भरतपुर अस्पतालमा मुटु (क्याथ ल्याब) तथा जलन उपचार सेवा सञ्चालनमा

चितवन – संघीय सरकार अन्तर्गतको भरतपुर अस्पतालमा मुटु रोगको उपचार तथा जलनका बिरामीका लागि विशेष सेवा औपचारिक रूपमा सुरु भएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आइतबार क्याथेटराइजेशन ल्याब (क्याथ ल्याब) र जलन वार्डको उद्घाटन गर्दै सेवा प्रारम्भ गरेका हुन्।
काठमाडौँ केन्द्रित विशिष्ट सेवा प्रदेशस्तर सम्म विस्तार गर्ने आफ्नो प्रतिबद्धता अनुरूप मन्त्री पौडेलले मुटु उपचार सेवाको थालनी गरेका हुन्। उद्घाटन कार्यक्रममा उनले भने, ‘अब नागरिकले विशिष्ट उपचारका लागि राजधानी धाउनुपर्ने अवस्था हटाउँदैछौं। भरतपुरमा सुरु भएको क्याथ ल्याबले मुटु रोगका बिरामीलाई सहज, सुलभ र गुणस्तरीय सेवा दिनेछ।
क्याथ ल्याब मार्फत मुटुको धमनीमा रहेको अवरोध पहिचान गर्ने देखि आपतकालीन अवस्था सम्मको उपचार सम्भव हुनेछ। यस सेवाले चितवन सहित आसपासका जिल्लाका हजारौँ बिरामीलाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ।
त्यसै गरी, मन्त्री पौडेलले अस्पतालमा नव निर्मित जलन वार्डको समेत उद्घाटन गरे। अब भरतपुर अस्पतालमा गम्भीर जलन भएका बिरामीको समेत उपचार सम्भव भएको छ। विगतमा जलनका गम्भीर केसहरूलाई काठमाडौँ लग्नुपर्ने बाध्यता थियो । तर अब स्थानीय स्तरमै सेवा उपलब्ध भएपछि बिरामी र आफन्तलाई ठूलो सहजता हुनेछ।
मन्त्री पौडेलले यस अघि नै आर्थिक रूपले विपन्न बिरामीका लागि जलन उपचार निःशुल्क उपलब्ध गराउने घोषणा गरेका थिए।। ‘हामी प्रत्येक नागरिक सम्म स्वास्थ्य सेवा पुर्याउने दिशामा अघि बढेका छौं,’ उनले जोड दिए।
भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलका अनुसार, वैशाख महिनामा सुरु गर्ने योजना अनुसार अस्पतालमा हालसम्म आठ नयाँ सेवा सञ्चालनमा ल्याइएको छ, जसमा सन्तानविहीन दम्पतीका लागि इनफर्टिलिटी क्लिनिक पनि समावेश छ।
प्रतिक्रिया दिनुहोस