गेटा अस्पताल ले फर्कायो १८८ जनाको ज्योति


डोटी/अछाम –नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालले सुदूर पश्चिम का डोटी र अछाम जिल्लामा गरेको तीनवटा आँखा शिविर मार्फत १ हजार १ सय ४१ जना बिरामीको निःशुल्क आँखा परीक्षण सँगै १ सय ८८ जनाको मोती बिन्दुको निःशुल्क शल्यक्रिया समेत गरेको छ । नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय तहहरूको संयुक्त आयोजनामा डोटी जिल्लाका दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरिएको हो ।

जेठ १५ र १६ गते डोटी जिल्लाको सायल गाउँपालिकामा सम्पन्न आँखा शिविरमा ३ सय ५१ जनाको निःशुल्क आँखा परीक्षण गरि मोतीबिन्दु देखिएका ७३ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।

त्यस्तै डोटी जिल्लाकै बोगटान फुटसिल गाउँपालिकामा जेठ २१ र २२ गते सम्पन्न शिविरमा ३ सय ९३ जनाको आँखा परिक्षण गरि ६० जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज बिष्ट ले बताए ।

अछाम जिल्लाको मेल्लेख गाउँपालिकाकामा जेठ १८ र १९ गते सम्पन्न शिविरमा ३ सय ९७ जनाको निःशुल्क आखा जाँच गरि मोती बिन्दु देखिएका ५५ बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो । तीनटै आँखा शिविरमा न्यून दृष्टि देखिएका ४ सय ५२ बिरामीहरूलाई निःशुल्क चस्मा समेत वितरण गरिएको थियो ।

अस्पतालका चीफ मेडिकल डाइरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा सुरेशराज पन्त, डा लिनु रायमाझी लगायत १४ जना प्राविधिकहरूको टोलीले शिविरहरूमा सेवा प्रदान गरेका थिए । पहुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टि विहीन भएर बस्न नपरोस् भन्ने हेतुले संघले देशका विभिन्न क्षेत्रहरूमा निःशुल्क आँखा शिविरहरू सञ्चालन गर्दै आएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!