नेपालमा एन्टिबायोटिकको व्यापक गलत प्रयोग, औषधिले काम नगर्ने समस्या बढ्ने


काठमाडौं–नेपाल मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भनेको भन्दा बढी एन्टिबायोटिक प्रयोग भइ रहेको छ । यसले भविष्यमा नेपालमा एन्टिबायोटिकले काम नगर्ने समस्या झन् बल्झिँदै जाने देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् द्वारा गरिएको एन्टिबायोटिकको उपयोग र यसको प्रतिरोध बारे देश व्यापी अध्ययनमा मा यो समस्या देखिएको हो ।

डब्लुएचओ को घोषणा अनुसार एन्टिबायोटिक ले काम नगर्नु (एन्टिमाइक्रोवियल प्रतिरोध) मानव जाति को लागि सबै भन्दा ठुलो १० विश्वव्यापी सार्वजनिक स्वास्थ्य खतरा मध्ये एक हो । एन्टिबायोटिक्स, एन्टिभाइरल, एन्टिफंङ्गल र एन्टिफ्यारासाटिक्स सहित एन्टिमाइक्रोवियलहरु मानव, जनावर, र वोट विरुवा मा संक्रमण रोक्न र उपचार गर्न प्रयोग गरिने औषधि हरू हुन । एन्टिबायोटिकको दुरुपयोग र अति (आवश्यकता भन्दा बढी) प्रयोग ले औषधि प्रतिरोधी रोग जनक हरूको विकासमा सहायक हुन्छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल ले डब्लुएचओले भनेको भन्दा बढी र गलत हिसाबले एन्टिबायोटिक को नराम्रो प्रयोग नेपालमा भइ रहेको वर्तमान अध्ययनले देखाएको बताउँछन् । उनले समय मै यो अवस्था लाई नियन्त्रण नगरिए स्थिति भयावह हुने समेत औँल्याउँछन् ।

विज्ञहरूले एन्टिबायोटिक उपयुक्त प्रयोगको अभाव बारे समय मै नचेते भविष्यमा एन्टिबायोटिक ले काम नगरेर हुने मृत्यु बढ्न सक्ने बताउँछन् । अर्थात् सामान्य सङ्क्रामक रोगमा समेत औषधि ले काम नगरेर मृत्युको जोखिम बढ्छ ।

‘अध्ययनले एन्टिबायोटिक औषधिको समुचित प्रयोग मा व्यापक कडाइ गरिनु पर्ने अवस्था देखाएको छ’, वरिष्ठ जनस्वास्थ्य विद डा.राजेन्द्र बिसि भन्छन–‘नत्र भविष्यमा जटिल दीर्घ रोगी , बुढापाकाहरू मा सामान्य रुघा ले समेत ज्यान जान सक्ने अवस्था आउन सक्छ ।’ चिकित्सकको सिफारिस अनुसार उपयुक्त निर्धारित मात्रामा एन्टिबायोटिकको उपयोग गर्दा प्रतिरोध उत्पन्न हुँदैन ।

स्वास्थ्य अनुसन्धान परिषद् ले मुलुकमा एन्टिबायोटिक को प्रयोग र यसको प्रतिरोधको अवस्थाको मूल्याङ्कन बारे ७ वटै प्रदेश समेटेर गरेको उक्त अध्ययनमा अनुसार ४३.४ प्रतिशत औषधि वितरकले चिकित्सा कर्मीको पुर्जा विना नै एन्टिबायोटिक औषधि दिने गरेको पाइएको छ । पुर्जा विना वितरण गरिने एन्टिबायोटिक अन्तर्गत एजिथ्रोमाइसिन ( २४.५ प्रतिशत), एमोक्सिसिलिन/एमोक्सिक्लेभ(२०.५ प्रतिशत), सिफिक्सिम (१४.१८ प्रतिशत), सिप्राफ्लोक्सासिन (१४.१ प्रतिशत) र मेट्र्रोनिडाजोल (९ प्रतिशत) छ ।

‘अध्ययनले मुलुकमा एन्टिबायोटिकको उपयोग प्रोटोकल अनुसार नभएको , अयोग्य व्यक्तिले एन्टिबायोटिक प्रस्ताव गर्ने , वितरण गर्ने देखियो’, औषधि व्यवस्था विभागको महानिर्देशक नारायण प्रसाद ढकाल ले बताए ।

अध्ययन अनुसार मुलुकमा झण्डै एक चौथाइ (२२ प्रतिशत) बाहिरका बिरामी (आउट पेसेन्ट) हरू एन्टिबायोटिक को पूर्ण मात्रा सेवन गरिरहेका छैनन् । यस्तै करिव १० प्रतिशत र ८ प्रतिशत बाहिरका बिरामीहरू एन्टिबायोटिकलाई रोग लाग्न वाट जोगाउन र छिटो निको हुनको लागि दोब्बर मात्रा एन्टिबायोटिक उपयोग गरिरहेको अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार नेपालमा ३२ प्रतिशत चिकित्सक, स्वास्थ्य कर्मी एन्टिबायोटिक संवेदनशीलता परीक्षण गर्ने प्रयोगशाला को पहुँचमा छन् । यस मध्ये मात्र ४९ प्रतिशतले एन्टिबायोटिक सिफारिस गर्नु भन्दा अघि एन्टिबायोटिक संवेदनशीलता परीक्षण गर्न सिफारिस समेत गर्छन् ।

अझै मुलुकमा ८५ प्रतिशत चिकित्सक, स्वास्थ्य कर्मीहरूले एन्टिबायोटिक लाई बिरामीको लागि प्रस्तावित गर्दा पुर्जामा यसको जेनरिक नाम (सामान्य नाम) नलेखेर ब्रान्ड नेम (व्यापारिक नाम) लेख्ने गरेको अध्ययनमा पाइएको छ ।

स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा.प्रदिप ज्ञवालीको अनुसार स्वास्थ्य अनुसन्धान परिषद् द्वारा गरिएको एन्टिबायोटिक सँग सम्बन्धित यो दोस्रो अध्ययन हो । यस अघि एन्टिबायोटिकको उपयोग बारे उपत्यकामा अध्ययन गरिएको थियो ।

रोकथाम र बचाउ

डब्लुएचओ को अनुसार एन्टिबायोटिक को दुरुपयोग, अत्याधिक प्रयोग साथै कमजोर संक्रमण रोकथाम र नियन्त्रण को प्रयासले एन्टिबायोटिक प्रतिरोध को गति बढाउँछ । एन्टिबायोटिक प्रतिरोधको फैलावटलाई सीमित गर्न समाजको सबै तहले पाइला चाल्न सक्छ । एन्टिबायोटिक प्रतिरोध को फैलावट रोक्न र नियन्त्रण गर्न सामान्य व्यक्तिहरूले समेत सघाउन सक्छ ।

सामान्य व्यक्तिले एन्टिबायोटिक प्रतिरोध रोक्न गर्नु पर्ने कार्य

  • यस अन्तर्गत चिकित्सक वा चिकित्सा कर्मी द्वारा तोकिएको मात्रामा मात्र एन्टिबायोटिक प्रयोग गर्नु पर्छ ।
  • स्वास्थ्य कर्मी ले एन्टिबायोटिक आवश्यक नरहेको बताए कहिले पनि एन्टिबायोटिक को माग गर्नु हुँदैन ।
  • एन्टिबायोटिकको प्रयोग गर्दा सँधै स्वास्थ्य कर्मीहरूको सल्लाह पालन गर्नु पर्छ ।
  • उपयोग गरेर वाकी रहेका एन्टिबायोटिक हरू कहिले पनि साझा वा उपयोग गर्नु हुँदैन ।
  • नियमित रूपमा साबुन पानी हात धुने, खाना स्वस्थ कर तरिकाले पकाउने, बिरामी व्यक्तिहरू सँग नजिकको सम्पर्क वाट जोगिने, सुरक्षित यौन अभ्यास गर्ने र खोपहरू अद्यावधिक गरेर संक्रमणहरु रोक्ने

स्वास्थ्य व्यवसायी हरूले एन्टिबायोटिक प्रतिरोध रोक्न गर्नु पर्ने काम

  • आफ्नो हात उपकरण र वातावरण सफा रहेको सुनिश्चित गरेर संक्रमण लाई रोक्नुपर्छ
  • एन्टिबायोटिक हरू वर्तमान गाइडलाइन अनुसार आवश्यकता परेको बेलामा मात्रै सिफारिस र वितरण गर्नु पर्छ ।
  • एन्टिबायोटिक सही तरिकाले कसरी लिने, एन्टिबायोटिक प्रतिरोध र दुरुपयोग का खतराहरू बारे बिरामीहरू सँग कुरा गर्ने
  • संक्रमण रोक्न को लागि जस्तै खोप लिने, हात धुने, सुरक्षित यौन सम्बन्ध, हाँच्छ्यूँ गर्दा नाक मुख छोप्ने आदि बारे बिरामीहरू सँग कुरा गर्ने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!