विपी स्मृति अस्पताललाई ५० हजार जरिवाना : हानिकारक फोहरमा लापरवाही


काठमाडौँ — काठमाडौँ महानगरपालिकाले बसुन्धरा स्थित विपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेड लाई हानिकारक फोहरको असावधानीपूर्वक व्यवस्थापन गरेको भन्दै फोहर संकलन रोक्का गरी ५० हजार रुपैयाँ जरिवानाको पत्र पठाएको छ।

स्थानीय बासिन्दाले महानगरपालिकाको कल सेन्टरमा गुनासो गर्दै अस्पताल परिसरमा लामो समय सम्म फोहर राख्दा दुर्गन्ध फैलिएको बताए पछि वातावरण व्यवस्थापन विभागले गम्भीर रूपमा लिएको थियो।

गुनासो दर्ता भएको भोलि पल्टै वरिष्ठ अधिकृत सानु मैया महर्जनको नेतृत्वमा निरीक्षण टोलीले अस्पतालमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा अस्पतालका डेपुटी म्याट्रन भाइ कुमारी गुरुङले अटोक्लेभ मेसिन रहेको सानो कोठा देखाइन्, जहाँ दैनिक ५ किलो सम्म हानिकारक फोहर निर्मलीकरण हुने बताइयो। तर, अटो क्लेभको अवस्था र फोहरको स्वरूपले त्यो फोहर वास्तवमै प्रशोधन गरिएको भन्ने पुष्टि हुन सकेन।

निरीक्षण टोलीले माग गरेपछि फोहरको पोको खोल्दा सबै सामग्री आलो अवस्थामा भेटिएको थियो, जसबाट दुर्गन्ध समेत आएको थियो। गुरुङले त्यसमा त्रुटि भएको स्वीकार्दै गल्ती स्वीकार गरिन्।

यद्यपि अस्पतालको कम्पाउण्डमा फोहर खुलेर नराखिएको देखिए पनि सम्पूर्ण फोहर व्यवस्थापन प्रणाली मै कमजोरी रहेको पाइयो। यो अस्पतालमा यस अघि पनि अनुगमन हुँदा त्यस्तै कमजोरी फेला परेको थियो। तर, हरेक पटक अस्पताल प्रशासनले आफू अनभिज्ञ भएको प्रतिक्रिया दिने गरेको महानगरले जनाएको छ।

फोहर व्यवस्थापनमा देखिएका मुख्य समस्या भनेका स्रोतमै वर्गीकरण नहुनु, सुरक्षित ढुवानी नहुनु, निर्मलीकरण उपकरणको अभाव वा उपयोगमा कमी हुनु जस्ता रहेका छन्।

फोहर संकलनको जिम्मा पाएको टोखा-आधारित हिमालयन प्रालि लाई महानगरले अर्को सूचना नआएसम्म फोहर नउठाउन निर्देशन दिएको छ।

प्रचलित ऐन अनुसार जोखिम युक्त वा हानिकारक फोहरको अनुचित व्यवस्थापन गर्ने संस्था वा व्यक्तिलाई ५० हजार देखि १ लाख रुपैयाँ सम्म जरिवाना गर्न सकिनेछ। दोहोरिएको अवस्थामा जरिवाना दोब्बर गरिनुका साथै सम्बन्धित निकायलाई अनुमति रद्द गर्न सिफारिस गर्न सकिने व्यवस्था छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!