‘झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, कपिलवस्तु र रसुवामा हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान’


काठमाडौं– सरकारले हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम अन्तर्गत आइतवार देखी झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु गरी सात जिल्लाका लक्षित जनसंख्या लाई औषधि सेवन गराउँदै छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त सात जिल्लाका ५० लाख ७८ हजार लक्षित जनसमुदाय लाई हात्तीपाइले रोग वाट बच्न तिन थरीको औषधि सेवन गराइनेछ ।

महाशाखाका निर्देशक डा.रुद्र प्रसाद मरासिनी को अनुसार यी सात जिल्लामा आइतवार देखी दुई साता सम्ममा तालिम प्राप्त स्वास्थ्य कर्मी हरूले तपाइको घर नजिकै को बुथमा तथा घर भेटमा औषधि खुवाइनेछ । दुई साता सम्म चल्ने उक्त अभियानमा ६ हजार स्वास्थ्य कर्मी र ५ हजार ८ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएको हो ।

मुलुकको ६३ जिल्ला बाट सुरु गरिएको यो अभियान ५३ जिल्लामा बन्द गरि सकिएको छ । तर रसुवामा रगत जाँच गरेर हेर्दा रोग देखिएकाले र बाकी ६ जिल्लामा औषधि खान योग्य सबैले नखाई दिनाले एवं हरेक दुई/दुई वर्षमा रगत जाँच गरि हेर्दा समेत बासिन्दामा रोग को दर नघटेको ले यी जिल्ला हरूमा पटक पटक औषधि खानु परेको हो ।

के हो हात्तीपाइले रोग ?

हात्तीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीले गराउँछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्र यस रोगका असरहरू (जस्तै हात्ती पाईले र अण्डकोष सुन्निने) देखिने हुन्छ र यस रोगको लक्षण देखि सकेपछि निको पार्न सकिँदैन । धेरैजसो संक्रमण लक्षण बिनाको हुन्छ जसबाट समुदायका अन्य व्यक्ति हरूलाई समेत रोग सर्ने सम्भावना रहन्छ । त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि आम औषधि सेवन अभियान मार्फत प्रभावित जिल्लाका सबैले औषधि सेवन गर्न जरुरी छ ।

हात्तीपाइले वाट जोगिने औषधि

हात्तीपाइले रोगबाट बच्न तीन थरि औषधिहरू प्रयोग हुन्छन् । यी औषधि पुर्ण रुपमा सुरक्षित छन् र विश्व भर प्रयोग हुँदै आई रहेका छन् । यी तीन थरीका औषधिहरूको प्रयोगले हात्तीपाइले रोग लागि सकेकाहरूको प्रभावकारी रूपमा उपचार हुनुका साथै रोग लाग्न बाट समेत बचाउँदछ । यसले आन्द्रा र रगतका जुकाहरू मार्दछ भने लुतो र जुम्राको उपचारमा पनि निकै सहयोगी हुन्छ । अध्ययन तथा अनुसन्धानबाट यी तीनै थरीका औषधिहरू पूर्ण रूपमा सुरक्षित छन् ।

हात्तीपाइले नभएका लाई यो औषधिले कसरी फाइदा गर्छ ? 

  • पहिलो कुरा हात्तीपाइले रोगका लक्षणहरू नदेखिए पनि रोगका परजीवीहरू शरीरमा हुन सक्छन् र औषधि अहिले खायो भने ती परजीवीहरू मर्छन् र भविष्यमा रोग देखिदैन ।
  • दोस्रो कुरा औषधी सेवनका कारण तपाइको शरीरमा भएका हात्तीपाइलेका परजीवीहरू अरू स्वस्थ मानिसको शरीरमा सर्दैनन् ।
  • तेस्रो कुरा समुदायमा कोही व्यक्तिमा रोगका परजीवीहरू छन् र उनले औषधि सेवन गरेमा लामखुट्टेले टोकेता पनि तपाइको शरीरमा ति परजीवीहरू ती व्यक्ति बाट सार्न सक्दैनन् ।

कसले यो औषधि सेवन गर्नु हुँदैन ? 

  • दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू
  • गर्भवती र सात दिन सम्मका सुत्केरी
  • छारे रोग को समस्या भएका व्यक्तिहरू
  • पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्तिहरू
  • सिकिस्त बिरामीहरू

सिकिस्त बिरामीहरू भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरू, अस्पताल भर्ना भएका बिरामीहरू र त्यस्ता बिरामीहरू जो जीवन भर चिकित्सकीय उपचार सहायतामा बसेका हुन्छन् जस्तै मिर्गौला रोगको लागि डाइलाइसिस आदि ।

औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरू ? 

यो औषधि खाली पेटमा खानुहुदैन । शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरूमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नु पर्दछ । ती लक्षणहरू केही घण्टा भित्रमा आफैं हराएर जाने हुन्छ । केही गरी ती लक्षणहरू लामो समय सम्म रहि रहेमा नजिकको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नु पर्दछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस