भारतः महाराष्ट्रको पुणेमा एक डाक्टर र उनकी छोरी जिका भाइरसबाट संक्रमित


नयाँ दिल्ली – महाराष्ट्र को पुणेमा ४६ वर्षीय डाक्टर र उनकी १५ वर्षीय छोरी जिका भाइरसबाट संक्रमित भेटिएका छन् । तर, उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ ।

डाक्टर लाई छालामा डाबर र ज्वरोको लक्षण देखिए पछि अस्पताल भर्ना गरिएको थियो । उनको रगतको नमुना परीक्षणका लागि नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईभी) पठाइएको थियो । जुन २१ तारिख मा डाक्टर जिका भाइरसबाट संक्रमित भएको रिपोर्टले पुष्टि गरेको थियो । उनको छोरी मा समेत संक्रमण देखिएको पुणे नगर निगमका स्वास्थ्य अधिकारीले बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार हालसम्म, जम्मा ८९ देश र क्षेत्रहरूले लामखुट्टेबाट जिका भाइरसको संक्रमण भएको प्रमाण रिपोर्ट गरेका छन्, तर विश्वव्यापी रूपमा यसको निगरानी सीमितछ ।

के हो जिका ? 

जिका एक प्रकारको आरएनए भाइरस हो, जुन संक्रमित एडिस एजेप्टाई प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ । यसै प्रजातिको लामखुट्टेले डेंगु र चिकनगुनिया जस्ता संक्रमण समेत फैलाउने गर्छ । दिउसो टोक्ने लामखुट्टेबाट सर्ने जिका प्राणघातक नहुने भएकाले आधा भन्दा बढी मानिसलाई यो रोग लागेको बारे थाहा समेत नहुने स्वास्थ्य अधिकारी हरु बताउँछन् ।

केही वर्ष अघिसम्म भारतमा जिका भाइरसका बिरामी थोरै थिए तर अहिले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । जिका भाइरसको पहिलो बिरामी सन १९४७ मा युगाण्डामा पहिचान भएको थियो । युगाण्डा को जङ्गलबाट यो भाइरस फैलिएको दाबी गरिएको छ ।

गर्भवतीको लागी खतरनाक 

यद्यपि, गर्भवती महिलाहरूलाई जिका भाइरस वाट धेरै खतरा हुन्छ । यो उनको बच्चाको लागि घातक साबित हुन सक्छ । गर्भवती महिलामा जिका सङ्क्रमणले भ्रूणमा माइक्रोसेफली निम्त्याउन सक्छ ।माइक्रोसेफली एक दुर्लभ प्रकार को न्युरोलजिकल अवस्था हो , जसमा शिशुको टाउको उसको उमेरको अन्य बच्चाको दाँजोमा धेरै सानो हुन्छ ।

जिकाको लक्षण ? 

जिका भाइरस वाट संक्रमित बिरामीलाई पनि डेंगु जस्तै ज्वरो आउने गरेको छ । बिरामीको छालामा दाग, डाबर देखिन्छ र आँखा रातो हुन्छ । बिरामीको जोर्नी र मांसपेशीमा दुखाइ हुन्छ । टाउको समेत दुख्ने गर्छ । यो संक्रमणमा कतिपय समय आँखामा कन्जन्क्टिवाइटिस समेत हुन्छ । तर ८० प्रतिशत बिरामीमा कुनै खास लक्षण देखिँदैन । गर्भवती महिलाहरूमा लक्षणहरू पहिचान गर्न धरै गाह्रो हुन्छ । यसको लक्षण पाँच जना संक्रमित मध्ये एक जनामा मात्र देखिन्छ । यसको कतिपय लक्षण डेंगु र चिकिनगुनिया जस्तै छ । डब्लुएचओ को अनुसार जिका भाइरस संक्रमणको रोकथाम वा उपचारको लागि खोप अझै उपलब्ध छैन ।हाल सम्म यो रोगको कुनै खास उपचार छैन । लामखुट्टेको टोकाई वाट बाच्नु नै यो संक्रमणवाट बाच्ने उपाय हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!