक्रिया दिनुहोस