स्वास्थ्य असमानताले मानिसको आयु दशकौंले घटाइरहेको डब्लुएचओ को चेतावनी


जेनेभा – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको नयाँ विश्वव्यापी प्रतिवेदनले स्वास्थ्यमा असमानता अत्यन्त गम्भीर रहेको चेतावनी दिएको छ। संगठन का अनुसार गुणस्तरीय आवास, शिक्षा, रोजगारी जस्ता स्वास्थ्य क्षेत्र बाहिरका कारणहरूले मानिसको आयुमा दशकौंले अन्तर पार्न सक्छ।

‘विश्व प्रतिवेदन: स्वास्थ्य समतामा सामाजिक निर्धारकहरू’ अनुसार, एकै ग्रहमा जन्मिएका मानिसहरूको आयु प्रत्याशा (लाइफ एक्सपेक्टेन्सी) मा ३३ वर्षसम्मको अन्तर हुन सक्छ। प्रतिवेदनले स्वास्थ्यमा सामाजिक निर्धारकहरूको प्रभाव जीन वा स्वास्थ्य सेवामा पहुँचभन्दा पनि बलियो भएको देखाएको छ।

डब्लुएचओ का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भने, ‘हामी असमान विश्वमा बाँचिरहेका छौं। जन्म, हुर्काइ, बासस्थान, काम र बुढ्यौलीको वातावरणले हाम्रो स्वास्थ्यमा गहिरो असर पार्छ।’ उनले परिवर्तन सम्भव रहेको र यस प्रतिवेदनले प्रमाणमा आधारित रणनीति र नीति सिफारिस प्रदान गरेको उल्लेख गरे।

प्रतिवेदनले स्वास्थ्य असमानता सामाजिक विभेद, गरिबी, जातीय तथा लिङ्गीय भेदभाव सँग गहिरो रूपमा जोडिएको स्पष्ट पारेको छ। जस्तै, धेरै देशहरूमा आदिवासी समुदायको जीवन प्रत्याशा गैर-आदिवासीको तुलनामा उल्लेख्य रूपमा कम पाइन्छ।

सामाजिक अन्यायको परिणाम

यो प्रतिवेदन सन् २००८ मा डब्लुएचओ आयोगले सार्वजनिक गरेको प्रतिवेदन पछि आएको पहिलो विस्तृत अध्ययन हो। प्रतिवेदनले सन २०४० सम्मका लक्ष्यहरू हासिल गर्न कठिन भएको संकेत गरेको छ।

डब्लुएचओ का अनुसार, गरीब देशमा जन्मिएका बालबालिका धनी देशका तुलनामा १३ गुणा बढी पाँच वर्ष अघि मृत्यु हुने सम्भावना हुन्छ। यदि गरीब र धनी समुदाय बीचको खाडल कम गर्न सकियो भने हरेक वर्ष १८ लाख बालबालिकाको ज्यान जोगाउन सकिने आँकलन गरिएको छ।

२००० देखि २०२३ सम्ममा मातृ मृत्यु दरमा ४०% कमी आए पनि ९४% मातृ मृत्यु अझै पनि कम तथा मध्यम आय भएका देशहरूमा नै भइरहेको प्रतिवेदनले देखाउँछ।

त्यस्तै, धेरै धनी देशहरूमा समेत जातीय तथा लिङ्गीय भेदभावका कारण आदिवासी तथा अन्य कमजोर समुदायका महिलाको मृत्यु दर तीन गुणासम्म बढी रहेको छ।

चक्र तोड्न साझा प्रयास आवश्यक

डब्लुएचओ ले आय असमानता, संरचनात्मक विभेद, द्वन्द्व, आपतकाल र जलवायु संकट जस्ता विषयलाई सम्बोधन नगरी स्वास्थ्य समता सम्भव नरहने बताएको छ। जलवायु परिवर्तनका कारण आउने पाँच वर्षमा ६ करोड ८० लाख देखि १३ करोड ५० लाख मानिस अत्यधिक गरिबीमा धकेलिने चेतावनी समेत प्रतिवेदनले दिएको छ।

हाल विश्वभर ३.८ अर्ब मानिस सामाजिक सुरक्षा सुविधाबाट वञ्चित छन्, जसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पारिरहेको छ। साथै, गरिब ७५ देशले आफ्नो ऋण बोझका कारण सामाजिक सेवामा लगानी गर्न नसकिरहेको उल्लेख गरिएको छ।

डब्लुएचओ ले सरकार, स्थानीय निकाय, स्वास्थ्यकर्मी, शिक्षाविद, अनुसन्धानकर्ता, नागरिक समाज र निजी क्षेत्रबीचको सहकार्यलाई अपरिहार्य ठहर गरेको छ। यसका लागि उसले चार वटा प्रमुख कार्यदिशा सिफारिस गरेको छ ।

  • आर्थिक असमानता घटाउने र सार्वजनिक सेवामा लगानी बढाउने
  • विभेद, द्वन्द्व र विस्थापन जस्ता संरचनात्मक समस्याहरू हटाउने
  • जलवायु कार्य तथा डिजिटल परिवर्तनलाई स्वास्थ्य समतामा रूपान्तरण गर्ने,
  • सबै तहमा सामाजिक निर्धारकहरूमा नीतिगत प्राथमिकता दिने
  • निर्णयको शक्ति स्थानीय तहसम्म पुरयाउने र समुदायलाई सशक्त बनाउने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!