स्वास्थ्य मन्त्रालय र चिकित्सक संघ बीच समझदारी: आवासीय चिकित्सकलाई निर्वाह भत्ता सहितका सुविधा सुनिश्चित

काठमाडौं – निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सक हरू को मागलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघ बीच महत्वपूर्ण समझदारी भएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अग्रसरता र उपस्थितिमा भएको बैठकमा दुई पक्ष बीच चार बुँदे सहमति कायम भएको हो।
बैठकमा चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की, महासचिव डा. सञ्जीव तिवारी लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
समझदारी अनुसार अब निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई पनि सरकारी शिक्षण संस्थामा अध्ययनरत आवासीय चिकित्सकहरू सरह आठौं तहको निर्वाह भत्ता उपलब्ध गराइनेछ । यसका लागि सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिने सहमति भएको छ।
यस्तै, चिकित्सकहरूको कार्य सम्बन्धी अन्य विषयहरू- जस्तै बिदा, ड्युटी समय, तथा अतिरिक्त सुविधा आदि बारे १५ कार्य दिन भित्र प्रतिवेदन पेश गर्न स्वास्थ्य मन्त्रालयले कार्यदल गठन गर्ने निर्णय भएको छ।
सहमति पत्रको तेस्रो बुँदामा चिकित्सा शिक्षा आयोगको १८औं बैठकको निर्णय अनुसार स्नातकोत्तर तहमा अध्ययनका लागि एकीकृत म्याचिङ् प्रणाली लागू गर्न आवश्यक समन्वय मन्त्रालयले गर्नेछ।
सहमतिको चौथो बुँदामा चिकित्सक संघले हाल सम्म जारी राख्दै आएका सबै आन्दोलन कार्यक्रम आजै (शनिबार) देखि अन्त्य गर्ने र सम्पूर्ण चिकित्सकहरू नियमित सेवामा फर्किने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस